+
+
Shares
एस्प्रेसो :

चुनाव फागुनमा, मन्त्री माघमा

चुनाव आउनु कहिले कहिले मन्त्री छान्नु अहिले ! यसरी भोट माग्ने कुनै विषय नपाएर गाउँ–गाउँमा मन्त्रिमण्डलको सूची सुनाउँदै हिंड्ने हो र ? चुनाव त लड्ने पो हो, चुनावकै अपहरण गर्न जाने हो र ?

बसन्त बस्नेत बसन्त बस्नेत
२०८२ माघ २३ गते १४:३४

प्रधानमन्त्रीय प्रणाली त होइन यो, तैपनि पार्टीहरूले प्रधानमन्त्री उम्मेदवार तोक्दासम्म तैबिसेक ठिकै थियो। चुनावलाई रौनक थप्न गगन थापा, केपी ओली, बालेन शाह, हर्क साम्पाङ नाम प्रधानमन्त्रीका सम्भावित अनुहारका रूपमा पेश गरियो।

यी अनुहारले लाइभ डिबेट त गरेनन्। कोही बोल्दै नबोल्ने, कोही बोलेको बोल्यै गर्ने, कोही ठिकठिकै बोल्ने, कोही चाहिं फेसबुकमा लेखेको लेख्यै गर्ने। लाइभ नभए पनि डिबेट त भइरहेकै छ भन्ने मानेर चित्त बुझाइयो।
तैपनि बहस गर्नलाई अर्को पनि विषय थियो घोषणापत्रको। कांग्रेस, एमाले, रास्वपा, नेकपा, श्रम संस्कृति पार्टी, उज्यालो पार्टी इत्यादिले घोषणापत्र ल्याउलान्, अनि त्यसका आधारमा कुन दल कस्तो भनेर नागरिक बीच बहस गरौंला भनेको!

यो एस्प्रेसो शट तयार पार्दासम्म घोषणापत्र नाइँ!

बरु उम्मेदवारहरूले आफू यो मन्त्री, आफ्नो साथी त्यो मन्त्री भनेर मतदातासामु निर्लज्ज तालमा खुलाखुला घोषणा गरेको पो देख्न पाइयो। धनुषातिर मनीष झा आफू सहित ५–६ जना उम्मेदवारको मन्त्रिमण्डल नै घोषणा गर्दैथिए। डीपी अर्याल पनि आफू चुनावपछि कुन मन्त्री बन्ने भनेर तोक्दै भोट माग्दैथिए।

हे प्रभु; चुनाव फागुनमा छ, मन्त्री चाहिं माघमै तोक्न मिल्छ ? के हो योजना, के हो कार्यक्रम, कसरी प्राप्त हुन्छ त्यो डेलिभरी भनेर बहस गर्ने बेलामा मन्त्री तोक्दै हिंड्ने कस्तो थिति आइलाग्यो गाँठे !

रास्वपाका सभापति रवि लामिछानेले उपसभापति स्वर्णिम वाग्लेलाई बजेट लेख्न शुरु गर्नुस् भन्दासम्म मान्छेले खासै कुरो काटेनन्। अब डीपी अर्याल, मनीष झा, गणेश पराजुली लगायतले हामी यो मन्त्री बन्ने हो, भोट दिनुहोस् भन्दा मतदाता अक्क न बक्क पर्ने अवस्था आएकै हो। आएको छैन र ?

चुनाव किन लड्ने भन्दा मन्त्री बन्न। सांसद बनेर, राम्रो विधायक बनेर देशको नीति, थिति बसाल्ने कुरो कसैको छैन। सबका सबलाई यहाँ पावर चाहिएको छ। सत्तामा नपुगुन्जेल, संसद्‌मै मात्र अड्केर बसियो भने यो चुनाव लडेको अर्थै नहोला जस्तो गरी गरिब जनताको दिमाग भुट्ने काम भइरहेको छ।

चुनाव त विगतमा पनि आएको थियो, विशेषतासँगै विकृति पनि अनेक आएका थिए चुनावसँगै। तर यो हदको विकृत अवस्था यसअघि अपवाद बाहेक देख्न पाइएको थिएन।

२०७० सालको संविधानसभा चुनावको प्रसंग याद आयो। माओवादी छापामार दस्ताका उपप्रमुख नन्दकिशोर पुन ‘पासाङ’ काठमाडौं क्षेत्र नं ४ बाट लड्दै थिए। माओवादीले उनलाई भावी गृहमन्त्री भनेर खुब प्रचार गर्‍यो। पासाङले आफ्नै मतको सुरक्षा गर्न सकेनन्। उनी गृहमन्त्री बन्ने दिन कहिल्यै आएन।

राजनीति एकै दिनमा सिकिन्छ, बुझिन्छ भन्ने होइन। सिक्ने संस्कार भने चाहिन्छ। मतदातासँग मत माग्न जाँदा विनम्रता भन्ने चिज पनि साथै लिएर जानुपर्छ। अनि बाचा पनि ठिक्कको गरे हुन्छ। चुनाव आयो भन्दैमा असम्भव टाइपका बाचा गर्नैपर्छ भन्ने छैन। रास्वपाकै दुई नेता भए पनि रवि र बालेनलाई सँगै स्याङ्जा लगेर जाने बाचा असम्भव त होइन, महत्वाकांक्षी भने अवश्यै हो।

रवि र बालेनलाई एकसाथ मतदाताको घरमा ल्याइदिने जस्ता हास्यास्पद बाचामा नेपाल देशको मात्रै पेटेन्ट राइट भने लाग्दैन। यस्ता त कति छन्, कति। देउसीमा भन्छन् नि– यहाँ मात्रै होइन, संसारैभरि।

दुईवटा उदाहरण दिउँ– बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध सन् २०१७ मा चुनावी अभियान चलाउने क्रममा सांसद लर्ड बकेटहेडले प्रतिज्ञा गरे– कथंकदाचित आफूले सांसद जितेमा १० वर्षभन्दा मुनिका केटाकेटीले फ्रिमा एकसिंगे घोडा चढ्न पाउनेछन्।

कुनै बेला क्यानडाको राइनोसोरस पार्टीले प्रतिज्ञा गरेको थियो– फ्याट्ट आफ्नो पार्टीले जितेमा गुरुत्वाकर्षणको नियम नै खारेज गरिनेछ। एकपल्ट त शहरको पल्लो भाग अझै राम्रोसँग देख्न सकियोस् भनेर पहाड नै तीन फिट सारिदिने हावादारी बाचा समेत गरेको थियो यो पार्टीले। खैर, राइनोसोरस पार्टीका बाचा त रमाइलोका लागि थिए।

योभन्दा बढ्ता उदाहरण चाहिँ नदिउँ। नत्र यहाँ विदेशका राम्रा उदाहरण चाहिं नसिक्ने, हावादारी कुरा चाहिं उत्तिखेरै सिकिहाल्ने चलन बस्ला।

अब यसमा गम्भीर कुरो पनि गरुँ। घनश्याम भूसालले हामीसँग पछिल्लो कुराकानीमा भने जस्तै विज्ञान, इतिहास, तर्क, समाज सबैसँग बेखबर भएर कसरी राजनीति हुन्छ ? पुरानो खराब, नयाँ सबै राम्रो भनेर मात्रै कसरी हुन्छ ? हिजोका नेताहरूले समाजमा आक्रोश र घृणा आरोपित गरे भन्दैमा नयाँको नाममा जे पनि स्वीकार्य हुन्छ भन्ठानेको हो भने त्यो सर्वथा गलत हुनेछ।

अनुहार मात्रै नयाँ भएर हुँदैन, एजेन्डा र संस्कार पनि नयाँ हुनुपर्छ। यहाँ त चुनाव प्रचारका नाममा यस्तो अतिचार हुन थाल्यो कि ‘थाल खाउँ कि भात खाउँ’ भन्ने आपत् आइलाग्ला जस्तो भयो।

जेनजी आन्दोलनका कारण २०८४ मा हुनुपर्ने चुनाव २०८२ मै हुन लागिरहेको छ। आन्दोलनका अधिकांश अगुवा सडकमै छन्। युजन राजभण्डारीले अनलाइनखबरमा भने झैं– चुनावपछिका चुनौतीमय दिनहरूका लागि समेत खबरदारी गर्न ठूलो नवयुवा पंक्ति सडकमै रहने छ।

र, जेनजीका नाममा जो आफूलाई नयाँ दाबी गर्दै चुनावमा गइरहेका छन्, तीमध्ये थुप्रैको ताल भने कुखुरोलाई भोट माग्नेदेखि धनुष्टंकार आसन गर्नेसम्म छ। आम मान्छेको जीवनमा जोडिने गरी काम गर्ने उम्मेदवारहरूलाई सोसल मिडियाका भाइरल चटकेहरूले मात दिइरहेका छन्।

यस्तै उदेकलाग्दो अवस्था आउला भनेर हुनुपर्छ कवि विमल निभाले कुनै बेला एक सांसदको भावना झल्किने गरी कविता लेखेका थिए– आउने चुनावमा म आफैंलाई भोट दिने छैन।

हाम्रोमा मत दान भएको छ, अधिकार हुनै सकेको छैन। हामी रैती मात्रै छौं, नागरिक बन्नै सकेका छैनौं। त्यसैले हामीलाई जति पटमूर्ख बनाउन सकिन्छ, त्यति नै सफल भइन्छ भन्ने भ्रामक सोचले हाम्रा उम्मेदवार ग्रस्त छन्।

विगतमा केपी ओलीले कुस्मामा रेल पुर्‍याउने कुरो गर्दा थपडी बजाउने हातहरू अचेल यस्तै हावादारी नयाँ भर्सन पत्याउन लालायित छन्। आइन्दा हामी यसो नगरुँ ! चुनावमा त आफ्ना विचार र योजना भन्ने पो हो। चुनाव आउनु कहिले कहिले मन्त्री छान्नु अहिले !

यसरी भोट माग्ने कुनै विषय नपाएर गाउँ–गाउँमा मन्त्रिमण्डलको सूची सुनाउँदै हिंड्ने हो र ? चुनाव त लड्ने पो हो, चुनावकै अपहरण गर्न जाने हो र ?

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?