News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक निश्चल बस्नेतले दुई वर्षअघि हलमा रिलिज भएको फिल्म ‘दिमाग खराब’ १० दिनअघि युट्युबमा रिलिज गरेका छन्।
- फिल्मले सामान्य युवा इन्द्रको राजनीतिक संघर्ष र स्थानीय मेयरसँगको ठगी प्रकरणलाई कथाको केन्द्रमा राखेको छ।
- डिजिटल रिलिजपछि फिल्मले चुनावी राजनीतिसँग सम्बन्धित सामाजिक सन्देश र नागरिक दृष्टिकोणबाट राजनीतिक बहस सुरु गरेको छ।
काठमाडौं । २ वर्षअघि हलमा रिलिज भएको फिल्म ‘दिमाग खराब’ लाई निर्देशक निश्चल बस्नेतले १० दिनअघि मात्र युट्युबमा रिलिज गरिदिए । हलमा यसले प्रदर्शनको सय दिन पनि मनाइसकेको छ ।
यो समाचार लेख्दासम्म फिल्मलाई ४६ लाखभन्दा धेरै पटक हेरिएको छ । यो फिल्मलाई निश्चलले यस्तो समयमा युट्युबमा रिलिज गरिदिएका छन्, जतिबेला मुलुक प्रतिनिधिसभा निर्वाचनको संघारमा छ ।
समय र सन्दर्भको हिसाबले फिल्मको युट्युब रिलिज निकै अर्थपूर्ण देखिन्छ । ‘टाइम एन्ड स्पेस’ आफैमा एक जवाफ समेत हो । यस्तोमा, यो फिल्मको इन्टरनेट रिलिज पछाडि ‘इलेक्सन फ्याक्टर’ जोडिन आउँछ ।
डिजिटल प्लेटफर्ममा आएको फिल्मले दर्शकमाझ यसको कथा र राजनीतिक सन्देशबारे नयाँ बहस सुरु गरेको छ ।
कथाको केन्द्र :
फिल्मको केन्द्रमा इन्द्र नामका सामान्य युवाको कथा छ, जसले विदेश जाने सपना बोकेका हुन्छन् । तर शक्तिशाली स्थानीय मेयरसँग जोडिएको ठगी प्रकरणका कारण उनको योजना भत्किन्छ । यही घटनाले उनको जीवनमा ठूलो मोड ल्याउँछ ।
अन्याय र भ्रष्टाचारको सामना गरेपछि इन्द्र प्रणालीविरुद्ध उभिने निर्णय गर्छन् र अन्ततः आफैं चुनाव लड्ने बाटो रोज्छन् । कथा उनको व्यक्तिगत संघर्ष, परिवारमाथि परेको प्रभाव र राजनीतिक यात्रासँगै अघि बढ्छ ।
चुनावी राजनीतिसँगको सम्बन्ध
फिल्मले स्थानीय तहको चुनावी वातावरणलाई नजिकबाट देखाउँछ । शक्तिको दुरुपयोग, पैसाको प्रभाव, डर र दबाबजस्ता पक्षहरू कथामा प्रमुख रूपमा प्रस्तुत छन् ।
यसले चुनावलाई केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई नागरिकको दैनिकीसँग जोडिएको विषयका रूपमा देखाउँछ । रोजगारी, वैदेशिक रोजगारीको सपना र सामाजिक असुरक्षाजस्ता मुद्दा कथासँगै अघि बढ्छन्, जसले नेपाली मतदाताको वास्तविक अनुभव झल्काउँछ र
वैकल्पिक राजनीतिबारे सन्देश
फिल्मको मुख्य धारणा भनेको ‘साधारण नागरिक पनि परिवर्तनको चालक बन्न सक्छ’ भन्ने हो । इन्द्रको उम्मेदवारी परम्परागत दल बाहिरको आवाजको प्रतीकका रूपमा देखाइएको छ ।
समुदायको साथ, जनसमर्थन र प्रणालीमाथिको प्रश्नमार्फत फिल्मले वैकल्पिक राजनीतिप्रतिको आशा र निराशा दुवै पक्षलाई चित्रण गर्छ ।
अहिले किन सान्दर्भिक ?
डिजिटल रिलिजपछि फिल्म फेरि चर्चामा आउनुको कारण यसको विषयवस्तु अहिलेको राजनीतिक बहससँग मेल खानु हो । सुशासन, जवाफदेहिता र नयाँ नेतृत्वबारे भइरहेका छलफलबीच फिल्मले नागरिक दृष्टिकोणबाट राजनीति बुझ्ने प्रयास गरेको देखिन्छ ।
समग्रमा, ‘दिमाग खराब’ मनोरञ्जनसँगै सामाजिक टिप्पणी गर्ने फिल्मका रूपमा उभिन्छ । कथा व्यक्तिगत पीडाबाट सुरु भएर चुनावी प्रतिस्पर्धासम्म पुग्छ र अन्ततः राजनीति नागरिक जीवनसँग कति गहिरो रूपमा जोडिएको छ भन्ने सन्देश दिन्छ ।
रौनक विक्रम कँडेलले निर्माण गरेको फिल्ममा बस्नेत निर्देशकको रुपमा छन् । खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का, विजय बराल, सुमन कार्की, पुस्कर गुरुङ, माओत्से गुरुङको यसमा शीर्ष भूमिका छ ।
युट्युबमा कस्ता प्रतिक्रिया छन् ?
यो फिल्मलाई लिएर युट्युबमा धेरैले मिश्रित प्रतिक्रिया व्यक्त गरिरहेका छन् । ‘इम्प्लस’ नामक प्रयोगकर्ता लेख्छन्, ‘चुनावको मुखैमा यो फिल्म राखेर पुराना नेताको सास सुकाएकोमा धन्यवाद ।’
रियाना नामक प्रयोगकर्ता लेख्छिन्, ‘मूभी हेर्दाहेर्दै रुन पुगेछु । यो केवल एउटा फिल्म मात्र होइन । यो नेपालको एउटा यथार्थ चित्रण हो ।’
अमृत आरम्भ लेख्छन्- होइन, निश्चल बस्नेत ज्यूले यो फिल्म बनाउने बेलामा भविष्यवाणी गरेर बनाउनुभएको हो कि क्या हो ? अहिलेको माहोलसँग ठ्याक्कै मिल्छ त ।’
सुनिल घिमिरे लेख्छन्, ‘यो फिल्मको कथा अहिलेको देशको परिस्थितिसँग लगभग मेल खाएको छ, देशको अन्तिम परिणाम पनि यही फिल्मको जस्तै ल्याउनु पर्छ । समय यही हो- आउनुहोस्, सबै मिलेर परिवर्तन ल्याऔं ।’
प्रतिक्रिया 4