३ फागुन, काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजाआराधना गरी मनाइँदै छ । महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथसहित देशभरिका शिवालयहरूमा दर्शनार्थीको घुइँचो छ । शिवारात्रीको दिन व्रत बसी भगवान शिवको पूजा, आराधना, दर्शन गरे सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।
यही विश्वासका साथ दर्शनार्थी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभरि जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यस दिन सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किरातेश्वरका संगीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । शिवरात्रि पर्वको मेला भर्न आज देशभरिका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीहरू समेत पशुपतिनाथ मन्दिर आएका छन् ।
पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि आज बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका बाहिर तीनवटा लाइनको व्यवस्था गरिएको छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन–तीन र पश्चिमबाट चारवटा भित्री लाइन व्यवस्थापन गरिएको छ । दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ ।
आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भिड लागेको छ । त्यसैगरी, राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो छ ।

विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए । यस वर्ष पनि त्यतिनै संख्यामा दर्शनार्थी आउने विश्वास गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले बताए ।
दर्शनार्थीहरूको सुविधा र सुरक्षाका लागि सुरक्षाकर्मी र स्काउटको टोलीसहित विभिन्न संघसंस्थाहरूले भोजन, पानी र स्वास्थ्य जाँचको प्रबन्ध मिलाएका छन् ।














प्रतिक्रिया 4