+
+
Shares

अमेरिकाले भेनेजुएलामा गरेजस्तै चीनले ताइवानमा गर्ला सैन्य हस्तक्षेप ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १९:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाले भेनेजुएलामा सैन्य हस्तक्षेप गरी राष्ट्रपति निकोलस मदुरोलाई गिरफ्तार गरेको घटनाले विश्वव्यापी सार्वभौमिकता र अन्तर्राष्ट्रिय प्रावधानमा बहस चर्काएको छ।
  • चीनले ताइवानमाथि डिक्यापिटेशन स्ट्राइक अभ्यास गर्दै आएको र आवश्यक परे ताइवानका स्वतन्त्रता समर्थकलाई लक्षित गर्न सक्ने क्षमता रहेको चीनका प्राध्यापक झाङ छीलेले बताएका छन्।
  • ताइवानका उपरक्षा मन्त्री शुजु चिएनले सेना सबै आपतकालीन अवस्थासँग लड्न तयार रहेको र विशेष रक्षा बजेट छिटो पारित गर्न संसदीय बैठकमा आग्रह गरेको बताएका छन्।

२३ पुस, एजेन्सी । भेनेजुएलामा अमेरिकाले गरेको सैन्य हस्तक्षेप र त्यहाँका नेता निकोलस मदुरोलाई हिरासतमा लिएपछि अन्तर्राष्ट्रिय प्रावधान र देशको सार्वभौमिकताबारे विश्वभर बहस चर्किएको छ ।

भेनेजुएलामा अमेरिकाले गरेको हस्तक्षेप विश्व व्यवस्थामा नजिर बन्ने होइन भन्ने प्रश्न अन्तर्राष्ट्रिय वृतमा छलफलको केन्द्र बनेको छ ।

साथै अर्को के हो भने, यसले चीन–रुसजस्ता देशहरूलाई ताइवान र युक्रेनजस्ता मुद्दामा यस्तै कदम चालेर आफ्ना–आफ्ना प्रभाव क्षेत्र बनाउन प्रोत्साहित गर्ने त होइन ?

यद्यपि केही विश्लेषकहरू भने मदुरोको गिरफ्तारी चीनका लागि कडा चेतावनी पनि हुन सक्ने दाबी गर्छन् । यसले चीनको बढ्दो वैश्विक पहुुँचलाई सीमित पार्ने तर्क गर्नेहरू पनि छन् ।

चीनले मुखर भएर ताइवानका राष्ट्रपति विलियम लाई चिङ तेलाईलाई मदुरो जस्तै गिरफ्तार गर्न सक्ने सम्भावना हालसम्म प्रकट गरेको छैन । तर, चीनले वर्षौंदेखि ताइवानमाथि पूर्ण कब्जाको धम्की भने दिँदै आएको छ ।

बीबीसीमा प्रकाशित एक रिपोर्टका अनुसार चीनले ताइवानका राष्ट्रपति भवन र सरकारी संरचनाहरूको नक्कल बनाएर जुरिहे सैन्य अड्डामा ‘डिक्यापिटेशन स्ट्राइक’ को अभ्यास गरिरहेको छ ।

भेनेजुएलामा पनि अमेरिकाले गत शनिबार राति सैन्य कारबाही गरेर राष्ट्रपति मदुरो दम्पत्तिलाई गिरफ्तार गरेको थियो । सो कारबाहीका लागि अमेरिकी सैनिकले कयौं महिनादेखि मदुरोको आवासको दुरुस्त नक्कली संरचना बनाएर अभ्यास गर्दै मिसनलाई पूर्णता दिएको विवरणहरू आएका छन् ।

चीनको नेशनल डिफेन्स युनिभर्सिटीका प्राध्यापक झाङ छीले सरकारी अखबार ग्लोबल टाइम्ससँग कुरा गर्दै सन् २०२५ को अन्त्यतिर ताइवान नजिकै भएको ‘जस्टिस मिसन २०२५’ सैन्य अभ्यासकै दौरान डिक्यापिटेशन स्ट्राइकको पनि अभ्यास गरिएको बताएका छन् ।

उनका अनुसार ती अभ्यासमा ताइवानको स्वतन्त्रताका समर्थक पृथकतावादी शक्तिहरूका प्रमुख केन्द्रमाथि सम्भावित आक्रमणको पूर्वाभ्यास गरिएको थियो ।

आवश्यक परे ताइवानका स्वतन्त्रता पक्षधर लक्षित कारबाही गर्ने क्षमता चीनको जनमुक्ति सेना (पीएलए)सँग रहेको झाङको दाबी छ ।

ताइवानमा कस्तो माहोल छ ?

भेनेजुएलामा अमेरिकी हस्तक्षेपपछि ताइवानमा पनि चीनका पछिल्ला धम्कीलाई गम्भिरताका साथ हेर्न थालिएको छ ।

भेनेजुएलामा अमेरिकाले १५० बढी विमान तथा हेलिकप्टर प्रयोग गरेर आक्रमण गरी केही घण्टामै राष्ट्रपति मदुरोलाई बन्दी बनाएको दृष्टान्तले ताइवानका जनतालाई गम्भीर बनाएको हो ।

ताइवानका स्थानीय अनलाइन सञ्चारमाध्यम स्टर्म मिडिया र युनाइटेड डेली न्यूज लगायतले ताइवानको हालत पनि भेनेजुएलाकै जस्तो हुन सक्ने विचारलाई प्राथमिकताका साथ छापेका छन् ।

उनीहरूका अनुसार अमेरिकाको निषेधात्मक र राष्ट्र प्रमुखलाई अपदस्थ गरेर हस्तक्षेप गर्ने ‘ब्लकेड र डिक्यापिटेशन’ रणनीतिले ताइवान मामिलामा चीनलाई पनि प्रेरित गर्न सक्ने तर्क त्यहाँका सञ्चारमाध्यममा जोडतोडका साथ प्रकाशित भएका छन् ।

अर्को ताइवानी अनलाइन समाचार माध्यम ताइ साउन्ड्स का अनुसार भने चीनको सरकारी समाचार संस्था सिन्ह्वासँग सम्बन्धित एक सामाजिक सञ्जाल खाताले जनवरी ३ मा वीच्याटमा प्रकाशित एक लेखमार्फत भेनेजुएला प्रकरण ताइवानको तुलना नगर्न आग्रह गरेको थियो ।

त्यो लेखमा चीनलाई शान्तिप्रिय देश भन्दै युद्ध अन्तिम विकल्प मात्र हुने दाबी गरिएको थियो । साथ चीन न्यायका लागि लड्ने देश भन्दै अमेरिकासँग तुलना नगर्न आग्रह गरिएको थियो ।

चीनको क्षमतामाथि पनि प्रश्न

ताइवानका केही सञ्चारमाध्यमहरूमा चीनको क्षमतामाथि पनि प्रश्न उठाइएको छ । के चीनसँग अमेरिकाले जस्तै सैन्य अभियान चलाउने क्षमता छ ?

इन्स्टिच्युट फर नेशनल डिफेन्स एन्ड सेक्युरिटी रिसर्चका सूत्जु युनले चीनले ताइवानका सैनिक र राष्ट्रपतिको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई प्रभावमा पारेर सूचना संकलनको प्रयास गरिरहेको बताए ।

चीनप्रति झुकाव राख्ने ताइवानी अखबार चाइना टाइम्सका अनुसार विज्ञ सू ले यसमा ताइवान सतर्क हुनुपर्नेमा जोड दिएका छन् ।

भेनेजुएलामा गरिएको सैन्य कारबाही हेर्दा अमेरिकाले आफ्नो  इलेक्ट्रोनिक वारफेयर क्षमता चीनको भन्दा उन्नत रहेको प्रमाणित गरेको सू को दाबी छ ।

उनका अनुसार ताइवानमा प्रयोग भइरहेका अमेरिका निर्मित रडार र सञ्चार प्रणालीहरू चिनियाँ प्रणालीजस्तोसजिलै निष्क्रिय पार्न सकिँदैन ।

युनाइटेड डेली न्यूजमा प्रकाशित अर्को लेखमा एसिया प्यासिफिक डिफेन्स म्यागजिनका प्रधान सम्पादक चेंग चीवेनलाई उद्धृत गर्दै ताइवानको अवस्था भेनेजुएलाभन्दा फरक रहेको उल्लेख गरिएको छ । उक्त लेखमा ल्याटिन अमेरिकामा अमेरिकाको बलियो प्रभाव रहेपनि ताइवानका हकमा चिनियाँ प्रभाव कमजोर रहेको दाबी गरिएको छ ।

चेङका अनुसार एण्टी–डिक्यापिटेशन अर्थात् शीर्ष नेतृत्वको सुरक्षा ताइवान सेनाको सदैव उच्च प्राथमिकतामा रहँदै आएको छ र पछिल्ला वर्षमा ताइवानका विशेष सुरक्षा बलले अमेरिकी सेनासँग ठूलो स्तरमा साझेदारी समेत गरिरहेको छ ।

युनाइटेड डेली न्यूजकै अर्को रिपोर्टमा अमेरिकाका पूर्व रक्षा अधिकारी र्ड्यु थम्पसनलाई उद्धृत गर्दै अमेरिकी सेनाको तुलनामा पीएलएसँग यस्ता अभियानको अनुभव कम रहेको बताइएको छ ।

थम्पसन भन्छन्, ‘चीनसँग ताइवानका नेताहरूलाई निष्क्रिय पार्ने अर्को विकल्प पनि छ, यदि उसले ताइवानका नेताको हत्या गर्ने बाटो रोज्छ भने त्यो मिसन सफल हुने सम्भावना बढी हुन्छ ।’

ताइवानका उपरक्षा मन्त्री शुजु चिएनले जनवरी ५ मा ताइवान सेना सबै किसिमको आपतकालीन अवस्थासँग लड्न तयार रहेको बताएका थिए ।

ताइवानी अखबार लिबर्टी टाइम्सका अनुसार चीनको सम्भावित डिक्यापिटेशन अपरेसनको आशंकामा उपरक्षा मन्त्री चिएनले ताइवानको सेनासँग सबै परिस्थितिका योजना रहेको उनको भनाइ छ ।

५ जनवरीमा संसदीय वित्त समितिको बैठकमा समेत उपरक्षा मन्त्री चिएनले सम्भावित आपतको तयारीमा जुट्न जोड दिएको दिएको ताइवानको सरकारी समाचार संस्था सेन्ट्रल न्यूजले लेखेको छ । साथै उपरक्षा मन्त्री चिएनले वार्षिकसँगै विशेष रक्षा बजेट पनि छिटोभन्दा छिटो पारित गर्न बैठकमा आग्रह गरेका थिए ।

बीबीसी हिन्दीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?