+
+
Shares

काठमाडौं उपत्यकामा उज्यालोका १५ उम्मेदवार, अभियन्तादेखि पर्यटन व्यवसायीसम्म

देशभरका १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये उज्यालोले काठमाडौं उपत्यकासहित देशभर १२० क्षेत्रमा उम्मेदवारी दिएको छ ।

दिनेश गौतम दिनेश गौतम
२०८२ माघ ७ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्यालो नेपाल पार्टीले काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ।
  • अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् र मन्त्रीबाट राजीनामा दिएका थिए।
  • पुस १२ मा रास्वपासँग पार्टी एकता गरेको उज्यालो पार्टीले १२ दिनपछि अलग भएको अध्यक्ष घिसिङले बताउनुभएको छ।

७ माघ, काठमाडौं । उज्यालो नेपाल पार्टीले काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् । उनी यो क्षेत्रमा २० वर्षदेखि बस्दै आएका छन् ।

घिसिङ निवर्तमान ऊर्जामन्त्री हुन् । चुनावमा सहभागी हुन उनले मन्त्रीबाट राजीनामा दिएका थिए । उनी विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत हुन् ।

प्राधिकरणमा ३० वर्ष बढी काम गरेका कुलमान दुई कार्यकाल निर्देशक भए । २०७३ सालमा लोडसेडिङ अन्त्य गरेकाले उनी चर्चामा आएका थिए ।

‘मेरो उम्मेदवारी सुशासन र सामाजिक न्यायको लागि हो । देशलाई समृद्ध बनाउन हो । क्षेत्र नम्बर ३ लाई बुझेको छु । यहाँको विकास गर्न मैले उम्मेदवारी दिएको हुँ,’ घिसिङले भने ।

उपाध्यक्ष जितराम लामाले भक्तपुर २ बाट उम्मेदवारी दिएका छन् । काभ्रे स्थायी घर भए पनि जितबहादुरले लामो समयदेखि भक्तपुरलाई कर्मथलो बनाएका छन् । ‘शिक्षा, स्वास्थ्य र खानेपानी, सरसफाइ र खुला दिसामुक्त क्षेत्र बनाउन काम गरेको छु । २० वर्षदेखि यही क्षेमा बसेको छु,’ उनले भने ।

उनी गैरसरकारी संस्था महासंघको अध्यक्षसमेत हुन् । एमाले छोडेर उनी उज्यालो नेपाल पार्टी निर्माणमा जुटेका हुन् ।

‘संसदमा भक्तर २ का समस्या, जनजीविकाका सवाल सशक्त रूपमा उठाउन उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, कृषि, प्रविधि, आर्थिक विकासमा योगदान दिने एजेन्डा छ । गरिब पिछडा वर्गको क्षेत्रको आवाजका लागि उम्मेदवारी दिएको छु ।’

काठमाडौं क्षेत्र नम्बर १ मा मंगलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनी सामाजिक अभियन्ता हुन् । काठमाडौं २ मा पवन पोखरेलले उम्मेदवारी दिएका छन् । उनी युवा व्यवसायी हुन् । उपाध्यक्ष लामाका अनुसार उनी अमेरिका छोडेर नेपालमा आएर पर्यटन व्यवसाय गरिरहेका छन् ।

काठमाडौं ४ बाट झनकबहादुर अधिकारीको उम्मेदवारी परेको छ । उनी निजी विद्यालय सञ्चालक हुन् । शिक्षा क्षेत्रमा काम गरिरहेका अधिकारी लामो समयदेखि कपनमा विद्यालय सञ्चालन गरिरहेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ मा श्रीराम गुरुङले उम्मेदवारी दिएका छन् । उनी २०७९ को चुनावमा पनि क्षेत्र नम्बर ५ बाट नै उम्मेदवारी दिएका थिए । उनी पर्यटन क्षेत्रमा आवद्ध छन् । वार्षिक ३५ लाख पर्यटक भित्र्याउन लक्ष्य लिएका उनले यसका लागि नीति बनाउन उम्मेदवारी दिएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ३ मा मंगलबार उम्मेदवारी दर्ता गराउँदै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ । फाइल तस्वीर ।

काठमाडौं क्षेत्र नम्बर ६ बाट वारिस धरेलले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष लामाका अनुसार धरेल पनि पर्यटन व्यवसायी हुन् । विदेशमा अध्ययन गरेर नेपालमै केही गर्छु भनेर फर्किएका जेनजी हुन्, उनी ।

काठमाडौं ७ मा विमला लामाले उम्मेदवारी दिएकी छन् । उनी महिला अधिकारकर्मी हुन् । उद्यममा महिलालाई अगाडि बढाउन उनले सहयोग गर्दै आएकी छन् ।

काठमाडौं क्षेत्र नम्बर ८ मा राजन खड्गीले उम्मेदवारी दिए । उनी सम्पदा बचाउ अभियानका अभियन्ता हुन् । काठमाडौं क्षेत्र नम्बर ९ मा उम्मेदवारी दिएका रामेश्वर श्रेष्ठ गत स्थानीय तहको चुनावमा काठमाडौं महानगरको उपप्रमुखको उम्मेदवार थिए । उनी एकीकृत समाजवादीबाट उज्यालो नेपाल पार्टीमा आएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर १० मा डा. राकेश न्यौपानेको उम्मेदवारी परेको छ । उनी गत चुनावमा लौरो अभियानमा जोडिएका थिए । यसपटक लौरो अभियान छोडेर उज्यालो अभियानमा जोडिएका हुन् ।

भक्तपुर क्षेत्र नम्बर १ मा  रमेश बल्लले उम्मेदवारी दिएका छन् । उनी पनि उद्यमी हुन् । ललितपुर क्षेत्र नम्बर १ मा पदम तामाङले उम्मेदवारी दिए । उनी जेनजी अभियन्ता हुन् । ललितपुर २ बाट राजाराम तण्डुकारले उम्मेदवारी दिएका छन् । उनी २०७२ देखि सामाजिक न्यायको आन्दोलनमा लागेका हुन् ।

‘साइकल अभियान, खोला मापदण्ड अभियान, गुठी विधेयक आन्दोलनमा सक्रिय भएर काम गरेको छु,’ उनले भने । ललितपुर क्षेत्र नम्बर ३ मा डा. आशुतोष विजय पन्तले उम्मेदवारी दिएका छन् । राजनीतिक सचेतना फैलाउने अभियानमा उनी संलग्न छन् ।

देशभरका १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये उज्यालोले काठमाडौं उपत्यकासहित देशभर १२० क्षेत्रमा उम्मेदवारी दिएको छ । पुस १२ मा रास्वपासँग पार्टी एकता गरेको उज्यालो १२ दिनपछि नै अलग भएको थियो ।

आफूले अत्यन्त लचकता अपनाएर एकता जोगाउने पटकपटक प्रयास गर्दा पनि रास्वपाले एकतर्फी रूपमा एकता भाँडेको अध्यक्ष कुलमान घिसिङले बताउँदै आएका छन् । समानुपातिक सूचीको बन्दसूची बुझाउने अन्तिम दिन रास्वपासँग एकता गरेकाले उज्यालो पार्टीले समानुपातिक सूची बुझाएको छैन । यसलाई घिसिङले उज्यालोे पार्टीको बिउ नै मास्ने नियोजित षड्यन्त्रको रूपमा अर्थ्याउने गरेका छन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?