५ माघ, पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बागलुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले चुनावी सहकार्य गर्ने भएका छन् । बागलुङको क्षेत्र नम्बर १ मा जनमोर्चाका उम्मेदवारलाई सघाउने र क्षेत्र नम्बर २ मा नेकपाका उम्मेदवारलाई सघाउने दुई पार्टीले सहमति गरेका हुन् ।
बागलुङको क्षेत्र नम्बर १ मा नेकपाबाट टिकट पाएका कृष्ण केसीले उम्मेदवार दर्ता नगर्ने र जनमोर्चाका उम्मेदवार कृष्ण अधिकारीलाई समर्थन गर्ने भएका छन् । क्षेत्र नम्बर २ मा जनमोर्चाका उम्मेदवार भीमलाल पोखरेल पछि हट्ने र नेकपाका नेता ज्ञामनाथ गैह्रे (अनिल)लाई समर्थन गर्ने भएका हुन् ।
बागलुङमा चुनावी सहकार्य गर्न नेकपाको केन्द्रीय कार्यालयको तर्फबाट गणेशमान पुन र जनमोर्चाको केन्द्रीय सचिव घनश्याम न्यौपानेले सहमतिमा हस्ताक्षर गरेका छन् ।
जनमोर्चाको बलियो प्रभाव रहेको क्षेत्र नम्बर १ मा नेकपा पछि हटेर सघाउने र नेकपाको प्रभाव रहेको क्षेत्र नम्बर २ मा जनमोर्चा पछि हटेर जित निकाल्ने योजनासहित सहकार्य गरेका हुन् ।
यसअघि क्षेत्र नम्बर १ मा जनमोर्चाको नेता चित्रबहादुर केसी विजयी भएका थिए क्षेत्र नम्बर २ बाट नेकपा नेता देवेन्द्र पौडेल विजयी भएका थिए । अहिले चित्रबहादुर समानुपातिकमा बसेर कृष्ण अधिकारीलाई टिकट दिएका छन् भने देवेन्द्र नवलपरासी पश्चिमबाट उम्मेदवार बनेर नेकपा नेता ज्ञामनाथलाई टिकट दिएका थिए ।
यसअघि कांग्रेस, माआवादीसहित ५ दलीय गठबन्धनबाट जनमोर्चाका चित्रबहादुरले २९ हजार ४ सय ५१ म्त ल्याएर विजयी भएका थिए । एमालेका सूर्य पाठकले यो क्षेत्रमा १८ हजार ८२५ र रास्वपाका खिमानन्द कडेंलले ९ हजार १८१ मत ल्याएका थिए ।
क्षेत्र नम्बर २ मा गठबन्धनबाट २४ हजार ७७९ मत ल्याएर पौडेल विजयी भएका थिए भने एमालेकी मञ्जु शर्माले २० हजार १८० मत ल्याएकी थिइन् । यो क्षेत्रमा अहिले नेकपाले पार्टीमा योगदान गरेका र क्षमता भएर पनि अवसर नपाएका नेताका रुपमा चिनिएका ज्ञामनाथलाई टिकट दिएर सहानुभूति पाइरहेको छ ।
जनमोर्चा र नेकपा मिल्दा दुबैले जित्न सक्ने देखेरै चुनावी सहकार्य गरिएको नेताहरूले बताएका छन् ।
प्रतिक्रिया 4