२३ पुस, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजनीति ओरालो लागेपछि नेपाली कांग्रेस प्रवेश गरेका सुनिल थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
उनी राजावादी नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । राप्रपाको राजनीति संकटमा परेपछि २०७७ सालमा सुनिल नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । त्यसबेला उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सहमहामन्त्री बनाएका थिए ।
बुधबार भने थापाको राजनीतिक यात्रामा अर्को एउटा ‘सुनौलो अध्याय’ थपियो । उनी कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भए ।
संयोग यस्तो मिल्यो कि, विपक्षी नेकपाका उम्मेदवार समयमा आइनपुगेपछि कांग्रेसका थापाका लागि राष्ट्रिय सभाको ढोका बिना प्रतिस्पर्धा खुल्यो ।
राष्ट्रिय सभामा नेकपाले हेमराज घिमिरेलाई उम्मेदवार बनाएको थियो । संखुवासभाबाट विराटनगर आउन ढिलो भएपछि थापा निर्विरोध भए ।
राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बन्नका लागि थापाले राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयबाट राजीनामा दिएका थिए । १६ चैत २०७९ मा थापा राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त भएका थिए । त्यसबेला थापा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य थिए ।
उनले राष्ट्रिय सभामा उम्मेदवारी दिनका लागि गत १ पुसमा राष्ट्रपति पौडेलको सचिवालयबाट राजीनामा दिएका थिए ।
थापा नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
उनले २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा-२ बाट राप्रपाका तर्फबाट प्रत्यक्ष चुनाव जितेका थिए । यो उनका बुबा सूर्यबहादुर थापाको क्षेत्र हो ।
२०७४ जेठमा बनेको शेरबहादुर देउवाको मन्त्रीमण्डलमा थापा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । २०७९ सालको निर्वाचनमा भने धनकुटाबाट नेकपा एमालेका राजेन्द्रकुमार राईसँग पराजित भए । राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मत ल्याएका थिए ।
थापाले लामो समय संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न देशमा काम गरे । जागिर छाडेर उनी राजनीतिमा प्रवेश गरेका थिए । कांग्रेस प्रवेश गरेदेखि नै थापाले पछाडि फर्केर हेर्नु परेको छैन ।
२०७७ सालमा कांग्रेस प्रवेश गर्दा उनी सिधै सहमहामन्त्री जस्तो शक्तिशाली पदमा आसिन भए । त्यसपछि पार्टीको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएर आफ्नो पकड बलियो बनाए । राष्ट्रपतिको सचिवालयमा काम गरेका थापा त्यहाँबाट राजीनामा दिएर अहिले राष्ट्रिय सभामा पुगेका छन् ।
सुनिलबहादुर थापाको उम्मेदवारीले कांग्रेस भित्र असन्तुष्टि बढेको छ । योग्यलाई छाडेर थापालाई उम्मेदवार बनाएको असन्तुष्ट पक्षको गुनासो छ ।
‘सुनिलबहादुर थापाको नेपाली राजनीतिमा योग्यता भनेको उनी सुर्यबहादुर थापाका छोरा हुन् । कांग्रेस युवा नेता विष्णु भुर्तेल भन्छन्, ‘अस्ति भर्खरसम्म राष्ट्रपतिको सल्लाहकारको रुपमा मन्त्री सरहको सुविधा पाउने गरि जागिरमा थिए । त्यो जागिरबाट राजिनामा गराएर सुर्यबहादुरका छोरा सुनिलबहादुर थापालाई कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनायो, यो कार्यकर्तामाथिको अन्याय हो ।’
प्रतिक्रिया 4