३ फागुन, काठमाडौं । ३० वर्षे निरंकुश पञ्चायतकालीन राजनीतिक इतिहासमा मुख्यरुपमा तीन पात्रको चर्चा हुनेगर्छ-राजा महेन्द्र, तुलसी गिरी र विश्वबन्धु थापा ।
महेन्द्र निरंकुश व्यवस्थाका नेतृत्वकर्ता थिए । तुलसी गिरी व्यवस्थाका डिजाइनर उनलाई ‘पञ्चायतकी आमा’ भनेर पनि राजनीतिक बृत्तमा चिनिन्छ । अर्का पात्र विश्वबन्धु थापालाई चाहिँ ‘पञ्चायत’ नाम न्वारान गरेको जस दिइन्छ । पञ्चायती व्यवस्थाका तिनै ‘पुरेत’ विश्वबन्धुको ९८ वर्षको उमेर शनिबार अवसान भएको छ ।
पञ्चायती व्यवस्थाका तीन हस्ती मध्येका विश्वबन्धु, राणा शासन, पञ्चायती शासन, संसदीय प्रजातन्त्र र गणतन्त्र गरी वटा शासन व्यवस्थाका साक्षी थिए ।
प्रजातन्त्र र पञ्चायत, दरबार र दल, क्रान्ति र ‘कू’ थापाको जीवन कथामा जोडिएर आउँछ ।
पञ्चायती र प्रजातान्त्रिक इतिहासका मोडहरूमा, उनी कहिले केन्द्रमा रहे, कहिले किनारमा । कहिले विश्वासपात्र त कहिले विवादास्पद ।
थापा बीपी कोइरालाको छत्रछायामा हुर्के बढे । राजनीतिक रुपमा दिक्षित भए । अनि राजा महेन्द्रका सहयोगी बनेर पञ्चायतमा हालिमुहाली पनि गरे ।
तर, उनलाई चिन्नेहरू पञ्चायतभित्रका पनि प्रजातान्त्रवादी चरित्र भएका व्यक्तिको रुपमा बुझ्छन् । ‘उहाँ पञ्चायत व्यवस्थामा भएपनि प्रजातान्त्रिक विचारधारा राख्नुहुन्थ्यो,’ राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी भन्छन्,’राजाको नेतृत्व आवश्यक भए पनि प्रजातान्त्रिकरण गरेर जनतालाई समेटेर जाने धारणा उहाँले राख्नु हुन्थ्यो ।’
सैन्य तालिम लिएर क्रान्तिमा
२४ भदौ १९८४ मा जन्मेका विश्वबन्धु थापाको शुरुवाती राजनीतिक इतिहास कांग्रेस र बीपीको सानिध्यसँग जोडिन्छ । उनी २००७ सालको राणाशासनविरोधी क्रान्तिमा पनि सहभागी भएका व्यक्ति हुन् ।
चन्द्र शमशेरका पालामा निर्वासनमा गएका उनका बुबालाई जुद्ध शमशेरले माफी दिएपछि विराटनगर आउँदा विश्वबन्धु ६ वर्षका थिए ।
विराटनगरको आदर्श विद्यालयमा पढेर २००१ सालमा मेट्रिक उत्तीर्ण गरेपछि उनी थप अध्ययनका लागि बनारस गएका थिए । त्यहीँबाट उनको राजनीतिक यात्रा प्रारम्भ भएको थियो ।
उनले आफ्ना संस्मरणमा भनेका छन्,’काशी हिन्दु विश्वविद्यालमा पढ्ने बेलामा मनमोहन अधिकारी लगायतसँगको संगतले कम्युनिष्ट पार्टीतर्फ आकर्षित भएँ । विद्यार्थीलाई दिइने पारा मिलिटिरी तालिम पनि लिएँ । प्रशिक्षणहरूमा सहभागी भएँ ।’
कम्युनिस्ट पार्टीतर्फ आकर्षित भएर सैन्य तालिम समेत लिएका थापालाई समाजवादी कित्तामा ल्याउने व्यक्ति थिए- बीपी कोइराला ।
बीपीले कम्युनिष्ट पार्टीमा होइन, समाजवादी पार्टीमा लाग्नुपर्छ भन्दै उनलाई काशी हिन्दु विश्वविद्यालयका भाइस चान्सलर आचार्य नरेन्द्र देव र प्राध्यापक मुकुट बिहारीलाई पत्र नै लेखिदिए । त्यही कारण उनी समाजवादी कित्तामा मोडिए ।

‘बीपी कोइरालाले एक दिन पार्टी खोल्ने विषयमा सल्लाह गर्नुभयो । हामीले पनि हुन्छ भन्यौं’ थापाले भनेका थिए । यही मोडबाट २००३ सालमा राष्ट्रिय कांग्रेस पार्टी स्थापना भयो जसको सदस्य थापा पनि भए ।
पार्टी खोलेपछि राणा विरोधी पर्चा छर्ने योजना बन्यो । त्यसका लागि थापा र सरोज कोइराला पर्चा बोकेर जोगवनीबाट विराटनगर छिर्दा पक्राउ परे । चार महिना जेल बसे ।
सुवर्ण शमसेरको प्रजातान्त्रिक कांग्रेस र राष्ट्रिय कांग्रेस मिलेर २७ चैत २००६ सालमा नेपाली कांग्रेस बनेपछि उनको पार्टी कामको क्षेत्र विराटनगर थियो । स्वयंसेवक अखडा, सरकारी अड्डा नियन्त्रण, हतियार व्यवस्थापन सबैमा उनी सक्रिय रहे ।
नेपाली कांग्रेस बनेपछि आन्दोलनले सशस्त्र रूप लियो । राजा त्रिभुवन दरबार छोडेर भारतीय दूतावास पुगे, र क्रान्ति दिल्ली सम्झौतामा टुंगियो । यही सम्झौता र त्यसपछि देखिएको सत्ता–समीकरणमा दाजुभाइ मातृकाप्रसाद कोइराला र बीपीबीच दरार बढायो । यो दरारमा विश्वबन्धु सधैं बीपीतिरै उभिए ।
राणाशासन हटाउने क्रममा कांग्रेसले गरेको क्रान्तिको केन्द्र विराटनगर थियो । त्यहाँ क्रान्तिकारीहरूले आफ्नै शासकीय संरचनाहरू जस्तो बनाएर काम गर्थे ।
त्यो बेलाको जिम्मेवारीबारे उल्लेख गर्दै थापाले आफ्नो संस्मरणमा भनेका छन्- २००७ सालको क्रान्तिमा म विराटनगरमा गृहमन्त्री थिएँ । केशवप्रसाद कोइराला गभर्नर हुनुहुन्थ्यो ।’
कांग्रेसका महामन्त्री, पहिलो संसद्मा प्रमुख सचेतक
२४ पुस २००७ सालमा कांग्रेस, राजा र राणाबीचमा दिल्लीमा त्रिपक्षीय सम्झौतापछि प्रजातन्त्र स्थापना भयो । त्यसपछि थापा कांग्रेसको केन्द्रीय सदस्य बने ।
२०१२ सालमा वीरगन्जमा कांग्रेसको सम्मेलन भयो । सुवर्ण शमशेर सभापति भएपछि सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंह महामन्त्री बनेका थिए । डा. तुलसी गिरी र थापा सहमहामन्त्री थिए । तर जब सुवर्णसम्शेरले नेतृत्व छोडेर बीपीलाई सुम्पे त्यो बेला थापा र तुल्सी गिरी बीपीका प्रिय थिए । उनीहरू दुवैलाई बीपीले महामन्त्री बनाए ।
२०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ ७४ सिट जित्यो । विश्वबन्धु चितवनबाट निर्वाचित भए र संसदीय दलका प्रमुख सचेतक बने ।
निर्वाचित भएपछि मन्त्री बन्न चाहन्थे, तर बीपीले उनलाई संसदीय अनुशासन सम्हाल्ने जिम्मा थिए । यही समय राजा महेन्द्रसँग उनको भेटघाट बाक्लिन थाल्यो । राजाले उनलाई नजिक बनाउन थाले ।
राजासँग नजिकिन थालेपछि नै उनलाई थाहा हुँदै थियो महेन्द्रलाई यो व्यवस्था ठीक लागिरहेको छैन । तर उनी कांग्रेसमै बसेर राजाको सहयोगी बनिरहेको उनका भनाईहरूबाट बुझ्न सकिन्छ ।
उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘ म संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क गएको थिएँ । जानुअघि मैले महेन्द्रलाई–म नआउन्जेल केही पनि नगर्नु भनेको थिएँ । पछि मलाई भने तिमीले भनेको कुरा मैले बुझे पनि बाध्यताले तत्कालै यो कदम लिनुपर्यो ।’
आफू विदेशमा रहेको बेलामा राजाले कदम चाले भन्ने विषयमा उनको असन्तुष्टी रहेछ । तर राजालाई यो दिशातर्फ जान गिरी र उनले नै सहयोग गरेका थिए ।
विश्वबन्धुले छोडेर हिँडेकोप्रति बीपीले भनेका थिए- डा. गिरीले धोका दिएको बुझ्न सक्छु, तर विश्वबन्धुले किन त्यसो गर्यो, ठम्याउन कठिन छ।’
राजाले व्यवस्था परिवर्तन गरेपनि पञ्चायती व्यवस्थाको नामकरणदेखि सबै कामकाज उनीहरूले नै गरेका थिए । पञ्चायतकालमा थापा राष्ट्रिय पञ्चायतको अध्यक्ष, गाउँ फर्क राष्ट्रिय अभियानको प्रमुख बने ।
बीपीकहाँ टीका लगाउँदा पञ्चायतको किनारा
राजाका विश्वासपात्र विश्वबन्धुका लागि २०३४ सालको दशैंपछि फरक कित्तामा उभिने स्थिति बन्यो । बीपीकै छत्रछायामा हुर्केका विश्वबन्धु उक्त सालको दशैमा बीपीकहाँ टिका लगाउन गएका थिए ।
‘यो विषय दरबारसम्म पुगेछ । एकथरी पञ्चहरू मेरो विरुद्ध के निहुँ पाउँ कनिका बुकाउँ भनेर बसेका थिए । ०३५ सालमा गाउँ फर्क राष्ट्रिय अभियानको अध्यक्षबाट पनि राजीनामा दिएँ’ उनले भनेका थिए ।
बीपीकहाँ टीका लगाउन गएको घटनाले पञ्चायतभित्रै उनको आधार कमजोर बनायो। अन्ततः उनले पद त्यागे ।
२०३६ सालको जनमत संग्रह भने पञ्चायती शासनकालको महत्वपूर्ण घटना थियो । उक्त जनमत संग्रह गर्नुपर्ने अवस्थामा पुर्याउने तत्कालीन विद्यार्थी आन्दोलनका नेता टंक कार्की भन्छन्,’ उनी दक्षिणपन्थी धारका भए पनि प्रजातन्त्रप्रति पनि प्रतिबद्ता राखेका राखेका थिए ।

थापाले २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्ष लिएका थिए । उनको यही पक्षधरताका कारण उनलाई पञ्चायतीहरूले बक्रदृष्टिमा राखे । त्यसपछि थापा फेरि २०३७ सालमा कांग्रेसमै फर्किए । तर कांग्रेससँगको उनको सानिध्यता लामो रहेन । बीपीको निधनपछि उनी निष्क्रिय भए । त्यसैले पञ्चायतको उत्तरार्धमा न उनी पञ्चायतका प्रिय रहे, न कांग्रेसका पूर्ण विश्वासपात्र ।
‘तुलसी गिरीजस्ता कट्टर थिएनन् उनलाई पञ्चायतभित्रका मोडरेट व्यक्तिको रुपमा लिन सकिन्छ’ नेता कार्की भन्छन् ।
२०४७ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि उनी पञ्चहरूले खोलेको पार्टी राप्रपामा सहभागी भए । राप्रपाको शीर्ष तहमा रहे पनि उनी सत्तातर्फचाहिँ फर्केनन् । जबकी उनका समकालीनहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने । प्रजातान्त्रिक शासनकालमा पनि उनीहरू सत्ताका खेलाडी रहे । थापा भने यो चक्करमा लागेनन् ।
बेबी किङको प्रसंग
२०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले फेरि शासनसत्ता हातमा लिएपछि राजनीतिक दलहरू राजतन्त्र हटाउने अभियानमा लागेका थिए । तर मुख्य दल नेपाली कांग्रेस राजतन्त्र हटाएर गणतन्त्रमा जाने कि नजाने भन्ने द्विधाको अवस्थामै थियो । नरहरि आचार्य, गगन थापा जस्ता नेताहरूले गणतन्त्रमा जानुपर्छ भन्दै कांग्रेसभित्र बहस छेडिसकेका थिए ।
त्यो बेलामा तत्कालीन सभापति गिरिजाप्रासद कोइरालाले ‘बेबी किङ’ को विचार ल्याएका थिए । ‘बेबी किंग’ ज्ञानेन्द्रको निरन्तरता रहे राजतन्त्र जोगिन्न तर उनका नाती हृदयेन्द्रलाई राजा बनाए राजतन्त्र जोगिन्छ भन्ने अवधारणा हो ।
गिरिजाबाट बेबी किङको अवधारणा बाहिर ल्याउन सुझाव दिने मध्येको एक आफू पनि भएको थापाले आफ्नो अन्तर्वार्ताहरूमा दाबी गरेका छन् ।
उनले बताएअनुसार ज्ञानेन्द्रले बेलाबेलामा उनलाई दरबारमा बोलाइराख्थे । त्यही क्रममा उनले एकदिन आफ्नो कुरा राख्छु भनेर ज्ञानेन्द्रलाई भने । ‘सरकारले राजीनामा गरिबक्सियोस् र नाति हृदयेन्द्रलाई राजा बनाउनुपर्छ, हृदयेन्द्रलाई भारतले पनि स्वीकार्छ । किनभने, हृदयेन्द्र भारतको नाती हो । हृदयेन्द्रलाई राजा बनाउँदा नेपालमा मेरो मान्छे छ भनेर भारत ढुक्क भएर बस्छ । नत्रभने जहिले पनि उसले हामीलाई दुःख दिन्छ भनेको थिएँ । तर, ज्ञानेन्द्रले मानेनन्’ थापाले भनेका छन् ।
ज्ञानेन्द्रले यो नमानेपछि थापाले गिरिजाप्रसाद कोइरालालाई यो प्रस्ताव अघि बढाए । यो कुरा गिरिजाले विराटनगर गएर बेबी किङको चाहिन्छ भनेर बोले ।
गिरिजाले यो कुरा बोलेपछि थापाको फेरि ज्ञानेन्द्रसँग भेट भएको थियो । ‘प्रधानमन्त्रीले पनि बोल्नुभयो, गरिदिनुस् राजीनामा भनेको, ज्ञानेन्द्रले काठमाडौंमा भनेन बिराटनगरमा मात्रै भन्यो, छोड्देउ यी कुरा’ भनेपछि बेबी किङको च्याप्टर बन्द भएको थियो ।
प्रजातन्त्रलाई भ्रष्टाचार र पञ्चायतलाई शक्तिको उन्मादले बिगारेको भन्ने उनको मूल्याङ्कन थियो । दुई व्यवस्थाको साक्षी मात्र होइन, सहभागी समेत भएका थापा नायक थिए कि प्रतिनायक ? यसको मुल्यांकन त सबैले आ-आफ्नै तरिकाले गर्लान् । तर, राप्रपा नेता लोहनी भन्छन्- ‘उहाँ चारित्रिक शुद्धता भएको राष्ट्रवादी नेता हो । गाउँमा विकास पुग्नुपर्छ भन्ने, साझा सहकारी जस्ता अवधारणा ल्याएर जनतालाई नयाँ पुँजीगत सम्पतिमा अंशियार बनाउनुपर्छ भन्ने उहाँको विचार जनमुखी थियो ।’
प्रतिक्रिया 4