+
+
Shares

आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ: गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १७:१४

६ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् ।

बुधबार निर्वाचनको तयारीसम्बन्धी विषयमा काठमाडौँको निर्वाचन क्षेत्र नम्बर-३, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् ।

नेपाल सरकारको प्रवक्तासमेत रहनु भएका गृहमन्त्री अर्यालले सामाजिक संजालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरहरूबाट सचेत भई आ-आफ्नो निर्वाचन क्षेत्रको तयारीमा लाग्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न लागि पर्न निर्वाचन अधिकारीलाई निर्देशनसमेत दिए ।

गृहमन्त्री अर्यालको साथमा गृहसचिव राजकुमार श्रेष्ठ, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल, काठमाडौँ प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा, गृह मन्त्रालयकी सह-प्रवक्ता रमा आचार्य, गृहमन्त्रीको सचिवालय सदस्य तथा काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराई, निर्वाचन अधिकृत चमिला भट्टराई लगायतका टोली स्थलगत निरीक्षणका लागि यहाँ पुगेका थिए ।

सो क्रममा गृहमन्त्री अर्यालसहितको टोलीले गोकर्णेश्वर माविमा रहेको मतदान केन्द्र र ओख्रेनी मावि, सुन्दरीजलमा रहेको मतदान केन्द्रको स्थलगत अनुगमन गरे । यस्तै, उनीसहितको टोलीले शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने मानव निर्मित धापड्यामको पनि निरीक्षण गरे ।

यस्तै, गृहमन्त्री अर्यालले गोकर्णेश्वर नगरपालिका-४ मा रहेको निर्वाचन अधिकृतको कार्यालयको समेत निरीक्षण गरे । सो क्रममा निर्वाचन अधिकृत भट्टराईले ३ नम्बर निर्वाचन क्षेत्रमा रहेको सबै मतदान केन्द्रहरूको अनुगमन तथा सुरक्षा अवस्थाबारे यसअघि नै अनुगमन गरिसकिएको, मतदाता शिक्षाको काम भइरहेको र मतदान केन्द्रमा पठाइने निर्वाचन सामग्रीको ढुवानीको तयारी पनि भइरहेको जानकारी गराए ।

यस्तै, जिल्ला निर्वाचन अधिकारी भट्टराईले निर्वाचन क्षेत्रका लागि आवश्यक जनशक्तिको व्यवस्थापन जिल्ला निर्वाचन कार्यालयले सम्पन्न गरिसकेको जानकारी पनि गृहमन्त्री अर्यालको टोलीलाई गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?