+
+
Shares
एस्प्रेसो :

कानून नलागे पनि लाज त लाग्नुपर्‍यो नि !

एक बारको जुनीमा सांसद चाहिं नभई नहुने हो र मन्त्रीजीहरू ? सांसद भइएन भने बाँचेकै अर्थ नहुने हो र ?

बसन्त बस्नेत बसन्त बस्नेत
२०८२ माघ ९ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महावीर अधिकारीले मन्त्री बन्ने र चुनाव लड्ने हतारले सत्ताशक्तिको लोभ देखाएको बताएका छन्।
  • कुलमान घिसिङ, जगदीश खरेल, बब्लु गुप्तासहित चार मन्त्रीले चुनाव लडेर आफ्नो स्वार्थ पूरा गरेको आरोप लागेको छ।
  • पत्रकार नारायण वाग्लेले नागरिक सरकारमा सहभागी भएर मत माग्नेहरूलाई 'लाज मात्र लाग्ने' बताएका छन्।

अस्ति भर्खरै त हो, स्याब्बास महावीर भनेर मैले एस्प्रेसो शट बनाएको। यिनले नमूना मन्त्री बनेर अरूलाई देखाउलान् भनेको, यिनै पो सांसद उठ्न म्याग्दी हिंडिदिए।

कुनै बेला यी महावीरले राष्ट्रिय आविष्कार केन्द्रका लागि सरकारसँग पैसो मागेथे। सरकारले पैसा दिन्छ, तर त्यसको व्यवस्थित लेखा परीक्षण हुनुपर्छ है भनेर अधिकारीहरूले भन्दा यिनलाई कहाँ खातापाता राखिरहने भन्ने शुद्ध लहडबाजी आयो। यिनलाई ऐन, नियमका नीतिगत अल्झोमा अल्झिन झ्याउ लाग्दा पनि नियत सही भएका मान्छे हुन्, गरुन् न त भन्ने धेरैलाई लागेथ्यो।

अब यिनै महावीरलाई आफ्नो क्षेत्रमा दबंग काम गरेर पुगेन। पछि सुशीला कार्की सरकारमा मन्त्री बन्नुपर्‍यो, सांसद बन्नुपर्‍यो। त्यसअघि यिनको किताब बेच्ने अभियान थियो, त्यो पनि आफ्नै जीवनी। कुनै बेला शिक्षक संगठनमा हिंडेका महावीरलाई राजनीतिको धीत मार्न पुगेकै रहेनछ भन्ने आज आएर प्रमाणित भयो। मन्त्रालयभित्र कवाज खेल्नेदेखि खोलाका माछालाई भाषण सुनाउने यिनका टिकटके स्टन्ट पनि कहीं न कहीं प्रसिद्धिको भोकसँग गएर जोडिंदा रहेछन्।

महावीर, कुलमान घिसिङ, जगदीश खरेल, बब्लु गुप्ता– यिनलाई मन्त्री बन्न जुन गतिको हतारो थियो, त्यति नै हतारो देखियो चुनाव लड्न। यी चार भाइले प्रमाणित गरिदिए, आगोको रापभन्दा धेरै तगडा हुन्छ सत्ताशक्तिको राप। यिनलाई चुनावै लड्नु थियो मन्त्री किन हुनु, मन्त्री हुनु थियो भने चुनाव किन लड्नु ?

अब यिनले हामीलाई सोध्लान्, के हामीले चाहिं लड्नै नपाउने हो त ? हरेक नेपाली नागरिकसँग संविधान, कानून बमोजिम चुन्ने चुनिने हक हुन्छ। तर यो संविधानसम्मत हकको उपयोग गर्दा लाजको दुरुपयोग गर्नुहुँदैन। यति बुझेर पनि बुझपचाउने यी मन्त्रीहरूलाई म के भनुँ ? चुनाव गराउनका लागि बनेको नागरिक सरकारकै मन्त्रीलाई चुनाव लडेर मन्त्री बन्ने लोभउपर मलाई सजिलो गरी व्याख्या गर्न आएन।

त्यसैले मैले सहारा लिएँ हाम्रो पूर्वीय दर्शनले देखाएका चारखाले लोभ: कामेष्णा, वित्तेष्णा, जीवेष्णा र यशेष्णाको व्याख्या उपर। कामेष्णा अर्थात् कामवासनाको मोह। वित्तेष्णा अर्थात् धेरै धन थुपार्ने मोह। जीवेष्णा अर्थात् अझै धेरै बाँचेर सुखसयल भोग्ने मोह। अब आयो यशेष्णा अर्थात् नाम, कीर्ति कमाउने मोह।

यो कुवा खनाएर भए पनि नाम कमाउने भानुभक्तकालीन घाँसीको देश नेपालमा यति बेला धेरैलाई सांसद उठ्नु परेको छ। सांसद उठेपछि चारचौरास आफ्नो बारेमा हल्लाखल्ला हुन्छ। देश बनाउने पहिलो पाइलो त्यही दिनबाट शुरु हुन्छ। यी, यसरी यो गरिब देश आफ्नै सांसदकालमा धनी बनाउने धङधङीबाट यी चार मन्त्री पनि टाढा बस्न सकेनन्। कुलमान बिजुली खरिदमा आफ्ना नांगा स्वार्थहरू मार्फत एक्सपोज भए। जगदीशका बारेमा धेरै नभनौं, चुनावी सरकारका दायित्व सम्झाउने उनका तीन महिनाअघिका भिडियो क्लिपहरूले आफैं धेरैथोक भनिरहेका छन्। बब्लु गुप्तालाई सांसद उठेकोमा शुभकामना दिने मन थियो, केही साताका लागि मन्त्री खान किन कुदे होलान् बुझ्न सकिएन।

बालेन, हर्क साम्पाङ, रेनु दाहाल लगायत स्थानीय पालिकाका प्रमुख, जसले कार्यकाल पूरा नगरी संघतर्फ उठ्न हिंडे। प्रश्न न उनीहरूकै बारेमा पनि गर्न सकिन्छ। तर चुन्ने चुनिने वातावरण बनाउन चुनावी सरकारमा गएका मन्त्री यसरी आफूलाई नै चुन्न कुदेको देखेर सुशीला कार्की, रामेश्वर खनाल, ओम अर्याल, अनिल सिन्हा आदिलाई चाहिं मान्नैपर्ने देखियो। के थाहा, सांसद उठिहेर्ने मन त तिनलाई पनि थियो कि ?

एक बारको जुनीमा सांसद चाहिं नभई नहुने हो र मन्त्रीजीहरू ? सांसद भइएन भने बाँचेकै अर्थ नहुने हो र ?

याद गर्नुहोला, चुनावपछि पनि जीवन छ। चुनाव त आउँछ जान्छ, तर तपाईं हाम्रो निष्ठा, मान प्रतिष्ठा भने एकपल्ट गएपछि फर्केर आउँदैन। आजभन्दा १० वर्षअघि सांसद भएकाहरूमध्ये आज कतिजना आफ्नो निष्ठामा टिकेका छन्, कतिचाहिं बिलाएर कहाँ हराइसके ? विश्वप्रकाश शर्मा, योगेश भट्टराई, सुमना श्रेष्ठ, विद्या भट्टराई जस्ता तीन वर्षअघि सांसद बनेका नेता यसपल्ट उम्मेदवार उठेनन्। हरेकपल्ट चुनावमा उठेपछि मात्रै सान्दर्भिक बनिराखिन्छ भन्ने धारणा गलत हो।

तर जगदीशलाई यो कुरा कसले बुझाइदिने ? टिभी टक शोको होस्ट हुँदा उनले सोधेका प्रश्नहरू आज उनी आफैंतिर फर्केका छन्।

पत्रकार नारायण वाग्लेले फेसबुकमा लेखेका छन्– बिहानसम्म स्वतन्त्र हुँ भन्दै नागरिक सरकारमा सहभागी हुने, बेलुकी नहुँदै फलानो पार्टीको हुँ भन्दै मत माग्न उम्मेदवारी दाखिल गर्नेहरूलाई कानून त लाग्दैन क्यार। लाज मात्र लाग्ने हो!

एउटा पुरानो कविता थियो, शृंगार कहीं यस्तो नहोस् कि युवती नै गायब होस्। यही कविता कोट्याउँदै मोदनाथ प्रश्रितले कुनै बेला लेखेका थिए– राजनीति कहीं यस्तो नहोस् कि सिद्धान्त नै गायब होस्। प्रश्रित समेतलाई कोट्याउँदै यहाँ भन्नुपर्ने हुन्छ, चुनाव कहीं यस्तो नहोस् कि मूल्यमान्यता नै गायब होस्।

कसो महावीरजी ? के भन्नुहुन्छ जगदीशजी ? अनि कुरो ठिकै होइन त कुलमानजी ? शायद यो कुरो त्यति गलत त हुँदै होइन, बब्लु गुप्ताजी।

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?