१८ माघ, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरमा रहेको दुई वटा मुख्य निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण गरेका छन् ।
आइतबार अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सहसचिव तथा सुरक्षा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्ले लगायतको टोलीले भक्तपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का प्रमुख निर्वाचन अधिकृत नवराज दाहाल र क्षेत्र नम्बर २ का राधिका सुवालसँग निर्वाचन केन्द्रित तयारी र प्रशासनिक कार्यहरूको बारेमा जानकारी गराएका हुन् ।
गृहमन्त्री अर्यालले भक्तपुरको निर्वाचन केन्द्रित सुरक्षा अवस्था र निर्वाचनको तयारीबारे मुख्य निर्वाचन अधिकृतहरूसँग छलफल गरे । छलफलमा मन्त्री अर्यालले आसन्न निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न प्रमुख निर्वाचन अधिकृतको ठूलो भूमिका रहने हुँदा त्यसतर्फ ध्यान दिएर सेवा प्रवाहमा लाग्न निर्देशन दिए ।
यस्तै, आजै, गृहमन्त्री अर्याल भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधार गृहको पनि अनुगमन गरे । माघ ८ गतेको मध्य राति सुधारगृहमा भएको आगजनी र तोडफोडपछि गृहमन्त्री आइतबार सुधार गृहको वस्तुस्थिति बुझ्न त्यहाँ पुगेका हुन् ।
गृहमन्त्री अर्यालले सो घटना पश्चात् अहिले सो सुधार गृहमा रहेका १८ वर्षमाथिका बाल बिज्याइँकर्तालाई नुवाकोटमा रहेको कारागारभित्रको छुट्टै ब्लकमा स्थानान्तरण गरिसकिएको बताए ।
प्रतिक्रिया 4