१ फागुन, काठमाडौ । पोखराको चर्चित युवा भजन समूह सहित महाशिवरात्रि भजन उत्सव चन्द्रागिरि भालेश्वर महादेव मन्दिरमा आयोजना हुने भएको छ ।
आइतबार महाशिवरात्रिका अवसरमा भालेश्वर महादेव मन्दिर प्राङ्गण चन्द्रागिरिमा दिनभरि महाशिवरात्रि विशेष भजन उत्सव आयोजना हुनेछ ।
यस उत्सवमा भजन संस्कृतिलाई नयाँ उचाइ दिइरहेका पोखराको युवा भजन समूहको समेत दिउँसो २ देखि ५ बजेसम्म विशेष भजन प्रस्तुति हुनेछ । उत्तम बराल र जुपिटर पौडेल सहित भजन समूहले प्रस्तुत गर्ने भजनमा सहभागी हुँदै भजन गर्ने तथा श्रवण गर्दै सहभागीले आध्यात्मिक अनुभव लिन सक्ने छन् । साँझ शिव धुनिसँगै महाआरती ग्रहण गर्ने अवसर पनि प्राप्त हुनेछ ।
महाआरती ग्रहण गर्न आउने भक्तजनका लागि चन्द्रागिरि केबुलकारले अपराह्न साढे ४ बजेपछि ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । महाशिवरात्रि एवं महाआरतीमा सहभागी हुने भक्तजनको सुविधा ध्यानमा राख्दै केबुलकार पनि राति ८ बजेसम्म सञ्चालनमा रहने छ ।
चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवको महिमा र धार्मिक–सांस्कृतिक पहिचान अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको यस उत्सवमा श्रद्धालु भक्तजन र भजन संगीतप्रेमी सम्पूर्ण महानुभावले महाशिवरात्रिको अलौकिक आनन्द लिन सक्नेछन् ।
भजन संगीत र आध्यात्मिक ऊर्जासँग भालेश्वर महादेवको दर्शन गर्दै यस वर्षको महाशिवरात्रि विशेष बनाउन चन्द्रागिरि हिल्सले आग्रह पनि गरेको छ ।
प्रतिक्रिया 4