२८ पुस, काठमाडौं । गत ११ साउनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरे ।
सरकारको आँखामा बिझाए पनि कुलमान त्यसबेला धेरैका लागि उज्यालोका नायक थिए । उनका कतिपय गलत कामलाई समेत नागरिकले नजरअन्दाज गर्दै आएका थिए ।
सरकारको नेतृत्वमा रहेर अलोकप्रियताको उचाइ नापिरहेका प्रधानमन्त्री ओलीले राम्रो काम गरिरहेका भनिएका कुलमानलाई हटाउँदा उनीप्रति आम सद्भाव झन् बढ्यो । ओली नेतृत्वको सरकारमाथि थप प्रश्नहरू उठे ।
जब कुलमान विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएर घर फर्किए । त्यति बेलादेखि नै पार्टी खोलेर राजनीति अघि बढाउनुपर्छ भन्ने सुझाव कुलमानलाई आफ्ना निकटस्थ र आफन्तहरूले दिन थाले ।
कुलमानले पार्टी गठन गर्नुअघि नागरिक क्षेत्रका अगुवाहरू डा. भगवान कोइराला, डा. सन्दुक रुइत, राजेश हमाल, कुलचन्द्र गौतम, मुक्तासिंह लामा लगायतसँग बसेर छलफल गरिरहेका थिए ।
उनी निकट नेताहरूले बताएअनुसार, कुलुमानको तयारी २०८४ सालको निर्वाचनका लागि थियो । पार्टी संगठनलाई विस्तारै अगाडि बढाउने र २०८४ सालको निर्वाचनमा पुराना दललाई विस्थापित गर्नेगरी वैकल्पिक शक्तिका रूपमा उदाउने उनको सपना थियो ।
त्यसका लागि कुलमानलाई प्रधानमन्त्रीको रूपमा घोषणा गरेर अघि बढ्ने र जनताले विश्वास गरेका ‘हेभिवेट’ मध्येबाट एक जनालाई अध्यक्ष बनाउने तयारी थियो । त्यस बेलासम्म उनीहरूमा रवि लामिछाने जेल भित्र रहने र रास्वपाले फेरि गति लिन नसक्ने आकलन थियो ।
तर, २३ र २४ भदौको जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक कोर्स परिवर्तन भयो । पुराना दलको शासनबाट विक्षिप्त भएका युवाहरूले अर्को चुनावसम्म पर्खिने र चुनावबाटै उनीहरूलाई हराउने धैर्य राख्न सकेनन् । अन्ततः कुलमान घिसिङ र उनको समूह जेनजी आन्दोलनलाई समर्थन गर्दै त्यही बाटोमा हिँड्नै पर्ने परिस्थितिमा आइपुग्यो ।
प्रतिनिधिसभा विघटन भएर नागरिक सरकार बन्ने भएपछि कुलमानलगायत नागरिक समाजका अगुवाहरू पनि त्यही सरकारलाई समर्थन गर्नुपर्ने पक्षमा पुगे । २४ असोजको तोडफोड र तहसनहसपछिको दौडधुपमा कुलमान स्वयंको नाम पनि प्रधानमन्त्रीका लागि अघि सारियो । जिम्मेवारी पाएमा प्रधानमन्त्री बन्ने अठोटमै थिए कुलमान पनि । तर जेनजीको रोजाइ र पुराना दलहरूको स्वीकृतिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नागरिक सरकारको प्रधानमन्त्री बनिन् उनी उक्त सरकारमा ऊर्जामन्त्री बने ।

उनी सुरूमा उपप्रधानमन्त्री बनेर सरकारमा जान चाहन्थे । अर्थमन्त्री रामेश्वर खनालले नागरिक सरकारमा उपप्रधानमन्त्री राख्दा गलत सन्देश जाने धारणा राखेपछि उनले दाबी छोडे । तर कुलमान जसै ऊर्जामन्त्री बनेर सिंहदरबार छिरे, उनले बनाउने भनेको उज्यालो नेपालको चिम त्यसैबेलादेखि मधुरो हुन सुरु भइसकेको थियो ।
कुलमान सरकारमा गएपछि उज्यालो नेपालमा जोडिएर राजनीति यात्रा थाल्ने भनिएकाहरू बिच्किए । उनले पनि सरकारमा रहँदाका करिब ३ महिना पार्टीलाई समय दिन सकेनन् । नत्र जेनजी आन्दोलन सुरु हुनुअघि नै देशव्यापी यात्रा गरेर पार्टी निर्माणका लागि एक किसिमको आधार तयार पारिसकेका थिए ।
कुलमानसमेत सम्मिलित सरकारले निर्वाचन घोषणा गरेर दल दर्ताका लागि आह्वान गरेपछि उनीहरूले पनि राजनीतिक दल दर्ता गर्नैपर्ने भयो । तर उनी सरकार छोडेर दलमा देखिने गरी सक्रिय हुन चाहेनन् । उनी दलमा सक्रिय हुन नचाहेपछि दल दर्ता गर्नेगरी सुरुमा संवादमा रहेकाहरू टाढिए । त्यसपछि सुरु भयो अध्यक्षको खोजी ।
कुलमानले सुरुमा मानवशास्त्री डा. मुक्तासिंह लामालाई पार्टीको अध्यक्ष बनाउने भनेर लागेका थिए । उनले लामालाई कन्भिन्स गर्न करिब २ साता कसरत गरे । लामा पनि पार्टी गठनका लागि सुरुवाती दिनदेखि नै सक्रिय थिए । आफू अध्यक्ष बने ‘जातीय पार्टी’ बन्न सक्ने भन्दै लामाले अध्यक्ष बन्न अस्वीकार गरेपछि अनुप उपाध्यायको अध्यक्षतामा पार्टी गठन गरियो ।
उपाध्याय ऊर्जासचिव हुँदा कुलमान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए भने त्यसबेला ऊर्जामन्त्री थिए, जनार्दन शर्मा । जतिबेला नेपाललाई लोडसेडिङ मुक्त घोषणा गरिएको थियो ।

गठनको दुई महिनामा उज्यालो नेपाल पार्टीले सबै प्रदेश र २६ वटा जिल्लामा आफ्नो संगठन विस्तार गर्यो । कतिपय ठाउँमा वडासम्मै संगठन विस्तार भइसकेको थियो । कोशी प्रदेशमा पहिचानको पक्षमा आन्दोलन गरिरहेकाहरू पनि उज्यालो पार्टीमा जोडिएका थिए । पहिचानवादी पक्षधरहरू पनि जोडिएपछि उज्यालो पार्टीले पार्टीको सिद्धान्त ‘बहुलसंस्कृतिवाद र राष्ट्रिय एकता’ र ‘सामुदायिक समाजवाद’ तय गर्यो । यसले पार्टीमा पहिलेदेखि नै जोडिएकाहरू झस्किए ।
‘विशेषगरी बहुलसंस्कृतिवादले के अर्थ दिन्छ भन्नेबारेमा हाम्रो चासो रह्यो,’ उज्यालो पार्टीका एक केन्द्रीय सदस्यले भने, ‘पहिचानवादीका पनि मुद्दा बोक्ने र नारा पनि विरोधाभाष तय गर्ने भएपछि हामी सुरुदेखि नै आइसोलेट जस्तै थियौं । रास्वपासँगको एकता र भंग भएपछि थप अलमलमा छौं ।’
अलमल अलमलकै बीचमा कुलमानको पार्टी उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबीच गत १४ पुसमा एकता भयो । उक्त एकता २६ पुसमा भाँडियो । जम्मा १२ दिन मात्रै टिकेको सातबुँदे सहमति टुट्नुको मुख्य कारण के हो त ? रास्वपा नेताहरूका अनुसार कुलमानले चाहिनेभन्दा धेरै माग गरेकाले एकता दिगो हुन नसकेको हो । उनले त रास्वपामा रहँदाको १२ दिनलाई आफ्नो जिन्दगीको सबैभन्दा सकसपूर्ण समय भनेका छन् ।
‘म आज अत्यन्तै मर्माहित भएको छु । यो अवस्था आउँछ भन्ने लागेको थिएन,’ कुलमानले भने, ‘यो १२ दिन मेरा लागि ठूलो बिलखबन्दमा, कता जाने भन्ने अन्योलमा भएको परिस्थिति, आगाडि बढौं भने उहाँहरू अघि बढ्न नदिने, पछि जाऔं भने आम नेपाली र जेनजी भाइबहिनीहरूको सपना पूरा गर्नका लागि पछि हट्न नमिल्ने अवस्था थियो,’ २६ गते पत्रकार सम्मेलन गरेर उनले भनेका थिए ।
उनले रास्वपासँग एकता गरेपछि आफूहरूलाई उक्त पार्टी भित्र हतोत्साही गरिएको टिप्पणी गरेका छन् । सुरुमा बालेन पक्षबाट रास्वपाको सहअध्यक्ष हुन कुलमानलाई प्रस्ताव गएको थियो ।

तर, रास्वपा सभापति रवि लामिछानेले अस्वीकार गरेपछि उनलाई उपसभापति दिने सहमति भयो । उपसभापति बरियताक्रममा अल्फाबेटअनुसार एक नम्बरमा राखिएपछि जिम्मेवारीका हिसाबले र रवि लामिछानेपछि उपसभापति डीपी अर्याल नै रहने लामिछानेले बताएपछि कुलमान थप निराश बने । यसमा उपसभापति अर्यालकै भूमिका धेरै रहेको उज्यालो नेपालको बुझाइ छ ।
आफूले पार्टी एकता भंग भएको खबर पनि उपाध्यक्ष डीपी अर्यालबाटै पाएको र त्यसपछि सभापति लामिछानेसँग सम्पर्क गर्न खोज्दा फोन समेत नउठाएको कुलमानको आरोप छ ।
रास्वपाको उपसभापति हुने भएपछि नागरिक सरकारमा बसिरहन नहुने भन्दै चौतर्फी आलोचना भयो । उनले २३ पुसमा मन्त्री पदबाट राजीनामा दिए । २६ पुसमा रास्वपासँगको एकता भंग भयो ।
कुलमान घिसिङले एकपछि अर्को प्रस्ताव ल्याएका कारण एकताले पूर्णता पाउन नसकेको रास्वपाको निष्कर्ष रहेको नेता शिशिर खनालले बताए ।
कुलमानले पार्टीको नयाँ नाम राख्नुपर्ने, आफूलाई वरिष्ठ उपसभापति बनाउनुपर्ने, निर्वाचन क्षेत्रको सिट बाँडफाँट गर्नुपर्ने, पार्टीका अन्य पदाधिकारीमा पनि आफ्नो पार्टीका नेतालाई नियुक्त गर्नुपर्नेलगायत प्रस्ताव ल्याएपछि एकता भङ्ग भएको उनको भनाइ छ ।
एकतासँगै वरिष्ठ उपसभापति, महामन्त्री, पदाधिकारी, थप सचिवालय सदस्य, केन्द्रीय सदस्य र निर्वाचन क्षेत्रसम्म बाँडफाँटको प्रस्ताव आएपछि एकतालाई पूर्णता दिन समस्या भएको नेता खनालको भनाइ छ ।
रास्वपाको केन्द्रीय समितिमा उज्यालो नेपालतिरका २१ जना माग गरिएकोमा १२ जनालाई मात्रै केन्द्रीय सदस्य दिइएको थियो । प्रतिनिधिसभा समानुपातिकतर्फ १४ जनाको नाम मात्र कुलमान पक्षबाट पर्ने भए ।
यसमा पनि कुलमान पक्षको असन्तुष्टि रह्यो ।
उज्यालो नेपालले सुरुमा ५१ सदस्यीय केन्द्रीय समिति बनाएको थियो । पछि बढाएर ९४ सदस्यीय बनायो । त्यसैले आफ्नो समूहलाई एकताबद्ध राख्न पनि कुलमानले २१ जना सदस्य माग्नु स्वाभाविक थियो । तर उनको त्यो माग पूरा भएन ।

सहमतिमा पार्टीको नाम, झन्डा र चुनाव चिह्न सबै रास्वपाले नै राख्ने उल्लेख थियो । त्यसले उज्यालो नेपालका लागि आफ्नै पहिचान जोगिने कुनै सुनिश्चितता भएन । यसले एकताभन्दा बढी विलयको सन्देश दियो । त्यसैले कुलमान पक्षले पार्टीको नाम फेर्ने प्रस्ताव पनि राखेको थियो । जुन कुरा रविका लागि स्वीकार्य भएन ।
तर, चुनावमा गइसकेको पार्टीको नाम फेर्न नसकिने भएकाले आफूले त्यो प्रस्ताव नगरेको कुलमानको दाबी छ । बरु ‘उज्यालो नेपालका लागि राष्ट्रिय स्वतन्त्र पार्टी’ भनेर चुनावी नारा तय गर्न आफूहरूले गरेको प्रस्ताव रास्वपा नेताहरूले स्वीकार नगरेको कुलमान पक्षधर नेताहरूको भनाइ छ ।
रास्वपासँगको एकता भाँडिएलगत्तै पार्टीलाई फेरि उठाउँछु भनेर आफैं अध्यक्ष बनेका कुलमानको पार्टीको बत्ति भने बल्नुअघि नै निभ्ने सम्भावना देखिएको छ । उनीसँगै रास्वपामा मिसिएकामध्ये कतिपय रास्वपामा बसिरहेका छन् भने केही अब के गर्ने भन्ने अलमलमा छन् ।
सरकारमा रहेर पार्टी खोल्दा कुलमानलाई जति घाटा भएको थियो, त्यो भन्दा धेरै घाटा रास्वपासँगको मिलन र बिछोडको श्रृंखलामा भएको छ । पार्टी निर्माणको बलियो आधार तयार पारे पनि सरकारमा सहभागी हुँदा कुलमानको आधार भत्कियो । बाँकी रहेका सहयात्री रास्वपासँगको एकता टुटेपछि छिन्नभिन्न भए ।
यद्यपि, आइतबार उनलाई भेट्न पुगेका केही नेताहरूले ढाढस दिँदै थिए- तपाईं एमडीबाट हटेपछि मन्त्री हुनुभयो । अब मन्त्रीबाट हटेपछि प्रधानमन्त्री बन्नुहुन्छ । यसलाई कुलमानले पनि अस्वीकार गरेका छैनन् ।
समानुपातिकतर्फको निर्वाचन लड्न नपाउने भएपछि कुलमान अन्य पार्टीसँग एकता वा तालमेल गरेर समानुपातिक मतसमेत सुरक्षित गर्ने प्रयासमा लागेका छन् । कुलमानको दलले राष्ट्रिय परिवर्तन पार्टीसँग मिलेर समानुपातिक सिट बाँडफाँट गरेको छ । तर यति टालटुल गरेका भरमा कुलमानलाई राजनीतिक ट्र्याक समाउन भने सहज देखिँदैन ।
प्रतिक्रिया 4