+
+
Shares

सुरक्षित इन्टरनेट दिवस २०८२ : एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १७:४६

२८ माघ, काठमाडौं । सुरक्षित इन्टरनेट दिवस २०८२ अवसरमा मंगलबार एनसेल फाउन्डेसन र नासा सेक्युरिटिजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर’ (एसआईटी) कार्यक्रम आरम्भ गरेको घोषणा गरेका छन् ।

यो सामाजिक अभियानले देशभरिका विद्यालयमा पुगेर साइबर सुरक्षा, डेटा गोपनीयता तथा डिजिटल सुरक्षाका विविध पक्षबारे विद्यार्थीलाई ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ जसबाट ५० हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदाय सदस्यहरू लाभान्वित हुने अपेक्षा छ ।

हाल नमुना परियोजनाका रूपमा अघि सारिएको यो कार्यक्रम अन्तर्गत बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयमा कक्षा ३ देखि १२ सम्मका विद्यार्थी लक्षित गरी साइबर सचेतना सत्र सञ्चालन गरिने छ ।

कार्यक्रम अन्तर्गत इन्टरनेट सुरक्षा सम्बन्धी हाते पुस्तक पनि तयार पारिएको छ । ती पुस्तक कार्यक्रम सत्रपछि सम्बन्धित विद्यालयका सहभागी छात्रछात्रालाई वितरण गरिने छ । पहिलो चरणमा तीन प्रदेशमा सफल कार्यान्वयनपछि यो अभियान आगामी आर्थिक वर्षमा अन्य प्रदेशमा पनि सञ्चालन गरिने योजना छ ।

यो वर्षको सुरक्षित इन्टरनेट दिवसको नारा ‘स्मार्ट टेक, सेफ चोइसेस : एक्सप्लोरिङ द सेफ एन्ड रेस्पोन्सिबल युज अफ एआई’ छ ।

नेपालमा एनसेल र नासा सेक्युरिटिजले संयुक्त रूपमा सुरु गरेको कार्यक्रमको औपचारिक घोषणा पोखरास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा मंगलबार आयोजित एसआईटी सत्रका क्रममा गरिएको थियो ।

कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले डिजिटल सुरक्षा तथा आजको डिजिटल युगमा कृत्रिम बौद्धिकताको जिम्मेवार प्रयोगबारे आफ्ना बुझाइ विद्यार्थीसमक्ष साझा गरेका थिए ।

एसआईटी कार्यक्रम नेपालमा सुरक्षित अनि समावेशी डिजिटल इकोसिस्टम प्रवर्द्धन गर्ने एनसेल फाउन्डेसनको प्रतिबद्धतासँग जोडिएको छ ।

‘म एक बाबु पनि हुँ, त्यसैले अभिभावकका रूपमा व्यक्तिगत डेटाको सुरक्षा मेरा लागि अत्यन्त महत्त्वपूर्ण विषय हो, आजको समयमा इन्टरनेटले हाम्रो दैनिक जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ, प्रविधि हाम्रो जीवनको अभिन्न हिस्सा बन्दै जाँदा यससँग सम्बन्धित जोखिम बुझ्नु र त्यसका लागि तयार रहनु झन् आवश्यक भएको छ,’ सीईओ फोलेले भने, ‘एसआईटी कार्यक्रम मार्फत हामीले विद्यार्थी तथा युवालाई डिजिटल संसारमा सुरक्षित, जिम्मेवार र आत्मविश्वास साथ रहन आवश्यक ज्ञान र सिप प्रदान गर्ने लक्ष्य राखेका छौं, यस कार्यक्रमले नयाँ पुस्तालाई आफू सुरक्षित रहँदै डिजिटल अवसरको अधिकतम उपयोग गर्न आवश्यक मार्गदर्शन र टुल उपलब्ध गराउने छ भन्नेमा म आशावादी छु ।’

यो सहकार्यले दुवै संस्थालाई जिम्मेवार डिजिटल प्रवर्द्धकका रूपमा स्थापित गर्दै र उदीयमान जोखिमलाई सक्रिय रूपमा सम्बोधन गर्दै डिजिटल साक्षरता, दृढता तथा व्यापक डिजिटल इकोसिस्टममा विश्वास निर्माणमा योगदान पुर्‍याउने बताइएको छ ।

‘डिजिटल प्ल्याटफर्महरूले युवाले सिक्ने, अन्तर्क्रिया गर्ने वा प्रतिक्रिया जनाउने र निर्णय लिने तरिकालाई बढ्दो रूपमा प्रभावित गर्दै गएकाले उनीहरूको अनलाइन सुरक्षा सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी बनेको छ, आजको विश्वमा डिजिटल साक्षरता र साइबर जागरण वित्तीय साक्षरता सरह नै महत्त्वपूर्ण छन् भन्ने विश्वास गर्दछौं,’ नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौड्यालले भने, ‘एनसेलले फाउन्डेसनसँगको सहकार्यमा सञ्चालित एसआईटी अभियान मार्फत हामी विद्यार्थीलाई प्रविधिको जिम्मेवार प्रयोग गर्ने, आफ्नो डिजिटल पदचिह्न संरक्षण गर्ने र डिजिटल इकोसिस्टममा सुरक्षित रूपमा नेभिगेट गर्न व्यावहारिक ज्ञान प्रदान गर्ने लक्ष्य राखेका छौं, यो कार्यक्रमले नेपालभरि जिम्मेवार डिजिटल सशक्तीकरण र सामुदायिक विकासप्रति हाम्रो दीर्घकालीन प्रतिबद्धता प्रतिविम्बित गर्दछ ।’

हालसम्म एसआईटी सत्रहरू नौ वटा विद्यालयमा सञ्चालन गरिसकिएको छ जसमा कास्कीमा रहेका राष्ट्रिय माध्यमिक विद्यालय, अमरसिंह माध्यमिक विद्यालय, लिटिल स्टेप सेकेन्डरी स्कुल, भास्कर मेमोरियल स्कुल, सेन्टमेरिज स्कुल र रेन्बो एकेडेमिक होम्स सेकेन्डरी स्कुल छन् ।

साथै, ललितपुरमा सेन्टमेरिज स्कुल, बानी विलास हाइस्कुल र भक्तपुरमा आदर्श हाइस्कुलमा एसआईटी सत्र सञ्चालन भइसकेका छन् । कार्यक्रम कार्यान्वयन साझेदारका रूपमा एस्टेरिस्क टेक्नोलोजीले सहकार्य गरेको छ । यी सत्रबाट ७ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?