२४ माघ, नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढङ्गमा देशैभर तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन् ।
शनिबार आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी सम्बन्धी विषयमा नुवाकोट र धादिङ जिल्लाको स्थलगत निरीक्षण अनुगमनको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयहरू पुग्ने क्रममा उनले सो धारणा राखेका हुन् ।
निरीक्षण अनुगमनको टोलीमा गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र गृहमन्त्री अर्यालको सचिवालय सदस्यहरू सहभागी थिए ।
‘चुनाव स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढङ्गमा गराउन हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ र त्यो कुरा तपाईँहरूले हाम्रो आचरण र व्यवहारबाट पनि महसुस गरिसक्नु भएको छ र गर्दै पनि जानु हुनेछ,’ गृहमन्त्री अर्यालले भने ।
उनले चुनावमा अहिले चलिरहेको मिथ्या र भ्रामक सूचनाहरूबाट सचेत भई आ–आफ्नो निर्वाचन तयारीमा लाग्न सम्बद्ध सबै पक्षसँग आग्रहसमेत गरे ।
गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लामा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित अधिकारीलाई निर्देशन पनि दिएका छन् ।
निरीक्षणका क्रममा मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले कार्यालयले हालसम्म गरिएका तयारी बारे टोलीलाई जानकारी गराए ।
यस्तै, आजै, गृहमन्त्री अर्यालसहितको सोही टोली नुवाकोटबाट धादिङ पुग्नु भई त्यहाँको जिल्लाको समग्र सुरक्षा अवस्था र निर्वाचनको तयारीबारे जिल्ला सुरक्षा समितिका पदाधिकारी र मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकृतहरूसँग जानकारी लिएका छन् ।
प्रतिक्रिया 4