१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिट जारी गर्दै रिहा गर्न आदेश दिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषिराम कट्टेललाई प्रहरीले हिरासतमुक्त गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले मंगलबार साँझ कट्टेललाई हिरासतमुक्त गरेको हो ।
निर्वाचन विथोल्न प्रयास गर्ने आशंकाका आधारमा प्रहरीले कट्टेललाई फागुन ६ गते पक्राउ गरेको थियो । पक्राउविरुद्ध दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।
यस्तै मंगलबार नै सर्वोच्चले बन्दीप्रत्यक्षीकरण रिट जारी गदै हिरासतमुक्त गर्न आदेश दिइएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँको रातिको बास भने हिरासतमै हुने भएको छ ।
काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा केही प्रक्रिया पूरा गर्न बाँकी रहेकाले प्रसाईँलाई आजै छाड्न नसकेको जनाएको छ । कार्यालय समय सकिइसकेकाले ती प्रक्रिया आजै पूरा गर्न नसकिएको प्रहरीले जनाएको छ ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको थियो । प्रसाईँलाई पनि निर्वाचन विथोल्ने प्रयास गर्नसक्ने भन्दै प्रहरीले फागुन ४ गते पक्राउ गरेको थियो ।
प्रतिक्रिया 4