News Summary
Generated by OK AI. Editorially reviewed.- इन्डो-नेपाल ट्रेड फेस्टिभलको दोस्रो सत्र २० देखि २२ फेब्रुअरीसम्म नयाँ दिल्लीमा आयोजना हुँदैछ।
- महोत्सवमा जलविद्युत्, पर्यटन, बैंकिङ, फिनटेक लगायत १० भन्दा बढी उच्चस्तरीय सत्र र ६० भन्दा बढी विज्ञ सहभागी हुनेछन्।
- ईसीसीआईको आयोजनामा नेपाल र भारतबीच व्यापार, पर्यटन, संस्कृति र नवप्रवर्तनमार्फत द्विपक्षीय सहकार्य सुदृढ गर्ने लक्ष्य राखिएको छ।
५ फागुन, काठमाडौं । ‘इन्डो-नेपाल ट्रेड फेस्टिभल’ को दोस्रो सत्र २० देखि २२ फेब्रुअरीसम्म भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुँदैछ ।
महोत्सव उद्घाटन सत्रमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, भारतका पर्यटनमन्त्री गजेन्द्रसिंह शेखावत, केन्द्रीय सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धिया, नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकाल लगायत सहभागी हुनेछन् ।
पहिलो संस्करणको उल्लेखनीय सफलतापछि यो फेस्टिभल भारत-नेपालबीच द्विपक्षीय आर्थिक सहकार्य, पर्यटन एकीकरण, सांस्कृतिक आदान-प्रदान तथा लगानी साझेदारी सुदृढ गर्ने प्रमुख मञ्चका रूपमा स्थापित भएको आयोजकको भनाइ छ ।
यस पटक महोत्सवमा जलविद्युत् तथा ऊर्जा साझेदारी, सीमापार व्यापार तथा कनेक्टिभिटी, रामायण र बौद्ध सर्किट सहित पर्यटन एकीकरण, बैंकिङ, फिनटेक तथा डिजिटल अर्थतन्त्र सहकार्य, मिडिया तथा सांस्कृतिक कूटनीति, युवा सहभागिता, शिक्षा तथा नवप्रवर्तन साझेदारी, स्टार्टअप इकोसिस्टम तथा इन्डो-नेपाल सहकार्यको ‘भिजन २०३०’ लगायत विषयमा विभिन्न १० भन्दा बढी उच्चस्तरीय सत्र तथा नीतिगत संवादमा ६० भन्दा धेरै विज्ञ सहभागी हुनेछा् ।
व्यावसायिक नेटवर्किङ कार्यक्रम तथा नीतिनिर्माता, मन्त्री, कूटनीतिज्ञ, उद्योगी-व्यवसायी, लगानीकर्ता र उद्यमीबीच बीटुबी तथा बीटुजी बैठक आयोजना गरिने समेत आयोजकले बताएको छ ।
यी सत्रले दुवै देशका विज्ञ, नीतिनिर्माता तथा उद्योग क्षेत्रका सरोकारवालालाई साझा विकास र दिगो क्षेत्रीय सहकार्यका नयाँ अवसर खोज्न एकै मञ्चमा ल्याउने विश्वास आयोजकको छ ।
दिल्लीस्थित पीएडी चेम्बर भवनमा आयोजना हुने महोत्सवमा व्यवसाय तथा नीतिगत छलफलसँगै महोत्सवमा नेपालको समृद्ध सांस्कृतिक सम्पदालाई सांगीतिक कार्यक्रम, चलचित्र प्रदर्शन, परम्परागत कला तथा प्रामाणिक नेपाली परिकार मार्फत प्रस्तुत गरिने भएको छ ।
महोत्सवमा भारत र नेपालका ६० भन्दा बढी स्टल हुनेछन् । महोत्सवलाइ २५ हजार बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
मंगलबार दिल्लीस्थित प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा ईसीसीआई अध्यक्ष युवराज बरालले फेस्टिभलबारे जानकारी गराउँदै इन्डो–नेपाल ट्रेड फेस्टिभल व्यापार, पर्यटन, संस्कृति र नवप्रवर्तन मार्फत द्विपक्षीय सहकार्य सुदृढ गर्ने परिवर्तनकारी मञ्चका रूपमा परिकल्पना गरिएको बताए ।
‘नेपाल र भारतबीच विभिन्न क्षेत्रमा अर्थपूर्ण साझेदारी निर्माण गर्न, लगानी अवसर विस्तार गर्न तथा भारत–नेपालबीचको ऐतिहासिक मित्रता अझ गहिरो बनाउन महोत्सवले थप मदत गर्ने छ,’ उनले भने, ‘यो ऐतिहासिक द्विपक्षीय कार्यक्रमले भारत-नेपाल आर्थिक कूटनीति थप सुदृढ गर्दै दीर्घकालीन क्षेत्रीय सहकार्य प्रवर्द्धन गर्ने छ ।’
भारतमा रहेका नेपाली उद्योगी-व्यवसायीको छाता संगठन एभरेस्ट चेम्बर अफ कमर्स (ईसीसीआई) को मुख्य आयोजना, नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड तथा व्यापार तथा प्रवर्द्धन केन्द्रको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको हो ।
सन् २००८ मा स्थापना भएको ईसीसीआईमा भारतका विभिन्न क्षेत्रका ८ सयभन्दा बढी उद्योगी–व्यवसायी सदस्य छन् ।
प्रतिक्रिया 4