+
+
Shares

बागलुङमा २३ उम्मेदवार, जनमोर्चा र नेकपाको सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते ७:२७

७ माघ, बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका दुई निर्वाचन क्षेत्रमा २३ जनाको उम्मेदवारी दर्ता भएको छ । बागलुङ क्षेत्र नम्बर १ मा ११ जना र २ मा १२ जनाको उम्मेदवारी दर्ता भएको हो ।

क्षेत्र नम्बर १ का सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माका अनुसार नेपाली कांग्रेसका भीमबहादुर श्रीस राना, नेकपा एमालेका हिराबहादुर केसी, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद अधिकारी, रास्वपाका सुशील खड्का, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कल्याण आचार्य, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का टेकबहादुर केसी, मङ्गोल नेशनल अर्गनाइजेशनकी गुमाकुमारी बुढा रानामगर, नेपाल मानवतावादी पार्टीबाट भक्तबहादुर विक, नेशनल रिपब्लिक नेपालका सहविर थापाले पनि उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।

बागलुङ क्षेत्र नम्बर १ मा ४८ मतदानस्थलको ११५ मतदान केन्द्रमा ९८ हजार आठ सय ४६ मतदाता रहेका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट टेकराज पौडेल, नेकपा एमालेबाट मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिष्ट पार्टीबाट ज्ञामनाथ गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अञ्चल शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम शर्माले उम्मेदवारी दिएका छन् ।

प्रगतिशील लोकतान्त्रिकबाट पदमबहादुर कुँवर, जसपाबाट पूर्णबहादुर घर्तीमगर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट लोकेन्द्र घिमिरे, श्रम संस्कृति पार्टीबाट हर्कबहादुर पुन, मङ्गोल नेशनल अर्गनाइजेशनबाट जुनबहादुर थापा, मानवतावादी पार्टीबाट टेकप्रसाद कामी र नेशनल रिपब्लिक पार्टीबाट नरबहादुर बुढाले उम्मेदवारी दर्ता गराएको क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए ।

यस क्षेत्रमा ५९ मतदानस्थलको ११५ मतदान केन्द्रमा ९५ हजार ३३५ मतदाता छन् ।

बागलुङमा जनमोर्चा र नेकपाबीच सहकार्य

बागलुङमा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले चुनावी सहकार्य गरेका छन् । बागलुङको क्षेत्र नम्बर १ मा जनमोर्चाका उम्मेदवारलाई सघाउने र क्षेत्र नम्बर २ मा नेकपाका उम्मेदवारलाई सघाउने दुई पार्टीले सहमति गरेका हुन् ।

बागलुङको क्षेत्र नम्बर १ मा जनमोर्चाका उम्मेदवार कृष्ण अधिकारीलाई नेकपाले समर्थन गरेको छ । क्षेत्र नम्बर २ मा जनमोर्चाले नेकपाका नेता ज्ञामनाथ गैह्रे (अनिल)लाई समर्थन गरेको छ ।

जनमोर्चाको बलियो प्रभाव मानिने क्षेत्र नम्बर १ बाट यसअघि जनमोर्चाका अध्यक्ष नेता चित्रबहादुर केसी विजयी भएका थिए भने क्षेत्र नम्बर २ बाट नेकपा नेता देवेन्द्र पौडेल विजयी भएका थिए । अहिले चित्रबहादुर समानुपातिकमा बसेका छन् भने देवेन्द्र नवलपरासी पश्चिमबाट उम्मेदवार बनेपछि ज्ञामनाथ गैह्रेले टिकट पाएका हुन् ।

यसअघि कांग्रेस, तत्कालीन माओवादीसहित ५ दलीय गठबन्धनबाट जनमोर्चाका चित्रबहादुरले २९ हजार ४ सय ५१ मत ल्याएर विजयी भएका थिए । एमालेका सूर्य पाठकले यो क्षेत्रमा १८ हजार ८२५ र रास्वपाका खिमानन्द कँडेलले ९ हजार १८१ मत ल्याएका थिए ।

क्षेत्र नम्बर २ मा गठबन्धनबाट २४ हजार ७७९ मत ल्याएर पौडेल विजयी भएका थिए भने एमालेकी मञ्जु शर्माले २० हजार १८० मत ल्याएकी थिइन् । यो क्षेत्रमा अहिले नेकपाले पार्टीमा योगदान गरेका तर अवसर नपाएको भनेर चिनिएका ज्ञामनाथलाई टिकट दिएर सहानुभूति पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?