१२ फागुन, प्रतापपुर (नवलपरासी) । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्तासँगै कोशी प्रदेशको झापा–५ र मधेश प्रदेशको सर्लाही–४ सर्वाधिक चर्चामा छन् ।
झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) तथा सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको मनोनयनले चर्चा चुलिएको हो ।
एमाले, रास्वपा र कांग्रेसले क्रमशः अध्यक्ष ओली, वरिष्ठ नेता शाह र सभापति थापालाई आ–आफ्नो दलका तर्फबाट भावी प्रधानमन्त्री घोषणा गरेर चुनावी प्रचार–प्रसारसँगै आम मतदा ताहरूसँग मत मागिरहेका छन् ।
२१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–१ ले पनि देशको ध्यान आकर्षित गरेको छ ।
राजनीतिमा चासो राख्ने नागरिकको ध्यान यो क्षेत्रमा आकर्षित हुनुको मुख्य कारण हो– डलर अर्बपति राजनीतिकर्मी विनोद चौधरीको उम्मेदवारी ।
नेपालका एकमात्र फोर्ब्स सूचीकृत अर्बपति चौधरीलाई कांग्रेसले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएको छ । उनी राजनीतिमा ‘पैसा कमाउन’ नभएर ‘पोलिसी रिफर्म’ र ‘विकासको मोडेल’ देखाउन आएको दाबी गर्छन् ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा प्रत्यक्षतर्फ यही क्षेत्रबाट निर्वाचित चौधरीलाई कांगेसले आसन्न निर्वाचनमा पनि दोहोर्याएको छ । उनी विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिका सदस्य पनि हुन् ।
कांग्रेस नेता चौधरीले प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मनोनयन गरेको क्षेत्रमा कांग्रेसकै पूर्वनेता विक्रम खनालले रास्वपाबाट उम्मेदवारी दिएका कारण पनि यो क्षेत्रले थप चासो बढाएको छ ।
यसैक्रममा चुनावी रिपोर्टिङका क्रममा अनलाइनखबरको टोली सोमबार बिहान क्षेत्र नम्बर १ मा पुग्यो । पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दघाटबाट दक्षिणतर्फ जाँदै गर्दा बेलानी नजिकै कांग्रेस कार्यकर्ताको एक समूह घरदैलो गरिरहेको थियो ।
घरदैलोमा उम्मेदवार चौधरी भने थिएनन् । अनलाइनखबरको जिज्ञासामा एक अधवैंशे कार्यकर्ताले भने, ‘उहाँको घरदैलो पालडाँडा तिर छ । हामी आफैं यता गरिरहेका हौं ।’
ती कार्यकर्ताले चौधरीको घरदैलो बारे थप जानकारी बर्दघाट नगरपालिका–७ बेलानीमा रहेको सचिवालयबाट पाइने पनि बताए । उनले यत्ति भनिसकेपछि चोक–चोकमा पसलेहरूलाई बाटो सोध्दै हामी दक्षिणतर्फ बढिरह्यौं ।
ज्यामिरे भार चोकमा बुलेट मोटरसाइकल रोकेर फोनमा कुरा गरिरहेका सशस्त्र प्रहरीले देखाएको बाटो भएर गंगाबस्ती हुँदै कांग्रेस उम्मेदवार चौधरीको बेलानीमा रहेको सचिवालय पुग्यौं ।

उनको सचिवालयमा पुग्दा बिहानको ठीक १० बजेको थियो । सचिवालय रहेको घरमा सभापति थापासँगै चौधरीको तस्वीर राखेर दुईतिरै फ्लेक्स बोर्ड टाँगिएको थियो । लेखिएको थियो– बदल्यौं कांग्रेस, बदल्छौं देश ।
सचिवालयको अघिल्लो भागमा ५०–६० जना कार्यकर्ताहरूको भिडभाड थियो । कोही घाम तापिरहेका थिए भने कोही चिया पिउँदै राजनीतिक कुराकानी गरिरहेका थिए ।
अनलाइनखबरको सम्पर्कमा आएका चौधरीको सचिवालयका सदस्य मधुसुदन पौडेलले बिहान ११ बजे प्रतापपुर गाउँपालिका–५ बेताहानीमा घरदैलो कार्यक्रम तय भएको जानकारी दिए ।
लहरै दलहरूका ब्यानर
चौधरीको सचिवालयबाट हामी घरदैलो कार्यक्रम तय भएको भनिएको स्थानका लागि निस्क्यौं । १५ मिनेट दक्षिण (चार पाङ्ग्रे सवारी साधनमा लाग्ने समय) पुग्दा कांग्रेस, रास्वपा र जनता समाजवादी पार्टी (जसपा) नेपालको ब्यानर एक साथ टांगिएको फेला पर्यो ।
तस्वीर कैद गर्न हामी रोकियौं । प्रचार सामग्री एकसाथ लहरै टांगिएका थिए । कांग्रेस सभापति थापासँगै उम्मेदवार चौधरीको तस्वीर राखेर ब्यानर बनाएको थियो ।
ब्यानरमा कांग्रेसको चुनाव चिन्ह रूख र चार तारे झण्डा पनि राखिएको थियो ।
रास्वपाको ब्यानरमा भने बालेनलाई मात्रै ‘ब्रान्डिङ’ गरिएको थियो । ब्यानरमा पार्टीका उम्मेदवारको तस्वीर राखिएको थिएन । चुनाव चिह्न घण्टीसहित बालेनका दुईवटा तस्वीर राखिएको ब्यानरमा लेखिएको थियो– अबकी बार.. बालेन सरकार ।’
जसपा नेपालको ब्यानरमा उम्मेदवार हृदयेश त्रिपाठीको तस्वीरलाई ठूला बनाएर राखिएको थियो । चुनाव चिह्न छातासँगै ‘छातामा मतदान, क्षेत्रको सम्मान’ लेखिएको थियो । ब्यानरमै उम्मेदवार त्रिपाठीको भाषण गर्दै गरेको तस्वीर पनि थियो ।

चुनावी प्रचारका लागि लहरै एकसाथ राखेका ब्यानरहरूले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–१ मा दलहरूका बीचमा रहेको सहिष्णुताको सन्देश पनि दिइरहेको थियो ।
ब्यानर टांगिएको स्थान नजिकै सडक पारी पूर्वी दिशामा हाट बजार लाग्ने स्थल थियो ।
त्यही स्थानमा पसलहरू अगाडि सात जना युवा आपसमा कुराकानी गरिरहेको दृष्य देखिन्थ्यो । छेवैमा गएर परिचयसहित चुनावी माहोलबारे जिज्ञासा राख्दा ३२ वर्षीय मोहन यादवले खुलेरै बोल्न सुरू गरे ।
उनका अनुसार तीन वटा दलका ब्यानर स्थान सेमरी बजार प्रतापपुर–२ मा पर्ने रहेछ ।
बर्दघाट–१३ घर भएका मोहनले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–१ मा चार पक्षीय प्रतिष्पर्धा देखिएको दाबी गरे । ‘मिडियाबाजी हेर्ने हो भने त घण्टी (रास्वपा) अगाडि छ,’ उनले अनलाइनखबरको जिज्ञासा मेट्दै भने, ‘तर, कम्पिटिसन कांग्रेस, घण्टी, एमाले र जसपा नेपालबीच नै हुन्छ ।’
मोहनले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–१ मा चार पक्षीय प्रतिष्पर्धा हुनुको कारण पनि पेस गर्न भ्याए । ‘सांगठनिक रूपमा सबैभन्दा बालियो कांग्रेस हो । एमाले दोस्रो नम्बरमा छ । व्यक्तिगत सम्बन्धका कारण हृदयेश त्रिपाठी प्रतिष्पर्धामा हुनुहुन्छ,’ उनले भने, ‘घण्टीको देशव्यापी लहर छ । उम्मेदवार विक्रम खनाल कांग्रेसकै नेता हो, उहाँको आफ्नै भोट छ । त्यही भएर घण्टी प्रतिष्पर्धामा हो ।’

कांग्रेसको समर्थन प्राप्त एमाले नेतृत्वको सरकार ढाल्न सफल २३–२४ भदौको जेनजी आन्दोलनका क्रममा सेमरी क्षेत्रका युवाले पनि नवलपरासीमा चर्को प्रदर्शन गरेका रहेछन् ।
मोहनसँगै बसेका एक युवा भन्दै थिए– काठमाडौं उपत्यकामा त भन्न सकिन्न । उपत्यका बाहिरको कुरा गर्ने हो भने हाम्रो आन्दोलन सबैभन्दा ठूलो थियो ।’
ती युवाले आफू रास्वपा समर्थक रहेको पनि बताए । तर, उनले उम्मेदवार छनोटमा पार्टीले गरेको निर्णयले स्थापनाकालका नेता–कार्यकर्तामा असन्तुष्टि देखिएको पनि खुलाए । ‘अर्को पार्टीबाट घन्टीमा आएर उम्मेदवार भएकाले धेरै मान्छे असन्तुष्ट छन् । यो अघि राम्रै मान्छे उम्मेदवार थिए,’ उनले भने, ‘उहाँलाई टिकट नदिएका कारण पुराना घण्टीहरू धेरै रूष्ट छन् ।’
प्रतिनिधि सभा निर्वाचन २०७९ मा यो क्षेत्रमा रास्वपाले महेन्द्र सेन (ठकुरी) लाई उम्मेदवार बनाएको थियो । १२ हजार ४९९ मत पाएर उनी तेस्रो भएका थिए । अहिले रास्वपाले कांग्रेस लुम्बिनीका पूर्व महामन्त्री विक्रम खनाललाई उम्मेदवार बनाएको छ ।
सेमरीका ती युवाको समूहले रास्वपाको उम्मेदवार छनोटको विषयमा देखिएको असन्तुष्टिको उदाहरण सुस्ता गाउँपालिकाका उपसभापति गुप्त सेन (ठकुरी) ले केही दिनअघि पार्टीबाट दिएको राजीनामालाई उदाहरणका रूपमा पेस गरे । ती युवाका अनुसार गुप्त रास्वपाका अघिल्लो उम्मेदवार महेन्द्रका दाइ हुन् ।
त्यही समूहमा रास्वपाको चुनाव चिह्नको ब्याच लगाएर ३१ वर्षीय जीवन मुडभरी बसिरहेका थिए । ‘घण्टी नै बजाउने हो । नयाँलाई हेरौं भन्ने छ,’ उनले भने, ‘युवा परिवर्तन चाहन्छन् ।’
फरक–फरक पार्टीका ब्यानर लहरै राखेजस्तै एकसाथ बसेका सात जना युवा पनि छुट्टाछुट्टै विचारधारा मान्ने दलनिकट रहेको उनीहरूका कुराकानीले जनाइरहेको थियो ।
सातमध्ये दुई जनाले आफूलाई रास्वपा समर्थकका रूपमा चिनाउँदा मोहनले आफू एमालेको भ्रातृ संगठन अनेरास्ववियुबाट स्ववियु निर्वाचनमा प्रतिष्पर्धी भइसकेको सुनाए । अन्य चार जनाले न त प्रतिक्रिया दिए, न आबद्धता नै ।

पछिल्लो समय दलहरूले एकअर्काका झण्डाहरू च्यातेको विषयले निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न हुने होइन कि भन्ने कतिपयमा अशांका उत्पन्न गराएको थियो । तर, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–१ मा फरक दृष्य देखिन्छ ।
सेमरीबाट दक्षिण लागेपछि पिच रोडबाट ग्राभेल बाटो हुँदै प्रतापपुर गाउँपालिका–९ मा पर्ने प्रतापपुर गाउँमा बिजुलीको खम्बा–खम्बामा कांग्रेसको चारतारे र रास्वपाको निलो झण्डा एकसाथ राखिएको दृष्य देखियो ।
जहाँ–जहाँ कांग्रेस र रास्वपाले झण्डा राखेका थिए, त्यहाँ–त्यहाँ जसपा नेपालले उम्मेदवार त्रिपाठीको तस्वीरयुक्त पोस्टर टाँसेको थियो ।
सडकको दायाँ–बायाँ जोड्ने गरी कांग्रेस र रास्वपाले चुनाव चिन्ह र पार्टीका झण्डाहरू डोरीमा गाँसेर आकाशमा लहराएको दृष्य पनि प्रतापपुर गाउँमा देखियो ।

प्रतापपुर गाउँको एउटा चिया पसलमा दुई जना पुरूष बसिरहेका थिए । तीमध्ये एक थिए– चिया पसल चलाउँदै आएका ६० वर्षीय दिलबहादुर पञ्जियार । उनको बुझाइमा देश परिवर्तनको चाहनामा छ । देश नै परिवर्तनको चाहनामा देखिएकै कारण आफू पनि यसपालि मत परिवर्तनको पक्षमा रहेको पञ्जियारले बताए ।
आफूलाई एमाले कार्यकर्ताको पुरानो मतदाताका रूपमा चिनाएका पञ्जियारले भने, ‘देश परिवर्तनको मुडमा छ ।’
पुराना दलहरूका प्रति पञ्जियारको गुनासो थियो । उनी आफैंले रास्वपाका उम्मेदवार पुरानो दलबाटै आएका पनि बताए । ‘पुरानाले केही गरेनन् । आश्वासन मात्रै दिए । जनतका दुःख जस्ताको त्यस्तै छन्,’ पञ्जियारले भने, ‘हुन त रास्वपाले पनि कांग्रेसकै नेतालाई उम्मेदवार बनाएको छ । तर, हामी खनाललाई भनेर भोट दिने होइनौं । रवि–बालेन हेरेका छौं । खनाल कुन पार्टीबाट आएका हुन्, हामीलाई मतलब छैन ।’

एक–दुई जना हुँदै चिया पसलमा मान्छेहरू थपिँदै गए । चिया पसले पञ्जियारसँग पहिलेबाट बसिरहेका ६७ वर्षीय दलबहादुर चौधरी पनि विगतमा एमालेलाई मत दिँदै आएका मतदाता रहेछन् । उनले पनि यसपल्ट आफ्नो मत परिवर्तन गर्ने चाहना रहेको सुनाए ।
रास्वपाको चुनाव चिन्ह अंकित ब्याच लगाएका चौधरीले आफू बस्ने टोलमा १२ सय मतदाता रहेका र त्यसमध्ये कांग्रेसका मतदाता ५० भन्दा कम रहेका पनि दाबी गरे । उनले अन्य दलका मतदाताको संख्या दुई अंकभन्दा कम रहेका पनि प्रतिक्रिया दिए ।

निर्वाचन आयोगको तथ्यांकअनुसार वडा नम्बर २ मा त्रिभुवन मावि, बेलाटारी र बाल्मिकी आभुरभूत विद्यालय, खैरहनी गरी दुईवटा मतदाता केन्द्रहरू छन् । जसमध्ये बेलाटारीमा मतदात गर्ने मतदाताको संख्या तीन हजार ४२८ र खैरहनीमा मतदान गर्नेको संख्या ८०८ देखिन्छ ।

गण्डक नहरमाथिको प्रतापपुर पुल पार गरेर पूर्वपट्टीको बाटो हुँदै दक्षिणमा रहेको सुरजपुरा (सूर्यपुरा) बजारमा मध्यान्ह साढे १२ बजे पुग्दा हाट बजारको तयारी भइरहेको थियो । बजारमा निर्वाचन प्रहरी छरिएर उभिरहेका थिए । नजिकै एक जना नेपाल प्रहरी पनि भेटिए ।
प्रतापपुर गाउँपालिका–५ बेताहानी जाने बाटोबारे जिज्ञासा राख्दा उनी पनि कांग्रेस उम्मेदवार चौधरीको घरदैलो कार्यक्रमकै लागि भनेर सुरजपुरामा खटाइएका रहेछन् । मोबाइलमा रहेको सूचना हेर्दै उनले भने, ‘समय त बढी भइसक्यो । तर, घरदैलोका लागि कोही आएको देखिएन ।’

प्रहरीले देखाएको बाटो भएर गण्डक नहरमाथिकै बैदौली पुल हुँदै प्रतापपुर गाउँपालिका–५ बैदौली पुग्दा वडा कार्यालय बाहिर दुई जना वृद्ध बसिरहेका थिए । उनीहरूलाई बेताहानीबारे सोध्यौं । भनेअनुसार हामी पछाडि फर्किन पर्ने भयो ।
बाटैमा दुई जना प्रहरी मोटरसाइकलमा हुइकिँदै गरेका भेटिए । अर्बपति नेता चौधरीको घरदैलोबारे जानकारी माग्दा उनीहरूले बैदौली पुल पारी रहेको गाउँमा घरदैलो भइरहेको सूचना दिए ।
बैदौली पुल नाघेर नहरको पूर्वपट्टी भएर दक्षिण जाँदै गर्दा स्थानीय भाषामा माइकिङ भइरहेको सुनियो । केही तल आधा दर्जन चार पाङ्ग्रे सवारी साधन र दुई दर्जनबढी मोटरसाइकलको लाम भेटियो । यही भिडमा चौधरी सवार गाडी पनि रहेछ ।
अनलाइनखबरले ठीक १:३० बजेबाट कांग्रेस उम्मेदवार चौधरीको घरदैलो पच्छ्याउन सुरू गर्यो । कांग्रेस नेता–कार्यकर्ताहरू बैदौली पुलको पूर्वमा रहेको बस्तीतर्फ मोडिए । केही पर पुगेर कार्यकर्ताहरूले चौधरीलाई जीप भित्रबाट पछाडि उभिन लगाए ।
चौधरी छोटेकी बैदौली गाउँमा मतदातालाई सडक मार्गबाटै हात जोडेर अभिवादन गर्दै अघि बढे । केही मतदाताहरू सडकमै आएर उनीसँग कुरा गर्न पनि खोज्थे । नजिक आएका मतदातासँग चौधरी गाडी रोकेर सहज ढंगले कुराकानी गरिरहेका देखिन्थे ।

छोट्की बैदौली गाउँमा घरदैलो सकेर उम्मेदवार चौधरी बेताहानीतर्फ निस्किँदा दिउँसो दुई बजिसकेको थियो । बैदौली पुल पार गरेर पश्चिमतर्फको गाउँमा पनि उनी छोट्की बैदौली गाउँमै शैलीमा घरदैलो गरिरहेका थिए ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–१ मा कांग्रेस नेता चौधरीसँगै २६ जना उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा छन् । यहाँ एमालेले रामप्रसाद पाण्डेय, नेपाली कम्युनिस्ट पार्टीले सिन्धु जलेसा बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विक्रम खनाल, जनता समाजवादी पार्टी, नेपालबाट हृदयेश त्रिपाठी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवनितकुमार मिश्र, उज्यालो नेपाल पार्टीबाट बिजय कंडेल, श्रम संस्कृति पार्टीबाट रामचन्द्र थारू चौधरी उम्मेदवार छन् ।
प्रतिनिधि सभा निर्वाचन २०७९ मा कांग्रेस नेता चौधरी २९ हजार ५१९ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका नेता हृदयेश त्रिपाठीले २२ हजार ३२८ मत पाएका थिए । तेस्रो भएका रास्वपाका महेन्द्र सेन (ठकुरी) को पक्षमा १२ हजार ४९९ मत खसेको थियो ।
गत निर्वाचनमा कांग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गर्दा एमालेले त्रिपाठीलाई सघाएको थियो । सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका, बर्दघाट नगरपालिका, सरावल गाउँपालिकाका ४, ५, ६ र ७ नम्बर वडाको भू-भाग नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को १ नम्बर निर्वाचन क्षेत्रमा पर्दछ ।

प्रतिक्रिया 4