+
+
Shares

भोट माग्न अघि सरे जीवनसाथी

कपिलवस्तुका तीनवटै निर्वाचन क्षेत्रमा प्रेम र प्रतिबद्धता एकसाथ देखिएको छ । उम्मेदवार पतिलाई जिताउन उनीहरुका श्रीमतीहरु पनि सक्रिय छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १०:०७

१३ फागुन, बुटवल । चुनावी मौसमले कपिलवस्तु पनि तातेको छ । प्रतिनिधि सभाका तीनवटै क्षेत्रमा उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । तर यसपटक दृश्य अलि फरक छ– पुरुष उम्मेदवारसँगसँगै उनीहरुका जीवनसाथीहरू पनि मतदाताको घर–घर पुगिरहेका छन् ।

राजनीतिक भाषण र नारासँगै यहाँ प्रेम, साथ र प्रतिबद्धताको अर्को आयाम पनि देखिएको छ । पति जिताउने संकल्प बोकेर श्रीमतीहरू बिहानदेखि बेलुकासम्म टोल–टोलमा भेटघाटमा खटिएका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस उम्मेदवार अतहर कमाल मुसलमानकी श्रीमती देवकला सुवेदी (डिना) बिहानै महिला कार्यकर्ताको समूह लिएर गाउँ पस्छिन् । साँझ अबेर मात्र घर फर्किन्छिन् । घरदैलोका क्रममा उनी कांग्रेसका एजेन्डा, आफ्ना पतिले अघि सारेका योजना र विगतका कामबारे जानकारी गराउँछिन् । ‘श्रीमानलाई जिताउन पर्छ भनेर त्यसैअनुसार दिनरात खटिएकी छु,’ उनी भन्छिन् ।

उनका अनुसार घरदैलो केवल मत माग्ने माध्यम होइन, महिला मतदातासँग सीधा संवाद गर्ने अवसर पनि हो । ‘समस्या, गुनासा र सुझाव सुन्दै उनीहरूलाई विश्वास दिलाउने प्रयास भइरहेको छ,’ देवकलाले भनिन् ।

क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्यकी श्रीमती जीवन आचार्य पनि त्यत्तिकै सक्रिय छिन् । तौलिहवा, इमिलिया, मर्यादपुरलगायत क्षेत्रमा टोलसभा र भेटघाट गर्दै उनी मत मागिरहेकी छन् ।

‘मेरो श्रीमानले यस क्षेत्रमा धेरै काम गर्नुभएको छ । अझै गर्न बाँकी छ, त्यसैले फेरि जिताउनुपर्छ भनेर म पनि सक्रिय छ,’ जीवनले भनिन् ।

क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार अभिषेक प्रताप शाहकी श्रीमती हिमानी मिनाक्षी शाह पनि बिहान घरायसी काम सकेपछि मतदाताको घरदैलोमा पुग्छिन् । पतिले तीनपटक सांसद हुँदा गरेका पूर्वाधार, शिक्षा र सामाजिक क्षेत्रका काम सम्झाउँदै उनी मत दिन आग्रह गर्छिन् ।

उनका अनुसार महिलाहरूले प्रत्यक्ष भेटेर मत माग्दा विश्वासको वातावरण बलियो हुने प्रतिक्रिया दिएका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ का एमाले उम्मेदवार विश्वराम (विश्राम) चौधरीकी श्रीमती दुखनी थारु चौधरी थारु महिलाहरूको समूह बनाएर घरदैलोमा व्यस्त छिन् । बिहानै घरको खाना पकाएर खुवाएर कार्यकर्ताहरूसँगै श्रीमानका लागि भोट माग्न हिंडिरहेकी छन् उनी । भन्छिन्, ‘म प्राय: थारु समुदायका महिलाहरुसँग बढी भेटघाट गरेर भोट माग्ने गरेकी छु ।’

क्षेत्र नम्बर २ का एमाले उम्मेदवार दृग नारायण पाण्डेकी श्रीमती प्रमिला पाण्डे पनि महाराजगञ्ज नगरपालिकाका विभिन्न वडामा घरदैलोमै हिँडेकी छन् । यसभन्दा पहिले पनि श्रीमानसँग उनी भोट माग्न मैदानमा निस्किएको अनुभव समेत उनीसँग छ ।

कपिलवस्तु क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार वीरेन्द्र कनोडियाकी श्रीमती सुलेखा कनोडिया पनि बिहानैदेखि घरदैलोमा व्यस्त हुन्छिन् । पति वीरेन्द्रसँगै हात जोडेर मत माग्नु अहिले उनको दैनिक जिम्मेवारी जस्तो बनेको छ ।

कपिलवस्तु क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा उम्मेदवार प्रकाश रजौरियाकी श्रीमती पवित्रा पराजुली रजौरिया पनि महिला टोली बनाएर घरदैलोमा निस्किएकी छन् । ‘मधेशका चेलीबेटी दिदीबहिनीहरूको अवस्था बुझ्ने अवसर पनि यही अभियानले दियो,’ उनी भन्छिन् ।

रास्वपाकै उम्मेदवार विक्रमसिंह थापाकी श्रीमती कल्पना शाहका लागि भने यो अनुभव नयाँ हो । ‘पहिलोपटक यसरी हिँडेकी हुँ । अरू उम्मेदवार भएको भए सायद हिँड्ने थिइनँ होला, तर उहाँ श्रीमान् उम्मेदवार भएपछि साथ दिनैपर्छ,’ उनी भन्छिन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार कृष्ण बहादुर कुँवरकी श्रीमती पनि पतिलाई जिताउन भोट माग्दै घरदैलोमा सक्रिय छिन् ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका बृजेश कुमार गुप्ताको भने श्रीमतीसँग केही वर्ष पहिल्यै सम्बन्ध विच्छेद भएको थियो । यद्यपि उनले पनि परिवारका अन्य सदस्य तथा पार्टीका नेता–कार्यकर्तालाई लिएर घरदैलोमा हिँडेका छन् ।

क्षेत्र नम्बर ३ का नेकपा उम्मेदवार एहसान अहमद खानकी श्रीमती भने उपचारको सिलसिलामा भारतको लखनउमा भएकाले उनी भोट माग्न हिँड्न पाएकी छैनन् ।

क्षेत्र नं ३ का जनमत पार्टीका उम्मेदवार ईश्वर कुमार राउतकी श्रीमती सावित्रा राउत पनि श्रीमानसँगै चुनावी कार्यक्रममा सक्रिय भएर हिंडेकी छन् । सावित्रा भन्छिन्, ‘श्रीमान पहिलो पटक उम्मेदवार बन्नु भएको छ, उहाँलाई साथ दिन म पनि सँगसँगै लागेकी छु ।’

महिला सहभागिताले थप्यो बेग्लै रौनक

घरदैलोमा दम्पती सँगै देखिँदा चुनावी माहोलमा फरक रौनक थपिएको मतदाताहरू बताउँछन् । महिला अनुहारहरू सक्रिय रूपमा अगाडि आउँदा महिला मतदाताको सहभागिता र उत्साह पनि बढेको उनीहरूको अनुभव छ ।

राजनीतिमा प्रायस् ओझेलमा पर्ने जीवनसाथीहरू चुनावका बेला यसरी खुलेर अघि आउनुलाई स्थानीयले सकारात्मक रूपमा हेरेका छन् ।

उम्मेदवारहरू पनि जीवनसाथीको साथले आफूलाई थप ऊर्जा मिलेको बताउँछन् । भावनात्मक सम्बन्ध बलियो बनाउने यो सहयात्राले चुनावी अभियानलाई अझ मानवीय बनाएको छ ।

कपिलवस्तुका तीनवटै क्षेत्रमा यसपटक केवल मतको प्रतिस्पर्धा मात्र छैन, साथ र भरोसाको कथा पनि सँगसँगै लेखिँदै छ ।

(कपिलवस्तुबाट सनीउल्ला धोबीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?