News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म \'लालिमा\' २९ फागुनदेखि प्रदर्शनमा आउँदैछ, जसले करिब तीन हजार यौनकर्मीको अनुभवलाई आधार बनाएर कथा प्रस्तुत गरेको छ।
- अभिनेत्री रोशनी कार्कीले यौनकर्मीको भूमिका निभाउन आठ-दस जना यौनकर्मी महिलासँग भेटेर उनीहरूको जीवन अनुभव अध्ययन गरेकी छन्।
- फिल्मले नेपालमा यौन व्यवसाय लुकेर गर्नुपर्ने र यौनकर्मी महिलाको सुरक्षा र सम्मानको अभावलाई उजागर गरेको छ।
काठमाडौं । यौन व्यवसायबारे प्राचीन ग्रन्थदेखि नै उल्लेख पाइन्छ । केही चर्चित लेखकले यसलाई ‘सबैभन्दा पुरानो व्यवसाय’ भनेर पनि चर्चा गरेका छन् । नेपालमा पनि समय-समयमा यस विषयमा अध्ययन र समाचार सार्वजनिक हुने गरेका छन् । यही कथावस्तुमा आधारित फिल्म ‘लालिमा’ आगामी २९ फागुनदेखि देशव्यापी प्रदर्शनको तयारीमा छ ।
पटकथा लेखक तथा निर्देशक मिराज रोशनका अनुसार करिब तीन हजार यौनकर्मीको अनुभवलाई आधार बनाएर फिल्म निर्माण गरिएको हो । फिल्ममा शीर्ष पात्र, एक यौनकर्मीको भूमिकामा अभिनेत्री रोशनी कार्की देखिएकी छन् ।
फिल्मबारे रोशनी भन्छिन्, “यो धेरै यौनकर्मी महिलाको पीडा, समस्या, मनोदशा र उनीहरूको साहसको कथा हो, जसलाई ‘लालिमा’ मार्फत पर्दामा उतारिएको छ । लालिमा यस्तो पात्र हो, जसलाई एउटा गिट्टी उठाउनै गाह्रो हुन्छ, तर उसैमाथि पहाड खस्छ ।”
पात्र निर्माणको जटिलता
रोशनी नाटकको पृष्ठभूमिबाट आएकी कलाकार हुन् । अभिनयमा अनुभव भए पनि उनले यसअघि यौनकर्मीको भूमिका निर्वाह गरेकी थिइनन् । त्यसैले यो पात्र उनका लागि नयाँ र चुनौतीपूर्ण थियो ।
पात्रलाई स्वाभाविक बनाउन उनले वास्तविक यौनकर्मी महिलासँग भेटघाट र अध्ययन गर्नुपरेको बताइन् । तर धेरैजसो महिलाले आफ्नो वास्तविकता खुलेर साझा गर्न नचाहने भएकाले यो प्रक्रिया सहज थिएन ।
उनी भन्छिन्, “यो पात्रको बाहिरी रूपभन्दा मानसिकता बुझ्नु महत्वपूर्ण थियो । त्यसका लागि वास्तविक यौनकर्मी महिलासँग भेट्नुको विकल्प थिएन ।”
निर्माण टिमको सहयोगमा उनले करिब आठ-दस जना यौनकर्मी महिलासँग भेटेर उनीहरूको जीवन अनुभव सुनेकी थिइन् । “उहाँहरूको संघर्ष सुन्दै जाँदा उनीहरूको सोच र मनोदशा बुझ्न पाएँ । त्यही आधारमा लालिमाको मानसिकता तयार गरें,” उनले भनिन् ।

फिल्मले उठाएको प्रश्न
रोशनीका अनुसार यौनकर्मीसँगको संवादले उनलाई एउटा कठोर यथार्थ बुझायो – नेपालमा यौन व्यवसाय लुकेर गर्नुपर्ने हुन्छ, तर उनीहरू असुरक्षित रहन्छन् ।
उनको भनाइमा, “सुरक्षा दिने निकाय नै प्रहरी हो, तर अन्याय हुँदा उजुरी गर्ने ठाउँ छैन । उजुरी गर्दा गैरकानुनी काम गरेको भन्दै उल्टै कारबाहीको डर हुन्छ ।”
फिल्म ‘लालिमा’ ले यही यथार्थलाई पनि केही हदसम्म देखाउन खोजेको उनी बताउँछिन् । उनका अनुसार यो कथा जीवनसँग हार नमान्ने महिलाको जिद र संघर्षको कथा हो ।
“उनीहरूसँग हार मान्ने धेरै कारण छन्, तर उनीहरू अघि बढिरहेका छन् । मानसिक रूपमा धेरै दबाब भए पनि उनीहरूले साहसका साथ जीवन अघि बढाइरहेका छन् । यही पक्ष फिल्ममा देखाइएको छ,” रोशनी भन्छिन् ।

अनुभवले दिएको बुझाइ
रोशनीको बुझाइमा अधिकांश महिलाको यो क्षेत्रमा प्रवेशको मुख्य कारण आर्थिक संकट हो । गरिबीले थिचिएका महिलामा जोखिम अझ बढी देखिन्छ ।
फिल्मका क्रममा उनले कलेज पढ्दै गरेका किशोरीहरू पनि दैनिक गुजारा चलाउन यो क्षेत्रमा आएको देखेकी थिइन् । तर एकपटक प्रवेश गरेपछि बाहिर निस्कन झन् कठिन हुने उनले अनुभव गरिन् ।
उनले भनिन्, “धेरैजसो मानिस जस्तै, एउटा पेसामा लागेपछि अर्को बाटो देख्न गाह्रो हुन्छ । आफूलाई अरू कामका लागि सक्षम ठान्न सकिँदैन । त्यही अवस्था उनीहरूमा पनि देखिन्छ ।”
यौनकर्मी महिलासँगको संवादबाट उनले एउटा मौन सन्देश महसुस गरेको बताउँछिन्- “हामी पनि मान्छे हौं, मान्छे भएर बाँच्न देऊ ।”
रोशनी भन्छिन्, “उनीहरू बाँच्नका लागि काम गरिरहेका छन् । तर त्यस क्रममा भोग्नुपरेका व्यवहारले उनीहरूलाई दुख दिएको छ । उनीहरूको चाहना केवल सम्मानजनक जीवन हो ।”
फिल्म ‘लालिमा’ ले यही मानविक पक्षलाई केन्द्रमा राख्दै समाजलाई प्रश्न गर्ने प्रयास गरेको निर्माण टिमको विश्वास छ ।
प्रतिक्रिया 4