२३ पुस, विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट सीमान्तकृत समुदायकी रोशनी मेचेले उम्मेदवारी दर्ता गराएकी छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरेकी उनले नेकपा एमालेबाट महिला कोटामा मनोनयन दर्ता गरेकी हुन् । कांग्रेस एमाले गठबन्धन भएका कारण उनले निर्वाचन जित्ने लगभग निश्चित छ । यो प्रदेशमा महिलातर्फ नेपाल कम्युनिस्ट पार्टीबाट नमिता न्यौपाने उम्मेदवार छिन् ।
बुधबार मनोनयन दर्ता गरेकी मेचे नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्न रोकिएकी पात्र हुन् ।
एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी सदस्यसमेत रहेकी उनी महासंघबाट प्रतिनिधि बन्न खोज्दा प्राविधिक र वैधानिक कारणले उनको योग्यता पुगेको थिएन । तर रोशनी अहिले देशको माथिल्लो सदन (राष्ट्रिय सभा) को उम्मेदवार बनेकी हुन् ।
रोशनीको यो राजनीतिक फड्कोको मुख्य कडी नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर गरेको काम हो । ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा काम गर्ने उनी एक्ली महिला हुन् ।

झापा मेचीनगर-१२ (साविक धाइजन-३) मा जन्मिएकी रोशनी एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघमार्फत राजनीतिमा सक्रिय भएकी हुन् । गृह जिल्ला र सीमान्तकृत समुदायको भएका कारण अध्यक्ष ओलीले उनलाई सचिवालयमा राखेका थिए ।
नेपालकै अति सीमान्तकृत मेचे समुदायबाट राष्ट्रिय सभामा पुग्ने उनी सम्भवतः पहिलो व्यक्ति हुने छिन् । झापाको मेचीनगर, बिर्तामोड, हल्दिबारी र कचनकबल लगायत क्षेत्रमा बसोबास गर्ने मेचे समुदायले सरकारबाट सामाजिक सुरक्षा भत्ता पनि पाउँछ । यो समुदायका लागि रोशनीको यात्रा गौरवको विषय बनेको छ ।
पार्टीको प्रतिनिधि बन्न योग्यता नपुगे पनि उनको प्राज्ञिक योग्यता भने उच्च छ । २०५५ सालमा बलभद्र माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा सकेकी उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । कानुनमा स्नातक पनि गरेकी छन् । उनी अधिवक्तासमेत हुन् ।
महाधिवेशन प्रतिनिधि बन्न योग्यता नपुगेको भनिएकी रोशनीले अब ६ वर्षका लागि राष्ट्रिय सभामा सीमान्तकृत र अल्पसङ्ख्यकको आवाज उठाउने छिन् ।
‘सीमान्तकृत समुदायको भएका कारण त्यसबेला पार्टी अध्यक्षले उहाँलाई पार्टीको केन्द्रीय कमिटीमा ल्याउन खोज्नु भएको थियो । तर महाधिवेशन प्रतिनिधि बन्न प्राविधिक कारणले मिलेन,’ एमाले स्रोतले भन्यो, ‘पार्टीमा रोकिए पनि राष्ट्रिय सभामा पुग्ने लगभग निश्चित भयो ।’
रोशनी भने पार्टीले विश्वास गरेर अवसर दिएको बताउँछिन् । ‘विगत १०-१२ देखि सामाजिक क्षेत्रमा काम गरेको छु । अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उहाँको स्वकीय सचिवालयमा बसेर पनि काम गरें,’ उनले भनिन्, ‘पार्टीले विश्वास गरेर, जिम्मेवारी दिएको छ ।’
राष्ट्रिय सभामा सबै समुदायको प्रतिनिधित्व हुने उनको भनाइ छ । ‘देशभरिको माथिल्लो सभा भएकाले अल्पसंख्यक लोपोन्मुख समुदायको पनि प्रतिनिधित्व हुनेगरी पार्टीले योग्य सम्झिएर पठाएको छ,’ उनले भनिन् ।
प्रतिक्रिया 4