News Summary
Generated by OK AI. Editorially reviewed.- उज्यालो नेपाल पार्टी दर्ता हुँदा निर्वाचन आयोगमा पेस गरिएका करिब एक दर्जन केन्द्रीय सदस्यहरूले पार्टीमा नरहने निर्णय गरेका छन्।
- पूर्वसचिव अनूप उपाध्यायको नेतृत्वमा ५१ सदस्यीय समिति रहेको उज्यालो नेपाल र रास्वपा बीचको एकता गत शनिबार भंग गरिएको थियो।
- डा. विशाल भण्डारीले भने, 'वैकल्पिक शक्तिहरुको एक ठाउँमा हुनुपर्ने हाम्रो जोड छ' भन्दै उज्यालो नेपालमा नरहने निर्णय लिएका छन्।
१ माघ, काठमाडौं । उज्यालो नेपाल पार्टी दर्ता हुँदा निर्वाचन आयोगमा पेस गरिएका केन्द्रीय सदस्यमध्ये करिब एक दर्जन नेताहरूले उक्त पार्टीमा नरहने निर्णय गरेका छन् ।
निर्वाचन आयोगमा पूर्वसचिव अनूप उपाध्यायको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय समिति रहेको सूची पेस गरिएको थियो । उपाध्याय अध्यक्ष रहेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्ने निर्णय भएको थियो ।
दुई दलमा शक्ति बाँडफाँटमा कुरा नमिलेपछि गत शनिबार एकता भंग गरिएको थियो । एकता भंग भएसँगै उज्यालो नेपालको अध्यक्ष कुलमान घिसिङ हुने गरी पार्टी ब्युँताइएको छ ।
रास्वपासँगको एकता भंग गरे पनि कतिपय नेताहरु पूर्ववत रुपमा उज्यालो नेपालमा फर्कन इन्कार गरेका छन् । डा. तारा जोशी, डा. विशाल भण्डारी, डा. अभिषेक सिंह, डा. सागर ढकाल, डा.घनश्याम पाण्डे उज्यालो नेपालमा फर्कन तयार भएनन् ।
विवेकशील साझाको पृष्ठभूमि रहेका निर्देश सिलवाल र सञ्जिव भट्टराई उज्यालो नेपालमा आवद्ध नहुने जानकारी गराइएको छ । रास्वपाको समानुपातिक तर्फको बन्द सूचीमा रहेकी रिमा विश्वकर्मा पनि उज्यालोमा नफर्कने निर्णय गरेकी छन् ।
तत्कालीन केन्द्रीय सदस्य डा. विशाल भण्डारीले उज्यालो नेपालमा नरहने निर्णय लिएको जानकारी गराए । भण्डारीले अनलाइनखबरसँग भने,‘वैकल्पिक शक्तिहरुको एक ठाउँमा हुनुपर्ने हाम्रो जोड छ । नयाँ शक्तिहरु नमिल्ने हो भने अस्थिरता यथावत् रहन्छ ।’
प्रतिक्रिया 4