+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सुर्खेत-१ का उम्मेदवारहरूको साझा प्रतिबद्धता : विकास र समृद्धि

सुर्खेत-१ मा यसपटक नयाँ पुराना दलका नयाँ उम्मेदवार धेरै छन् । उनीहरुका साझा एजेन्डा विकास र समृद्धि छ । मतदाताको घरदैलोमा पुगेका उम्मेदवारले यिनै एजेन्डाका साथ मत मागिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते १३:४५

३ फागुन, काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्रमा १ बाट १३ जना उम्मेदवार छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरू निर्वाचन प्रचारप्रसारमा छन् । मतदातामाझ उनीहरू विकास र समृद्धिको सपना देखाएर मत मागिरहेका छन् ।

नेकपा एमालेबाट ध्रुवकुमार शाही उम्मेदवार छन् । उनी नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कालाई सुर्खेतमा पहिलोपटक हराउने नेता हुन् । २०४८ यता सुर्खेत–१ बाट निरन्तर चुनाव जित्दै आएका खड्काको अविराम संसदीय यात्रालाई २०७४ सालमा शाहीले विरामी लगाएका थिए ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार शाहीले ३६ हजार ७५९ र कांग्रेसका खड्काले ३३ हजार ३७७ मत पाएका थिए । जित-हारको अन्तर ३ हजार ३८२ भोट रह्यो ।

एमालेले सुर्खेत-१ मा २०७० सालको चुनावमा पनि खड्काविरुद्ध शाहीलाई नै उतारेको थियो । तर, खड्काले ४२ हजार ६०७ मत ल्याउँदा शाही ३० हजार ९८८ मतमै खुम्चिएर निकटतम् प्रतिद्वन्द्वी बने ।

विशेष महाधिवेशनपछिको परिस्थितिमा २१ फागुनमा हुने चुनावमा पूर्णबहादुर खड्का चुनावी मैदानमा छैनन् । यसपटक शाहीसँग खड्काका भाइ विष्णुबहादुरले प्रतिस्पर्धा गर्नेछन् ।

ध्रुवकुमार सुर्खेत जुन गतिमा विकास हुनुपर्ने थियो त्यो हुन नसकेको बुझाइमा छन् । आगामी दिनमा विकास र समृद्धिको सपना पुरा गर्न आफूले पहल गर्ने उनको प्रतिबद्धता छ ।

कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का पनि कांग्रेसले विगतमा अगाडि बढाएका योजना अगाडि बढाउने र नयाँ सम्भावना खोज्ने भनेर मत मागिरहेका छन् ।

सुर्खेत-१ मा नेपाली कम्युनिस्ट पार्टीबाट जीतबहादुर राना उम्मेदवार छन् । तत्कालीन नेकपा माओवादीले २०५२ देखि १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धमा सरिक भएर अगाडि बढेका उनी त्यसबेलाको परिवर्तनको चाहना अनुसार नागरिकको जीवनस्तर सुर्धान आवश्यक रहेको बताउँछन् ।

पहिलोपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएका उनी भन्छन्, ‘कांग्रेस र एमालेका उम्मेदवारलाई पालैपालो पछिल्ला दुई चुनावमा भोट मागेर हिडिँयो । योपटक आफैं उम्मेदवार छु ।’

बहुदल यताका सात वटा चुनाव नियाल्दा यो क्षेत्रबाट पाँचपटक कांग्रेस र दुई पटक एमालेले चुनाव जितेको छ । जीतबहादुरले जितेको खण्डमा उनको पार्टीले जित निकालेको पहिलो चुनाव हुनेछ ।

२०६४ को संविधानसभा निर्वाचनमा २०६४ मा एमालेकी कमला शर्मा निर्वाचित भएकी थिइन् । त्यसपछिका  २०७० को चुनावमा कांग्रेसका पूर्णबहादुरले नै चुनाव जिते । २०७४ मा जीतबहादुरको पार्टीको समेत समर्थनमा एमालेका ध्रुवशाहीले बाजी मारे । २०७९ मा जीतबहादुरको पार्टीले कांग्रेसका पूर्णबहादुरलाई नै समर्थन गर्‍यो र चुनाव पनि जिते ।

यसपटक दलहरू एक्ला एक्लै चुनावी मैदानमा छन् । यसकारण पनि जीतबहादुरको जीत वा हार उनी संलग्न पार्टीको पनि परीक्षा हो ।

यो परीक्षामा उनले पनि जनताको जीवनस्तर उकास्ने विषयलाई उठाएका छन् ।

जीतबहादुर प्रतिनिधिसभा सदस्य नै किन हुन चाहन्छन् ? जवाफमा उनी नेपालमा अझै पनि विभेदको संस्कार कायमै रहेको, जति विकासमा मुलुक अगाडि बढ्नुपर्ने हो त्यति बढ्न नसकेको र जति विकास भएको छ त्यसमा समानता हुन नसकेको बताउँछन् ।

‘सुर्खेत प्रदेशको राजधानी हो । अहिले पनि सुर्खेतको कतिपय ठाउँमा पुग्न अर्को जिल्ला भएर जानुपर्छ’,उनी भन्छन्, ‘मेरो नारा छ, ‘हाम्रो क्षेत्र हामी बनाउँछौं । हाम्रो देश हामी बनाऔंछौं ।’

विभेद्को अन्त्य गर्ने उनको ध्यय हो । ‘नेपालको विकासको जुन मोडेल छ त्यसमा ब्यापक सुधार आवश्यक छ’, उनी भन्छन्, ‘उद्यमशीलतामा ध्यान दिनुपर्छ । ९० प्रतिशत शिक्षा जागिर नपाउने खालको छ । किसानको पक्षमा कानुन छैन । खेतीपातीमा पूर्वाधारमा काम गर्नुछ । उत्पादनमै राज्यको नीति सहयोगी हुनुपर्ने छ । बजारको सुनिश्चितताका लागि ठोस नीति नै आवश्यक छ ।’ ‘जसले जे गर्दा पनि हुने प्रवृति अन्त्य गर्ने र समग्रतामा आर्थिक विकासको मोडेल भूगोल अनुसार तय गर्ने’, उनको उद्देश्य छ ।

यो क्षेत्रबााट रास्वपाले ५४ वर्षीय टेकबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । टेकबहादुर २०४८ सालदेखि राजनीतिमा संलग्न भएका नेता हुन् ।

टेकबहादुरले कांग्रेसबाट राजनीतिक जीवन सुरु गरेका हुन् । विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा जोडिएर २०४८ को चुनावी प्रचारमा हिँडे  त्यसबेला सुर्खेतमा कांग्रेसबाट उम्मेदवार थिए, पूर्णबहादुर खड्का । पूर्णबहादुरले चुनाव जिते । त्यसपछाडिका आम निर्वाचन २०५१, २०५६, २०७०, २०७९ मा पनि पूर्णबहादुर नै उम्मेददवार भए र चुनाज जिते । पूर्णबहादुर सबै चुनावी प्रचारमा खटिएका नेता हुन्, टेकबहादुर ।

यसपटकको चुनावमा टेकबहादुर आफैं उम्मेदवार छन् । २६ मंसिर २०८२ मा कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका थिए । उनैलाई रास्वपाले उम्मेदवार बनाएको हो ।

‘पार्टीमा लागेपछि कुनै न कुनै बेला अवसर पाइएला भन्ने जो कोही कार्यकर्तालाई हुन्छ । ममा नहुने कुरै भएन’, पार्टी छाड्नुको कारणबारे उनी भन्छन्, ‘तर, सोचे जस्तो हुँदो रहेनछ ।’

कांग्रेसमै बसिरहेको भए आफू उम्मेदवार हुने थिइन भन्नेमा बुझाइमा उनी छन् । उनअनुसार कांग्रेसको नेतृत्व नबदलिएको भए फेरि पनि सुर्खेत १ मा कांग्रेसबाट पूर्णबहादुर नै उम्मेदवार हुने थिए । केन्द्रीय सभापतिमा गगन थापा आएपछि पूर्णबहादुरका भाइ विष्णुबहादुर उम्मेदवार भएका छन् ।

‘हिजो कांग्रेसले जहाँनिया राणा शासनको विरुद्धमा आन्दोलन गर्‍यो । राजाको छोरा राजा हुने व्यवस्था भएन भनेर राजतन्त्र फालियो । तर, नेताहरूमा भुरे टाउके राजा हुने रहर बाँकी  छ । सकुन्जेल दाजु, नभएपछि भाइ, भाइपछि पनि परिवारकै अर्को होला । जनताले खोजेको यस्तै व्यवस्था हो त ?’ कांग्रेसप्रति टेकबहादुरको आक्रोश छ ।

‘म राजनीति समाज सेवा हो भनेर लागिरहें । तर, पार्टीका ठूला नेताहरूको ध्यान कता कता हुने रहेछ’, उनी भन्छन्, ‘उहाँहरु बैइमनी लुकाउन लागिरहने होइन आफैं अगाडि बढेर भ्रष्टाचारविरुद्ध आवाज उठाउने र किसानमो मुद्दा स्थापित गर्ने अभियानमा छु । यसकै लागि नयाँ पार्टीमा पुगेको थिएँ । पार्टीले सांसद बन भनेको छ, जनताले पत्याउने आधार पनि छन् ।’

चुनाव जितेपछि स्थनीय स्तरमा किसानले भोगिरहेको समस्यालाई राष्ट्रिय स्तरमा उठाउने र त्यसअनुकुलको नीति बनाउने उनको लक्ष्य छ ।

‘किसानका कुरा धेरै छन् । किसानले सर्वसुलभ सेवा सुविधा लिन पाउनुपर्‍यो । सिंचाइ सुविधा र मल बीउ समयमा उपलब्ध हुनुपर्‍यो’, ‘उनी थप्छन्, ‘फलफूलको पकेट क्षेत्र बनाउन योजना अघि सारेको छु । धेरै जग्गा जमिन खाली छन् । चिया बगान बनाउन सकिन्छ । उत्पादित उपजको बजार सुनिश्चित गनुपर्छ । यसो हुँदा वेरोजगारी आफैँ कम हुन्छ । देश बन्ने तिर अगाडि बढिहाल्छ ।’

सुर्खेत १ मा राप्रपाबाट रवि हमाल ठकुरी ‘किरण’ उम्मेदवार छन् ।

२८ वर्षीया रवि किरण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य समेत हुन् । व्यथिति, कुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका युवा हुन् ।

हमाल सानै देखि राजनीति गतिविधिमा संलग्न व्यक्ति हुन् । कक्षा ८ देखि १२ सम्म सुर्खेतको वीरेन्द्रनगरमै अध्ययन गरे । प्लस टु विज्ञान अध्ययनपछि काठमाडौं आए । चिकित्सा शिक्षा सुधारको मागसहित डा. गोविन्द केसीको आन्दोलनमा सहभागी हुँदै सक्रिय राजनीतिमा लागे ।

काठमाडौंस्थित रत्न राज्यलक्ष्मी क्याम्पसबाट आम सञ्चारमा स्नातक गरेका हमालले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । विभिन्न समयमा झन्डै आधा दर्जन दलमा आवद्ध भइसकेका हमालले पनि विकास र समृद्धिकै लागि भनेर मत मागिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?