१८ माघ, काठमाडौं । गोरखा–१ र २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार छैनन् । गोरखामा कसलाई समर्थन गर्ने भनेर निर्णय लिन प्रलोपाले जिल्ला इन्चार्ज यानप्रसाद भट्टको नेतृत्वको तीन सदस्यीय राजनीतिक संवाद समिति गठन गरेको छ ।
प्रलोपाका नेताहरूका अनुसार प्रलोपाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका दलहरूसँग संवाद गरिरहेको छ ।
गोरखा–२ मा प्रलोपाका संरक्षक पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई उम्मेदवार थिए । उम्मेदवारी फिर्ता लिनुअघि डा. भट्टराई यही माघ ९ गते चुनावी तालमेलको प्रस्ताव लिएर नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनकै निवास पुगेका थिए ।
प्रचण्ड र डा. भट्टराईबीच के कुरा भएको बाहिर आइसकेको छैन । तथापि, डा. भट्टराईको सद्भाव गोरखाको निर्वाचन क्षेत्र नम्बर १ र २ दुवैमा उम्मेदवारी दिएकाहरूले खोजिरहेका छन् ।
प्रलोपा र श्रम संस्कृति
प्रलोपाकै नेता सुदन किरातीले सुनसरी–१ मा धरानका पूर्व मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई र भोजपुरमा ध्रुवराज राईलाई समर्थन गरेका छन् ।
ध्रुवराज पनि श्रम संस्कृति पार्टीकै उम्मेदवार हुन् । सुनसरी–१ र एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा प्रलोपाका उम्मेदवार छैनन् ।
२०७९ को निर्वाचनमा भोजपुरमा किरातीले एमालेका शेरधन राईलाई पराजित गरेका थिए । कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा किरातीले राईलाई दुई हजार ३२९ मतले पराजित गरेका थिए ।
समर्थन गरे वापत् श्रम संस्कृति पार्टीले किरातीको प्रलोपालाई कहाँ सघाउँछ ? भन्ने खुलेको छैन ।

एमाले–प्रलोपा तालमेल
एमालेसँग प्रलोपाले चुनावी गठबन्धन गर्ने सहमति नै गरिसकेको छ । माघ ११ गते यी दुई दलबीच कर्णाली प्रदेशलाई केन्द्रमा राखेर चुनावी गठबन्धन गर्ने सहमति भएको थियो ।
सहमति अनुसार रूकुम पश्चिममा प्रलोपाका उम्मेदवार जनार्दन शर्मा र रूकुम पूर्वमा प्रलोपाका सन्दिप पुनलाई एमालेले सहयोग गर्नेछ । प्रलोपाले कर्णालीका हुम्ला र जुम्लाबाहेक जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारहरूलाई सहयोग गर्नेछ ।
रूकुम पश्चिममा प्रलोपाका शर्मा र अन्य पार्टीका गरी कुल १२ जना उम्मेदवार छन् । एमालेका तर्फबाट नन्दराम देवकोटाले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी निश्कृय गराएर जनार्दनलाई सघाउने गरी एमालेले प्रलोपासँग सहमति गरेको हो । यो क्षेत्रमा कांग्रेसका तर्फबाट राजु केसी, नेकपाबाट गोपाल शर्मा, रास्वपाबाट मानबहादुर शाही उम्मेदवार छन् ।

एमाले र प्रलोपाको सहमतिअनुसार रूकुम पूर्वमा प्रलोपाका उम्मेदवार सन्दिप पुनलाई एमालेले सहयोग गर्नेछ । यो क्षेत्रमा एमालेका तर्फबाट लिलामणि गौतमले उम्मेदवारी दिएका थिए । गौतमको उम्मेदवारी निश्कृय पार्ने गरी एमालेले प्रलोपासँग सहमति गरेको हो ।
यो क्षेत्रमा कांग्रेसबाट कुशुमदेवी थापा उम्मेदवार छन् । यहाँ नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार छन् । यो क्षेत्रमा रास्वपाबाट लखनकुमार थापा उम्मेदवार छन् ।
नेकपा–जनमोर्चा तालमेल
बागलुङमा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टीको तालमेल छ । जसअनुसार बागलुङ–१ मा जनमोर्चाका कृष्ण अधिकारीले उम्मेदवार दर्ता गराएका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाका ज्ञाननाथ गैरे उम्मेदवार छन् ।
२०७९ मा बागलुङ–१ मा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र बागलुङ–२ मा नेकपाका नेता देवेन्द्र पौडेल विजयी भएका थिए । केसी समानुपातिक तर्फ उम्मेदवार छन् भने पौडेल नवलपरासीमा उठेका छन् ।
गत निर्वाचनमा समानुपातिक तर्फ बागलुङ–१ जनमोर्चाले चार हजार ९८६, माओवादी केन्द्रले दुई हजार ८५७ र नेकपा (एकीकृत समाजवादी)ले ४८२ मत ल्याएको थियो ।

यसपटक बागलुङ–१ मा जनमोर्चाका अधिकारीसहित कांग्रेसबाट भिमबहादुर श्रीस राना, एमालेबाट हिराबहादुर खत्री, रास्वपाबाट सुशील खड्का उम्मेदवार छन् ।
बागलुङ–२ मा नेकपाबाट गैरेसहित कांग्रेसबाट टेकराज पौडेल, एमालेबाट मन्जु शर्मा, रास्वपाबाट सोम शर्मा लगायत उम्मेदवार छन् ।
यो क्षेत्रमा २०७९ मा समानुपातिकमा माओवादी केन्द्रले आठ हजार ३४७, जनमोर्चाले तीन हजार ६३० र एकीकृत समाजवादीले १६१ मत पाएको थियो ।
एमाले–राप्रपा संवादमा ?
रूपन्देही–२ मा राप्रपाबाट कार्भिका थापाले उम्मेदवारी दर्ता गरेकी थिइन् । तर, पछि फिर्ता लिइन् । विदेशमा बस्दा प्राप्त कार्ड परित्याग गरेको तीन महिना पुगेपछि मात्र उम्मेदवार बन्न पाइने संवैधानिक प्रावधान अनुसार नाम फिर्ता लिएको थापाले बताएकी थिइन् ।
यो क्षेत्रमा राप्रपाको मत लिने गरी अन्य दल र उम्मेदवारले तालमेलको प्रयास गरेका छन् । गत निर्वाचनमा राप्रपाले समानुपातिक तर्फ पाँच हजार ६ सय मत पाएको थियो । २०७९ को चुनावमा केही क्षेत्रमा एमाले र राप्रपाले चुनावी तालमेल गरेका थिए ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार यो क्षेत्रमा के गर्ने भनेर पार्टीले निर्णय लिन बाँकी छ । ‘कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने पार्टीको औपचारिक नीति छ । रूपन्देही-२ मा प्रावधिक कारणले हाम्रो उम्मेदवारी कायम रहेन । यो क्षेत्रको हकमा भने औपचारिक निर्णय लिन्छौं ।’
रूपन्देही–२ सहित अन्यत्र पनि तालमेलको प्रयास भइराखेको नेताहरू बताउँछन् । झापा–५ र झापा–३ मा एक अर्कालाई सघाउने विषयमा अनौपचारिक संवाद भए पनि औपचारिक निर्णय भइनसकेको नेताहरूले जानकारी दिएका छन् ।
मनाङमा अनौठो तालमेल
हिमाली जिल्ला मनाङमा जम्मा तीन जनाको उम्मेदवारी कायम छ । २१ फागुनको चुनावलाई नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाली कम्युनिष्ट पार्टीकी यशोदा सुवेदी गुरुङ र मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घले मात्र उम्मेदवार छन् ।
एमालेको मनाङमा उम्मेदवार छैन । १६५ वटै क्षेत्रमा उम्मेदवारी दिए पनि मनाङका पोल्देन छोपाङ गुरुङले उम्मेदवारी फिर्ता लिए ।
राप्रपा पनि मनाङमा उम्मेदवार विहिन छ । राप्रपाका कुविरसिंह गुरुङले उम्मेदवारी फिर्ता लिएका थिए । रुपन्देही–२ समेत खाली भएकाले राप्रपाको देशभरी १६३ जना उम्मेदवार छन् ।
१६५ स्थानमै उम्मेदवार उठाउने लक्ष्य लिएको रास्वपाले मनाङमा अनिल गुरुङलाई टिकट दिएको थियो । अनिल मनोनयनका लागि निर्धारित समयमा नपुगेपछि त्यहाँ रास्वपा पनि उम्मेदवारविहीन भयो ।
२०७९ मा समानुपातिक तर्फ मनाङमा कांग्रेसले दुई हजार ४३०, एमालेले दुई हजार १९१, रास्वपाले १४१, माओवादीले १३३, राप्रपाले ७६, नागरिक उन्मुक्ति पार्टीले ५७, एकीकृत समाजवादीले १७ र मंगोल नेशनल अर्गनाइजेशनले चार मत ल्याएको थियो ।
एमाले, रास्वपा, राप्रपा लगायतलाई कांग्रेस र नेकपाले तालमेलका लागि आग्रह गरिरहेको नेताहरू बताउँछन् । राप्रपाका प्रवक्ता श्रेष्ठ आफ्नो पार्टीले मनाङको विषयमा पनि निर्णय गरिनसकेको बताउँछन् ।
प्रतिक्रिया 4