+
+
Shares

डा. शेखर कोइराला कोशीमा सत्तापक्ष !

कोशीमा मन्त्रीको सेट नै परिवर्तन हुँदा कोइराला समूहबाट मानबहादुर लिम्बू स्वास्थ्यमन्त्री बनेका छन् । सरकारमा आफ्नो पक्षबाट मन्त्री पठाएपछि कोइराला पक्ष पार्टी भित्रको सत्तापक्ष बनेको टिप्पणी कांग्रेसबाटै हुन थालेको छ ।

हरि अधिकारी हरि अधिकारी
२०८२ पुष २२ गते १९:५३
डा. शेखर कोइराला समूहबाट स्वास्थ्यमन्त्री बनेका मानबहादुर लिम्बू ।

२२ पुस, विराटनगर । नेपाली कांग्रेसभित्र लामो समयदेखि कोशी प्रदेश सरकारका विषयमा चल्दै आएको आन्तरिक खिचातानी मंगलबारबाट साम्य भएको छ ।

दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएका डा. शेखर कोइरालाको समूह एउटा मात्रै मन्त्रालय लिएर सरकारमा सहभागी भएपछि डेढ वर्षदेखिको विवाद साम्य भएको हो ।

मंगलबार मुख्यमन्त्री बाहेक मन्त्रिपरिषद्को सेट नै परिवर्तन हुँदा कोइराला समूहबाट मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री बनेका छन् । सरकारमा आफ्नो पक्षबाट मन्त्री पठाएपछि कोइराला पक्ष पार्टी भित्रको सत्तापक्ष बनेको कांग्रेस नेताहरू बताउँछन् । यसअघि भने यो समूहले आफ्नो तर्फबाट नाम पठाएको थिएन ।

२०८१ असारमा कांग्रेस-एमालेबीच गठबन्धन बनेपछि कांग्रेस सरकारमा गएको थियो । तर कांग्रेसको आन्तरिक भागबण्डा नमिल्दा कोइराला समूह सरकार बाहिरै बस्यो ।

२८ भदौ २०८१ मा संस्थापन पक्षका मन्त्रीहरू सरकारमा सहभागी भए । शेखर समूहले नाम नपठाउँदा भुपेन्द्र राईले दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हाले ।

९ वटा मन्त्रालय रहेको कोशीमा कांग्रेस र एमालेबीच मुख्यमन्त्री कार्यालयबाहेक आधा-आधा मन्त्रालय बाँड्ने सहमति भएको थियो ।

सोही सहमतिअनुसार गत वर्ष कांग्रेसको भागमा परेका मन्त्रालयहरूमध्ये भुपेन्द्र राई भौतिक पूर्वाधार, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए । कोइरालाले नाम नदिएपछि कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालय पनि राईले नै सम्हाले ।

पहिले दुई मन्त्रालयको दाबी गर्दै आएका डा. शेखर कोइराला समूहले अन्ततः बदलिएको राजनीतिक परिस्थिति र पार्टी भित्रको दबाबका कारण एक मन्त्रालयमै चित्त बुझायो । कोइरालाकै ग्रिन सिग्नलमा लिम्बूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

कोइराला पक्षका नेताहरू भने संसदीय दलका नेता उद्धव थापाले पार्टी भित्रको आन्तरिक शक्ति सन्तुलन मिलाउनका लागि भागबण्डा गरेको बताउँछन् । ‘डाक्टर साबको अडान नै हो, तर दलको नेताले समीकरण मिलाउन एक जनाको नाम पठाउनुभएको छ,’ स्रोतले भन्यो ।

मंगलबार हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ संस्थापन समूहका हुन् ।

पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली कृष्णप्रसाद सिटौला समूहका हुन् । स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू डा. कोइराला समूहका हुन् ।

शपथ लिँदै नवनियुक्त मन्त्रीहरू ।

भाग्यमनी सुनुवार

नेपाली कांग्रेसका सांसद प्रदीपकुमार सुनुवार चौथो पटक मन्त्री बनेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार सुनुवारलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाए ।

२०८० असार २१ गते उद्धव थापा मुख्यमन्त्री हुँदा उनलाई मन्त्री नियुक्त गरेका थिए । २१ दिनमा सरकार ढल्दा उनले कुनै मन्त्रालयको जिम्मेवारी पाएनन् । २०८० साउन १६ मा उद्धव थापा दोस्रो पटक मुख्यमन्त्री बन्दा सुनुवार खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री बनेका थिए । दोस्रो कार्यकाल पनि धेरै समय टिकेन ।

२०८० असोज २७ गते केदार कार्कीको नेतृत्वको सरकारमा सुनुवार २०८० माघ २६ गते स्वास्थ्य मन्त्री बने । हिक्मतकुमार कार्कीले पहिलो मन्त्रिपरिषद् विस्तार गर्दा सुनुवार बाहिर रहे ।

सभापति शेरबहादुर देउवासँग निकट रहेका उनी सरकार पुनर्गठन हुँदा महत्वपूर्ण जिम्मेवारीसहित सरकारमा चौथो पटक सहभागी भए । सुनुवार ओखलढुङ्गा १(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?