२८ माघ, झापा । झापा-५ भनेपछि हामी सबैको मनमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दै आएको क्षेत्रको प्रतिविम्ब आउँछ । दमक उनको गृहनगर भइहाल्यो । तर झापा-५ कै स्थानीय मतदाता भने यतिबेला मत स्थिर राख्ने कि बदल्ने भन्ने छलफलमा सामेल हुन थालेका छन् ।
यसअघिका चुनावहरूमा कोही बाहिरबाट उम्मेदवार बन्न आए टुरिस्ट भन्ने चलन थियो, जुन यसपल्ट झापामा सुन्न पाइँदैन । ओलीसँग प्रतिष्पर्धा गर्ने घोषणा गरेर मैदानमा आएका काठमाडौंका निवर्तमान मेयर बालेन्द्र शाह, जसलाई रास्वपाले प्रधानमन्त्री उम्मेदवार तोकेको छ, उनका कारण यहाँको चुनाव रोचक बनिरहेको छ ।
ओली आफ्नो लावालस्करका साथ यो क्षेत्रका जुनजुन स्थानमा पुग्छन् त्यहाँ यसअघि एकोहोरो नारा लाग्ने गरेको थियो, ‘झापाको भक्का, ओलीको जित पक्का ।’ यसपल्ट पनि एमालेको घरदैलो क्रममा यस्ता नारा नसुनिएका होइनन् ।
गौरादह आसपासका टोलहरू गेउरिया, चैतु र दही चोकमा यस्तै नाराहरू सुनिए । भनिहालौं, भक्का एक प्रकारको स्वादिष्ट खाद्य पदार्थ हो । र, यो भक्का राजवंशी समुदायको मौलिक र सांस्कृतिक पहिचान दिलाउने ‘सिग्नेचर डिस’ पनि हो ।
तर यो भक्कासँग यसपल्ट भोक पक्का गर्ने सामर्थ्य छ कि निर्णायक भोटब्लकमा धक्का लगाउने प्रयत्न चलिरहेको छ भन्ने कुर्न अब हामीसँग केवल तीन साता बाँकी छ ।

किनभने– ओलीको नारामा प्रयोग भएको भक्का वर्षौंदेखि बेचेर जिविका चलाउँदै आएका गौरादहस्थित चैतु चोक र टोलका ताजपुरिया (राजवंशी) समुदायका महिलाहरू भने आर्थिक, सामाजिक र शैक्षिक स्तर बढाउन नसकेकोमा पिडा पोखिरहेका छन् ।
पूर्व प्रधानमन्त्री ओली र प्रधानमन्त्रीको उम्मेदवार नै घोषणा गरिएका काठमाडौं महानगरका निवर्तमान मेयरले चुनावी भिडन्त गर्ने राजनैतिक मैदान बनाएको झापा-५ मा अरु उम्मेदवार पनि छँदै छन् । नेकपाका रन्जित तामाङ, कांग्रेसकी मन्धरा चिमरिया, श्रम संस्कृति पार्टीका समीर तामाङ, राप्रपाका लक्ष्मी संग्रौला आदि मैदानमा छन् । ओली बालेन भिडन्तका कारण क्षेत्र राष्ट्रिय र अन्तराष्ट्रिय चर्चाको विषय बन्न गएको छ ।
तर स्थानीय मतदातालाई जे चाहिएको छ, अधिकांश उम्मेदवार ती मुद्दासँग बेखबर देखिन्छन् । जसलाई मुद्दा थाहा छ, उनीहरू पनि समाधान सुझाउन सकिरहेका छैनन् ।
गत सोमबार अनलाइनखबरको टिम त्यहाँ पुग्दा स्थानीयले पिडाको फेहरिस्त नै सुनाए ।
गौरादह– १ सितापुरीको चैतु चोकनेर सडक किनारमा चुला राखेर भाडोमा उम्लिएको तातोपानीको वाफमा भक्का पकाउँदै गरेकी राजवंशी समुदायकी महिला (उनले नाम भन्न मानिनन्) लाई हामीले चुनावी माहौलका बारेमा केही जिज्ञासा राखेका थियौं । जवाफमा भनिन्, ‘मलाई चुनाव लागेको छैन । विहान पाँच बजेदेखि भक्का बनाएर बेच्छु । चटपटे बेच्छु । मेरो र परिवारको जिविका चलाउनु छ । जसले जिते पनि के गर्छ र हाम्रो लागि ? यसपाली फेरि नमस्ते भन्दै आउने त हुन् ।’

झापा ५ बाट उठेका कुनै पनि दलका उम्मेदवार मध्ये एकले जितेर सांसद, मन्त्री, प्रधानमन्त्री भएपनि स्थानीय भुइँमान्छेका लागि भने विकास र समृद्धि महसुस हुने पर्याप्त काम नहुँदा असन्तुष्ट बनेका छन् ।
सँगै उभिएकी जलनसरी ताजपुरियाले थपिन्, ‘नेताहरू आको छ कि गरिवलाई केही गर्दैनन् । को-को उठेको छ थाहा पनि छैन ।’ ताजपुरिया राजवंशी महिलाको प्रतिनिधित्व गरेर जलनसरीले यसो भनिरहँदा झापाको गौरादहमा चुनावी सरगर्मी, प्रचार प्रसार छैन कि भन्ने भान पर्न सक्छ । त्यस्तो भने होइन ।
वर्षौंदेखि दुखिया जिन्दगी बिताउँदै आएका स्थानीय भूमिपुत्र राजवंशी समुदायको हितमा राज्यले अनदेखा गर्दाको नतिजा स्वरुप जलनसरीले पनि दल, उम्मेदवार र राजनीतिक प्रणाली र सरकारमाथि तिक्तता व्यक्त गरेकी हुन् ।
झापा ५ मा यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह, एमाले उम्मेदवार ओली, कांग्रेसका उम्मेदवार मन्दरा चिमोरिया, नेकपा उम्मेदवार रन्जीत तामाङदेखि श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङको व्यापक प्रचार प्रसार भइरहेको छ । तर रातदिन ज्याला मजदुरी गरेर आधापेट खाँदै दुखिया जिवन बाँच्न बाध्य राजवंशी समुदायका लागि यो चुनाव औपचारिकतामात्र बनेको छ ।
आर्थिक, सामाजिक, शैक्षिक परिवर्तनमा आस गर्दागर्दै पुस्तौं पुस्ता बिताएका ७० वर्षीया फुङ्गी ताजपुरियालाई नारा जुलसकाबीच विभिन्न दलका नेता र उम्मेदवारहरूको लावालस्कर देख्दा चुनाव आएको भन्ने थाहा छ तर उनी आफ्नै समस्यामा पिरोलिएको सुनाइन् । त्यो पिर राज्यले दिएको पनि उनले बुझेकी छन् । उनले भनिन्, ‘भोट माग्नेलाई जग्गाको धनीपुर्जा दे भन्छु ।’ उनी सुकुम्बासी हुन् । उनी बसेको जग्गाको धनीपुर्जा छैन ।
चैतुकै ३५ वर्षीया कवितादेवी ताजपुरियालाई हामीले ‘राजनीतिक दलहरूले चुनाव प्रचार प्रसार गर्दै तपाईं मतदातालाई के भन्दै भोट मागिरहेका छन् ?’ भनेर सोधेका थियौं ।

तर उनलाई भोट माग्ने दलका चुनाव चिन्हहरू भने थाहा भएको तर तिनका उम्मेदवारको नाम के के हो थाहा नभएपछि छेउका अरु साथीलाई सोधिन् । अन्तमा उनले यति भनिन्, ‘चुनावमा उम्मेदवार नेताहरूले हामीलाई नमस्कार चाही गर्छन् (भोट माग्छन्) तर जितेपछि केही गर्दैनन् । गाउँमा हामीलाई दु:ख छ ।’
उनको यो भनाइले ०४८ सालदेखि ०७९ सम्म (०६४ बाहेक) झापा ५ (दमक, गौरादह, कमल, गौरीगन्ज, खजुरगाछी)मा लगातार जित हात पार्दै मुलुककै नेतृत्व गरिरहेका केपी शर्मा ओलीले भुईंमान्छेको तहमा विकास र समृद्धि पुर्याउन चुकेको छर्लङ्ग हुन्छ ।
झापा ५ का सर्वसाधारण मतदाताले दुई लेनको हुलाकी मार्ग पछिल्लो समयमा कालोपत्रे भएकोमा निकै गर्व गर्छन् । खुशी पनि छन् । तर पूर्वदेखि पश्चिमसम्म जोड्ने यो हुलाकी राजमार्गले झापाकै स्थानीय समुदायका आर्थिक र सामाजिक पक्षलाई लाभान्वित बनाएर समृद्धीको मार्ग डोहोर्याउन भने नसकेको देखियो । झापाको सुदूर दक्षिणी भेगमा विस्तार भएको हुलाकी मार्गमा न कुनै व्यावसायिक लरी ट्रक गुड्छन् न यात्रुवाहक बस ।

हुलाकी मार्ग सदुपयोग हुन नसक्नुमा कन्काइ माइ खोलाको पुल १५ वर्षदेखि अधुरो हुनु मुख्य कारण हो । सडक विस्तार गर्ने तर बीच बीचका खोला नदीमा पुल निर्माण कार्य सम्पन्न गर्नमा सरकारले चासो नदिँदा झापा-५ का सर्वसाधारण बासिन्दाले लाभ लिन सकेका छैनन् ।
हुलाकी मार्ग पूर्णरुपमा सदुपयोग भएको अवस्थामा लाभ लिने समुदाय भनेको झापा दक्षिण भेगका ग्रामिण क्षेत्रका राजवंशी र सन्थाल नै हुन् ।
राजनीतिक दल र नेता अनि राज्यको प्रणाली हुनेखाने र सचेत वर्गकालागि मात्र भयो भने दुर्घटना हुन्छ । त्यही दुर्घटना आइपर्न सक्ने संकेत झापा-५ का भुईंमतदाताहरूले पनि गरिरहेका थिए । झापा विद्रोहका कम्युनिस्ट नेताहरू तेह्रथुमबाट झरेका केपी शर्मा ओली, राधाकृष्ण मैनाली, चन्द्रप्रकाश मैनाली (सिपी), वीपी कोइरालाका समाजवाद र प्रजातन्त्रका व्याख्याता दीर्घराज प्रसाई, पान्थरबाट झरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मादेखि निवर्तमान सभामुख देवराज घिमिरेले ‘होल्ड’ गरेको झापा मुलुककै चर्चित जिल्ला हो ।

‘सेलिब्रेटी’ बालेनले झापा-५ लाई चुनावी क्षेत्र बनाएपछि झन् चर्चाको विषय हुने नै भयो । पछिल्लो चर्चा भने व्यक्तिवादी भएको छ । जसले गर्दा नेपाली भाषा राम्ररी बोल्न नसक्ने स्थानीय रैथाने राजवंशी र सन्थाल समुदायको समग्र विकास र समृद्धिका मुद्धा मात्र ओझेल परेका छैनन्, त्यहाँका शिक्षा, स्वास्थ्यमा देखिएका वेथितिका मुद्दाहरू समेत बहस हुन सकिरहेको छैन ।
भारतसँग सिमाना जोडिएको साविक कोरोबारी गाविस (हाल गौरीगन्ज गाउँपालिका) मा आदिवासी सन्थालहरूको बाक्लो बस्ती छ ।
अझै पनि दलका नेता कार्यकर्ता आफ्नो पक्षले नै शानदार जित्ने ठोकुवा गर्छन् । तर, उनीहरूले भनेको ‘शानदार मत’ दिने मतदाताको घर-घर पुगेर चुनावी चासो राख्दा प्रौढ उमेर कटिसकेर सामाजिक सुरक्षा भत्ता खाने बेलामा नागरिकता र राष्ट्रिय परिचय पत्र बनाउन नसकेको, नपाएको, स्थानीय जनप्रतिनिधिले सहयोग नगरेको, आर्थिक आत्मनिर्भर हुन नसकेको, छोरा नातिलाई पढाउन नसकेको, बाजेका पालादेखि सुकुम्बासी नै बसेको, रोजगारी नभएको, रोजगारी गर्न भारतको केरल, कर्नाटक तिर जानु परेको, पालिकाले अनुदान दिने टिनको पाता नदिएको पीडा सुनाए ।
आर्थिक, राजनीतिक पक्षमा सुधार गर्न नसकेको त सुनाए नै उनीहरूका जीवन दर्शनसँग जोडिएका धार्मिक, सांस्कृतिक पहिचानसँग जोडिएका भाषा, लिपि, कला संस्कृति पनि संकटमा परेको बताए । कोरोबारी परेवाखोपीका चुड्की हास्दा (सन्थाल) ले भनिन्, ‘मेरा बाजेका बाजे पनि यही माटोमा पुरिए । तर हामी अहिले पनि सुकुम्बासी भएर बसेका छौं । मेरो बुढा ढेना सोरेङ (सन्थाल) र मेरो नागरिकता नभएकाले सरकारले सामाजिक भत्ता दिँदैन ।’
उनका छिमेकी जोलु टुडुले भने सामाजिक सुरक्षा भत्ता पाइरहेको बताए । टुडुले भने, ‘जग्गा जमिन नभएकाले अर्काको जमिनमा अधियाँ खेती गर्छौं । दिनिमा धान काट्छौं । (धान काटिदिए वापत धान नै पाउने निश्चित ज्याला) अरु बेला घरको टाटी बेरा बनाउने काम गरेर बुढाबुढीले घर चलाउँछौं ।’

मजदुरीकालागि दक्षिण भारतसम्म पुग्ने गरेका नारान सत्तार (सन्थाल)ले चुनावको माहौल गाउँमा विस्तारै बढेपनि पहिलेका नेताहरूले गाउँको विकासकालागि खासै परिवर्तन ल्याउन नसकेको गुनासो गरे ।
उनले भने, ‘घरमा अपाङ्ग भाई छ । तर नागरिकता बनाउन सकिएको छैन । नागरिकता नै नभएपछि भत्ता पनि नपाइने रहेछ ।’
सन्थाल र राजवंशी समुदायका लागि पुस्तैनी थातथलो नै भएपनि अधिकांसको आफ्नो जग्गा जमिन छैन नै नागरिकता समेत अधिकांश महिलाले बनाउन नपाएका गुनासो गरे । सरकारले अनिवार्य जस्तै गरेको राष्ट्रिय परिचय पत्रको त नामै सुनेका रहेनछन् ।
केही टाठाबाठा सन्थाल र राजवंशी समुदायका पुरुषले भने नागरिकता बनाएका छन् । नागरिकता र राष्ट्रिय परिचय पत्र नै नभएपछि राज्यबाट पाउने सेवा सुविधा लिनबाट उनीहरू बन्चित भएको बारेमा राज्य बेखबर जस्तै देखियो ।
यही जिल्ला वा क्षेत्रबाट जितेर जाने सांसद, मन्त्री, प्रधानमन्त्रीदेखि स्थानीय र प्रदेश सरकारमाथि सवाल उठेको छ । त्यसो भए यसपालीको चुनावमा पनि उनीहरू भोट बैंकमात्र बनिँदै छन् ?

झापाको सुदूर दक्षिणका गाउँ पुग्नु भन्दा एक दिन अघि हाम्रो टोली विकासले छोएका दमकका विभिन्न कुना काप्चादेखि हाइवे आसपासमा पनि पुगेर सर्वसाधारण मतदातासँग अनौपचारिक भलाकुसारी गरेको थियो ।
पूर्वपश्चिम राजमार्गको आकासे पुल नजिकै पाँच जना वृद्धहरू चिया पिउँदै गफिँदै गरेको भेटिए । उनीहरूको ‘चुनावी गफ’ को केन्द्रमा थिए एमालेका उम्मेदवार केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह । अरु उम्मेदवारहरु उनीहरुका लागि तपसीलका विषय मात्र बनेको थियो ।
‘तपाईंहरूको गफ सुन्न आएको । हामी चाहिँ सञ्चारकर्मी’ भनेपछि फेरि गफको सिलसिलालाई निरन्तरता दिए । उनीहरूले आफ्नो नाम खुलाउन र तस्वीर लिन चाहेनन् । कारण थियो, दलकै कुनै न कुनै आधिकारिक पदमा कायमै रहनु ।
उनीहरूले सुनाए, ‘हामी योपाली दल चाहिँ बदल्दैनौं तर भोट बदल्छौं ।’ अर्थात् उनीहरूको भनाइको सार थियो, आफूहरू जुन दलको हो त्यही दलको गुणगान गाउँदै बस्ने तर अर्को दलको उम्मेदवार हराउन आफ्नै दलको उम्मेदवारलाई भोट नदिने बरु शत्रु दलको उम्मेदवारलाई भोट दिने । समानुपातिकमा भने आफ्नै दललाई दिने ।
उनीहरूले केपी शर्मा ओलीको प्रशंसा गर्न पनि भ्याए । ओलीले झापा ५ मा अत्यन्तै राम्रो काम गरेकोदेखि राष्ट्रवादी र मुलुकलाई चाहिने नेता पनि भने । तर ओली आफू देशको प्रधानमन्त्री हुँदाहुँदै भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएको घटनाको जिम्मेवारी र दायित्वबाट पन्छिएकाले बालेन र हर्क साम्पाङहरू उदाएको तर्क पेश गरे । बालेनलाई नयाँ जोश जांगर भएको युवा र काठमाडौं महानगरलाई सुधारको, त्यही मान्छे झापा-५ मा उम्मेदवार भएर आएकाले अब उनले यहाँ के गर्छन् भन्ने जिज्ञासा कायमै रहेको बताए ।
चुनावी माहौल बुझ्न दमक बजारकै कोर एरियामा घुम्दै गर्दा बेग्ला बेग्लै दलमा आस्था राख्ने मतदाताहरू बीच अचानक भेट भएर नोकझोक भइरहेको देखियो ।

उनीहरूबीच एकले अर्कालाई ‘मासुभाते’ भनिरहेका थिए । महिला पात्रले जवाफमा भनिन्, ‘तपाईं पनि पहिला तिनै मासुभाते दलकै कार्यकर्ता हो । अहिले अलिक मिठो खान पाइन्छ कि भनेर मत बदल्ने अवसरवादी हुनुभएको हो कि होइन ? मैले त आजसम्म मैले आस्था राखेको दलको मासुभात खाएको छैन ।’
हाइवेदेखि करिब दुई सय मिटर दक्षिणमा पर्छ दमक-९ स्थित शान्तिमार्ग । त्यहीँ छ केपी शर्मा ओलीको तीन तले घर । जेन्जी व्रिदोहमा जलाइएको केपी ओलीको जलेको घर नजिकै स्थानीयहरू साँझको गफ गर्दै बसेको बेला हामी पनि पुग्यौं । परिचय आदान-प्रदान भएपछि उनीहरू केही खुले । अनुषा गौतमले भनिन्, ‘हेरौं अब हल्लाले कतिको काम गर्छ । २१ गते पछि देखिन्छ ।’
हाम्रो जिज्ञासामा उनले निकै सन्तुलित हुँदै थपिन्, ‘पहिले ओली बा आउँदा पनि स्वागत सम्मानकालागि फुलको गच्छा लिएरै हेर्न जान्थ्यौं । अहिले बालेन आएका छन् । उनी हाम्रालागि नयाँ भएकाले जिज्ञासा र उत्सुकताले कस्तो रहेछ भनेर हेर्नलाई पनि फुलको गुच्छा लिएर मान्छेहरू जाने गरेका छन् ।’
उनले यति चाही भन्ने आँट गरिन्, बालेनले यहाँबाट जितेर पनि केही गर्ने होइन र ओली बाले जितेर पनि अब फेरि केही गर्ने होइन । यहाँ केही हुनेवाला छैन ।
सिंगै देशको ध्यान झापा-५ तिर भइरहेका बेला स्थानीय मतदाता भने उही पूरानै समस्याहरू समाधान नभइरहेको सुनाउँछन् । नयाँ र पुराना उम्मेदवारको भिडन्त चलिरहँदा आफ्ना समस्या चुनावबाट समाधान हुने हुन् वा होइनन् भन्नेमा उनीहरूबीच नै अलमल देखिन्छ ।
झापा–५ मा मात्र करिब १२ हजार सुकुम्बासी परिवारको बसोबास रहेको बताइएको छ । दमक नगरपालिकाभित्र मात्र ६ हजार ३ सय ३२ घर परिवार सुकुम्बासी जीवनबाँची रहेका छन् । जसमा ५ सय ६० दलित भूमिहीन र २ हजार ४ सय ७७ भूमिहीन सुकुम्बासी रहेका छन् । सबैभन्दा बढी सुकुम्बासी झापाकै रैथाने आदिवासी राजवंशी र सन्थाल समुदायबाट छन् । झापा-५ मा मात्र राजवंशी समुदायको जनसंख्या २० हजार देखि २५ हजारसम्म रहेको अनुमान गरिएको छ भने सन्थालहरूको करिब १० हजार संख्या रहेको मानिन्छ ।
झापा-५ को दक्षिणी भेगमा पर्ने गौरादह, ग्वालडुव्वा, गौरिगन्ज, कोरोबारी, खजुरगाछी क्षेत्रमा राजवंशी र सन्थाहरूको बाक्लो बस्ती छ । राजवंशी र सन्थालहरूले आफूहरूलाई झापाको आदिवासी रैथाने मान्दै आएका छन् । जहाँ आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक विकासको लहर पुग्न बाँकी छ ।
प्रतिक्रिया 4