३ फागुन, काठमाडौं । उज्यालो नेपाल पार्टीले संघीय संसद र प्रदेशसभाका सांसदहरुको संख्या घटाउनेसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
आइतबार काठमाडौंमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ लगाएतका नेताहरुले चूनाव केन्द्रीत घोषणापत्र सार्वजनिक गरेका हुन् ।
उज्यालो नेपाल पार्टीको घोषणा पत्रमा नागरिकले समयमै सार्वजनिक सेवा पाउने, भ्रष्टाचारविरूद्ध उजुरी दिने र जवाफदेहिता खोज्ने हक संविधानमा मौलिक हकको रुपमा स्थापित गरिने उल्लेख छ ।
त्यस्तै प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट २०१ कायम तथा प्रदेशसभाको सदस्य संख्या पनि कटौती गरी ५५० बाट ३३० कायम गर्नका लागी प्रस्ताव गरिने, संघमा १५ मन्त्रालय र प्रदेशमा ५ देखि ७ मन्त्रालयमा सीमित गरी मन्त्रिमण्डलमा राज्यमन्त्री र सहायकमन्त्री नराख्ने व्यवस्थाका लागि पहल गरिने, प्रदेश सरकारको स्थायित्वका लागि प्रदेशका मूख्यमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था गर्नका लागि संविधान संशोधन गरिने उल्लेख छ ।
त्यसैगरि मतदातालाई लोकतान्त्रिक अभ्यासप्रति आकर्षण गर्न अन्य जिल्लामा रहेका मतदाताहरूले नजिकको मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था गरिने र मतदाताले विरोध मत दर्ता गर्न मतदान पत्रमा ‘कुनै पनि होइन’ भन्ने विकल्प रोज्ने व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ ।
त्यस्तै घोषणापत्रमा भ्रष्टाचारीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध लगाउनुका साथै निजको सम्पत्ति राष्ट्रियकरण गरिने उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलेले जानकारी दिए ।
अन्य दलजस्तै उज्यालो नेपालले पनि निशुल्क स्वास्थ्य, शिक्षा, सहज रुपमा रोजगारीको व्यवस्थालाई घोषणापत्रमा उल्लेख गरेको छ भने आगामी ५ वर्षभित्र ८ हजार कि.मि. कालोपत्रे, ४ हजार कि.मि. ग्राभेल र ३ हजार कि.मि. नयाँ ट्रयाक खोल्ने काम गरिने जनाएको छ ।
ऊर्जा क्षेत्रमा २०३० सम्म जलविद्युत उत्पादन १२ हजार मेगावाट र २०३५ सम्म २५ हजार मेगावाट पुर्याई भारत, बंगलादेश र चीनतर्फ निर्यात वृद्धि गर्ने, साथै जलविद्युत, जडीबुटी, सिमेन्ट, पर्यटन र आईटीलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता समेत गरिएको छ ।
प्रतिक्रिया 4