+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

चुनावी ‘प्लेलिस्ट’: गगनको गानादेखि बालेनको र्‍यापसम्म

पछिल्लो एक दशकमा चुनावी प्रचारशैलीमा आएका आमूल परिवर्तन र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै उम्मेदवारहरूले जनतासम्म पुग्न गीत र भिडियोको सहारा लिन थालेका छन्।

कञ्चन कुमार बस्नेत कञ्चन कुमार बस्नेत
२०८२ फागुन ३ गते १५:१८

राजनीतिमा एजेन्डा, छलफल-बहस र भाषणको आफ्नै महत्त्व छ। तर, भाषण र छलफल-बहस जस्ता परम्परागत तरिकाले मात्र डिजिटल युगका मतदातामा पुग्न सहज छैन । अझ, मनै जितेर मत पाउन त निकै मेहनत गर्नुपर्ने हुन्छ ।

सूचना प्रविधिको अभूतपूर्व विकासले पछिल्लो एक दशकमा चुनावी प्रचारशैलीमा आमूल परिवर्तन आएको छ। सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै उम्मेदवारहरूले जनतासम्म पुग्न गीत र भिडियोको सहारा लिन थालेका छन्।

यस्तो लाग्छ- भाषणले दिने तर्कभन्दा गीतले जगाउने भावना सशक्त हुन्छ भन्ने कुरा दलहरूले राम्ररी बुझेका छन्। यस्तो अभ्यासमा सबैभन्दा बढी चर्चा बटुल्ने नेता हुन्- नेपाली कांग्रेसका सभापति गगन थापा।

पछिल्ला निर्वाचनहरूमा थापाले गीत-संगीतका माध्यमबाट आफ्ना एजेन्डालाई मतदाताको मनसम्म पुऱ्याउन सफल भएका छन्। ‘भोट फर गगन थापा’ देखि ‘हमारे मन के गाव मे’ सम्मको यात्राले थापाको राजनीतिक ग्राफ उकालो मात्र लागेको छैन, चुनावी रणनीति सफल पनि बनाइरहेको छ ।

विद्यार्थी राजनीतिबाट चर्चामा आएका थापा २०६२/६३ को जनआन्दोलनका क्रममा युवाहरूको साझा आइकनका रूपमा उदाए। त्यसबेला उनका भाषणहरू निकै चर्चित हुन्थे। मानिसहरू तिनलाई टेपमा रेकर्ड गरेर सुन्थे।

तर, समय निकै बदलिइसकेको छ। ‘अडियन्स’ को ‘अटेन्सन स्पान’ निकै कमजोर हुन थालेको छ । रुख्खासुख्खा भाषणभन्दा आजकल गीतले मतदातालाई छिटो प्रभावित गर्छ। यी बदलावलाई छिट्टै बुझेका थापाले आफ्ना चुनावी अभियानमा गीत-संगीतलाई समावेश गर्न थालेका छन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौं-४ बाट प्रतिस्पर्धा गर्दा थापाले परम्परागत शैलीको प्रचारका साथै केही आधुनिक शैलीहरू अपनाए। यद्यपि, त्यसबेला अहिले जस्तो युट्युब र टिकटकको दबदबा थिएन।

युवा नेताको छवि र जनआन्दोलनको पृष्ठभूमिले नै प्रचारको काम गरिरहँदा पनि उनले नयाँ पुस्तालाई आकर्षित गर्न र्‍याप गीतको सहारा लिए।

उक्त निर्वाचनमा चर्चित र्‍यापर गिरीश गिरीले गाएको ‘भोट फर गगन थापा’ बोलको र्‍याप सार्वजनिक गरिएको थियो। र्‍याप शैलीको प्रयोगले त्यतिबेला युवा मतदाताहरूमा निकै ठूलो प्रभाव छोडेको थियो । थापाको क्रान्तिकारी युवा छविको चित्र र्‍याप गीत हुँदै युवाका मनमष्तिष्कमा कुँदिए ।

किनकि उक्त र्‍यापमा थापाको पञ्चायतदेखि लोकतन्त्रसम्मको योगदान समेटिएको थियो। उनले बहस गरिरहेका स्वतन्त्रता, समानता र समृद्धि जस्ता वैचारिक पक्षहरूको अन्तरवस्तु पनि गीतमा समेटिएका थिए।

युवा पुस्ताको राजनीतिमा सहभागिताका प्रश्नहरू उठ्न थालेको समयमा गगनको युवा व्यक्तित्वको छविलाई पनि गीतले सकेसम्म समेटेको थियो। यसबाट उनले आफूलाई कांग्रेसको उम्मेदवार मात्र नभई एक योजनाकारका रूपमा प्रस्तुत गरे।

उनको गीतले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा जोड दियो। उनले स्वास्थ्य मन्त्री हुँदा अगाडि बढाएको स्वास्थ्य बीमा कार्यक्रमलाई गीतको मुख्य विषय बनाए। गीतमा ‘स्वास्थ्यको जिम्मा गगनले लिन्छन्, विकासको बाटो गगनले कोर्छन्’ जस्ता हरफहरू समेटिएका थिए।

२०७९ सालको निर्वाचन थापाको राजनीतिक जीवनका लागि महत्त्वपूर्ण थियो। कांग्रेस महामन्त्रीको जिम्मेवारीमा पुगेका उनलाई भावी प्रधानमन्त्रीका रूपमा हेरिएको थियो ।

उनको चुनावी प्रचारका लागि तयार गरिएको ‘गगन दाइ हाइ हाइ’ गीत लोकप्रिय बन्न पुग्यो। कृष्ण रेउले र कविता आचार्यको आवाजमा रहेको यस गीतले थापाको अफिसियल युट्युब च्यानलमा ३१ हजार भ्युज बटुलेको थियो। युवाहरूले टिकटकमा यो गीतमा नाचेका भिडियोहरू पनि भाइरल भएका थिए।

प्रताप पौडेल र अमृत अधिकारीको शब्दमा रहेको गीतमा थापाको इमानदारिता, विकासप्रतिको प्रतिबद्धता र जनप्रियतालाई समेटिएको थियो। गगनको ‘समुन्नत नेपाल, सुखी नेपाली’ नारालाई पनि गीतमा स्थान दिइएको थियो।

२१ फागुनमा घोषित निर्वाचनमा थापा काठमाडौं-४ छोडेर सर्लाही-४ बाट उम्मेदवार बनेका छन् । विशेष महाधिवेशनबाट पार्टी सभापति चुनिएका थापाको पक्षमा चुनावी माहोल बनाउन ‘सरकार गगन भरत के’ बोलको गीत सार्वजनिक भएको छ। भोजपुरी भाषामा गाइएको गीतलाई प्रचलित र आधुनिक शैलीमा बनाइएको छ।

सञ्जय यादवको स्वर रहेको गीतमा थापालाई जनताको दुःख, दर्द र पीडा बुझ्ने नेताको रूपमा चित्रित गरिएको छ। गीतले निर्वाचनपश्चात गगन थापा र भरत शाहको सरकार बन्ने कुरामा अधिक जोड दिएको छ।

‘हमारे मन के गाव मे’

केही समयअघि गगन थापा समर्थक फेसबुक पेजमा मैथिली भाषाको एउटा गीत छाएको छ। गीतको बोल हो- ‘हमारे मन के गाव मे’।

यद्यपि यो गीत थापा र कांग्रेसको प्रचारका लागि बनाइएको मौलिक गीत भने होइन। मैथिली संगीतको फाँटमा ‘हामार मन के गाउँमे’ गीतले आफ्नो छुट्टै पहिचान बनाएको छ।

चर्चित पार्श्वगायक उदित नारायण झाको स्वरमा सजिएको यो मौलिक मैथिली गीत मूलतः प्रेम र सांस्कृतिक अपनत्वको भाव बोकेको सिर्जना हो । तर, थापाले आफ्नो चुनावी प्रचार अभियानका क्रममा यस लोकप्रिय धुनलाई परिमार्जन गरी चुनावी प्रचारको साधन बनाएका छन्। गीतमा युवा आवाजलाई प्रयोग गरिएको छ।

स्थानीय संस्कृति र भाषासँग जोडिँदै आएको यस गीतको धुनलाई थापाको टोलीले राजनीतिक एजेन्डा र विकासको प्रतिबद्धतामा ढालेपछि यो मैथिलीभाषी मतदाताहरूमाझ भावनात्मक सम्बन्ध स्थापित गर्ने माध्यम बनेको छ।

परिमार्जित गीतमा मूल गीतका स्थायी हरफहरूमा कुनै शब्द फेरबदल नगरी जस्ताको तस्तै राखिएको छ। तर अन्तराका हरफहरूमा भने कांग्रेसका नारा, गगन थापाको नाम र भावनात्मक सम्बन्ध जोड्ने खालका शब्दहरू राखिएका छन्।

अध्यक्ष ओलीलाई ब्रान्डिङ गर्दै एमाले

नेपाली राजनीतिमा चुनावी प्रचारका क्रममा गीत-संगीत प्रयोग गर्न नेकपा एमाले पनि अग्रस्थानमै देखिन्छ ।

वामपन्थी सांस्कृतिक आन्दोलनको जगमा उभिएको एमालेले निर्वाचनहरूमा गीत, संगीत र सांस्कृतिक कार्यक्रमलाई मतदाता आकर्षित गर्ने मुख्य रणनीतिक औजारका रूपमा प्रयोग गर्दै आएको छ।

विशेषगरी २०७४ र २०७९ सालको आम निर्वाचनमा एमालेले ल्याएका गीतहरूले निकै चर्चा पाएका थिए। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चर्चित गायक बद्री पंगेनीले गाएको ‘सै पनि एमाले, मै पनि एमाले’ बोलको गीत निकै लोकप्रिय बनेको थियो ।

यस गीतले एमालेको संगठनात्मक शक्ति र जनाधारलाई उजागर गर्दै मतदाताहरूलाई पार्टीप्रति आकर्षित गर्न ठूलो भूमिका खेल्यो। गीतमा पार्टीको नयाँ विचारभन्दा पुराना कार्यक्रमहरूको उल्लेख ज्यादा गरिएको थियो।

एक गाउँमा एक डाक्टर जस्ता अभियानदेखि लिएर आफ्नो कार्यकालमा प्रस्तुत गरेको वृद्धभत्ता जस्ता कार्यक्रमहरूको उल्लेख गीतमा गरिएको थियो।

आजसम्म पनि एमालेका प्रसिद्ध चुनावी गीतहरूमा यो गीत अग्रणी स्थानमा रहेको छ।

२०७९ सालको निर्वाचनमा ‘शहर शहरमा ओली, गाउँ गाउँमा ओली’ गीत एमाले चुनावी अभियानमा लोकप्रिय बनेको थियो।

नागरिकता विधेयकको विरोध, चुच्चे नक्सा सार्वजनिक गरेका कुराहरू यस गीतमा समेटिएका थिए। आफ्नो कार्यकालमा झोलुंगे पुल बनाइएको र तुइन हटाइएको जस्ता कार्यहरू पनि गीतका शब्दमा उतारिएको थियो।

यी गीतहरूमा एमाले नेतृत्वको सरकारले गरेका कामहरूलाई चर्चा गर्दै भावी समृद्धिमा जोड दिइएको थियो। ओलीको नेतृत्वप्रतिको विश्वासलाई गीतको मुख्य विषय बनाइएको थियो।

लोकबाजाका धुनहरूलाई परिमार्जित गरी संगीतबद्ध गरिएको यस गीतले पार्टीभन्दा व्यक्ति हावी भएको छनक भने दिएको छ।

इतिहास सुनाउँदै माओवादी

नेपाली राजनीतिमा गीत र संगीतलाई राजनीतिक चेतना र अभियानका रूपमा प्रयोग गर्ने सवालमा माओवादी धारको इतिहास निकै पुरानो र विशिष्ट छ।

सशस्त्र द्वन्द्वकालदेखि नै माओवादीले सांस्कृतिक टोलीमार्फत आफ्ना एजेन्डा जनतामा पुऱ्याउँदै आएको छ। निर्वाचनहरूमा पनि माओवादीले आफ्नो प्रचारका लागि यस अभ्यासलाई प्रयोग गर्दै आइरहेको छ।

२०७४ सालको निर्वाचनमा एमालेसँगको वाम गठबन्धनपछि माओवादीले एमालेकै सांगीतिक शैलीलाई पछ्याउँदै संयुक्त गीतहरू प्रयोग गर्‍यो।

बद्री पंगेनी लगायतका गायकहरूको स्वरमा वाम गठबन्धनको पक्षमा गीतहरू बने। ‘सूर्य’ र ‘हँसिया-हथौडा’ दुवै चिन्हलाई समेट्ने गरी मतदाताहरूलाई आकर्षित गर्ने प्रयास भयो।

त्यस्तै गरी लोकभाषाहरूमा पनि माओवादीका चुनाव लक्षित गीत बनेका थिए।

‘होता चुनाव’ नामको भोजपुरी गीतले मधेशका विभिन्न क्षेत्रहरूमा चुनावी माहोललाई माओवादीतर्फ केन्द्रित गराउने कारक बन्न पुगेको थियो। गीतमा प्रसिद्ध पार्श्वगायक उदित नारायण झा र कल्पनाको आवाज रहेको थियो र म्युजिक भिडियोमा नायिका रेखा थापाले मुख्य अभिनय गरेकी थिइन्।

नेकपा विभाजनपछिको २०७९ सालको निर्वाचनमा माओवादीका पनि चुनाव लक्षित छुट्टै गीतहरू आउन थाले।

गायक, गीतकार तथा संगीतकार चेतन गोतामेले सिर्जना गरेको ‘निमुखालाई अधिकार लिएर आयो माओवादी’ नामको गीत २०७९ को निर्वाचनमा लोकप्रिय भयो। प्रचलित आधुनिक लोकशैलीमा बनेको यस गीतले अधिकतर रूपमा भने आफ्ना पुराना योगदानहरूलाई बढी उल्लेख गरेको छ।

माओवादी पार्टी निमुखाहरूको आवाज बनिदिएको, लोकतन्त्र स्थापनामा आफ्नो योगदान रहेको आफ्नो विगतका कार्यक्रमको चर्चाले गीतको अधिकांश भाग ओगटेको छ। माओवादी केन्द्र लक्षित अधिकांश गीतहरूमा आफ्ना नयाँ कार्यक्रम र विचारहरू भने छायाँमा परेको देखिन्छ।

जनआक्रोशमा संगीत भर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा-५ बाट उठेका बालेन शाह आफैंमा लामो समय गीत-संगीतमा संलग्न कलाकार पनि हुन्। उनी मुख्यतः र्‍याप विधाका गीतहरू सिर्जना गर्ने गर्छन्।

२०७८ सालको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको चुनाव लड्ने क्रममा चुनाव प्रचारका लागि उनले आफैं गीतहरू सिर्जना गरेका थिए।

चुनावी अभियानको क्रममा उनका पुराना सिर्जनाले अचानक लोकप्रियता प्राप्त गरेका थिए। क्लासिक नेपाली फिल्म बलिदानको ‘गाई त बाँध्यो ढुंग्रोमा’ गीतलाई प्रयोग गरेर बालेनले गरेको र्‍यापले धेरै मानिसहरूलाई नयाँ नेतृत्वको खाँचो रहेको कुरा बोध गराएको थियो।

गीतमा बालेनले पुराना शक्तिहरू, नेतृत्वका कमजोरी र अकर्मण्यतालाई आफ्नो मूल विषय बनाएका थिए। युवाहरू माझ यो गीत अत्यन्त चर्चित भयो। आम युवाको निराशा र आक्रोशलाई सम्बोधन गर्न सक्नु बालेनको गीतको विशेषता हो।

त्यस्तै गरी बालेनको ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ बोलको र्‍यापले सामाजिक सञ्जालमा प्रसिद्धि कमायो। जेनजी आन्दोलनपश्चात यस गीतमा धेरै भिडियो क्लिपहरू बनाइएको थियो। बालेनको युट्युब च्यानलमा ११ वर्षअघि रिलिज भएको गीत यस समयमा भने अचानक सान्दर्भिकता प्राप्त गरेको छ।

बालेनको मात्र होइन, रास्वपा पार्टीको समेत चुनावी प्रचारलाई केन्द्रमा राखेर धेरै गीतहरू युट्युबमा रिलिज भएका छन्। एआई निर्मित गीतहरू पनि अत्यधिक संख्यामा बनाइएका छन् र भिडियो सामग्रीहरूमा पनि एआईको तीव्र प्रयोग गरिएको छ।

रास्वपा पार्टीका गीतहरूले आफ्नो नारा र विचारलाई भन्दा धेरै पुराना राजनीतिक दल र व्यवस्थाप्रतिको आक्रोशलाई स्थान दिएको देखिन्छ।

लेखक
कञ्चन कुमार बस्नेत

लेखक साहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?