१३ फागुन, सुस्ता । ‘ढुक्क हुनुस्, तपाईंहरूलाई नागरिकता र लालपुर्जा दुवै दिन्छौं ।’
१० असोज २०८१ मा नारायणी नदीको झोलुङ्गे पुल (सस्पेपेन्सन ब्रिज) उद्घाटनका लागि सुस्ता पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले लालपुर्जा र नागरिकताको आश्वासन दिइरहँदा सुस्तावासीले खुसी हुँदै ताली पिटेका थिए ।
राष्ट्रपति पौडेलले आश्वासन दिएको १७ महिनापछि अनलाइनखबरको टोली चुनावी रिपोर्टिङका क्रममा नवलपरासी-१ सुस्ता पुग्दा स्थानीयवासीका नागरिकता र लालपुर्जासम्बन्धी समस्या ज्यूँका त्यूँ थिए ।
नारायणी नदीमाथिको १ हजार ५७१ मिटर लामो झेलुङ्गे पुलको पश्चिमी भागबाट पूर्वी भागमा पुग्न झन्डै आधा घण्टा समय लाग्दो रहेछ । पुलको पूर्वी भागबाट अस्ताउँदै गरेको सूर्यको तस्वीर कैद गर्न कतै दगुर्दा त कतै फटाफट हिँड्दा २१ मिनेट लाग्यो ।

नारायणी नदीपारि झोलुङ्गे पुलको आडैमा सानो बजार छ । त्यही बजारमा भेटिएका ६८ वर्षीय शंकर घर्ती मगरले सुस्तावासीका समस्याको बेलिविस्तार लगाए । ‘यहाँ समस्या नै समस्या छन् । यहाँका नागरिक नागरिकताबाट वञ्चित छन् । जमिन कमाएका छन् तर, धेरैजसोको लालपुर्जा छैन,’ उनी भन्दै गए, ‘नदी कटानको समस्या उस्तै छ । भारततिर जाँदा दुःख पाइन्छ ।’
सुस्तावासी सीमावर्ती बजार जाँदा भारतीय पक्षले नागरिकता देखाएर मात्रै जान दिने गरेको र नागरिकता नभएकाहरू जान नपाउने अवस्था रहेको घर्ती मगरले बताए । ‘यताका मान्छे भारत जाँदा दुःख पाउँछन् । बजार जाँदा इन्डियाले नागरिकता माग्छ, कतिपयसँग नागरिकता छैन,’ उनले भने ।

पुल छेवैको पसलमा भेटिएका स्थानीय विष्णु कलवारले पनि सुस्तामा नागरिकता र लालपुर्जालाई प्रमुख समस्याका रूपमा सुनाए । सुस्ता जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएपछि आवतजावत सहज बने पनि नागरिकता र लालपुर्जाको समस्या यथावत् रहेको उनले गुनासो गरे ।
‘पुलले गर्दा यता–उता गर्न सजिलै छ,’ कलवारले भने, ‘तर यहाँको मुख्य समस्या नै नागरिकता र लालपुर्जाको हो । जमिन छ, खेतीपाती छ । लालपुर्जा छैन ।’ उनका अनुसार झोलुङ्गे पुलकै कारण चुनाव प्रचारका लागि उम्मेदवारहरूलाई पनि नारायणी नदीपारिको गाउँ सुस्ता पुग्न सजिलो छ ।

सुस्तामा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) पुग्नुअघि ‘थारू टोल’ जाने बाटो नजिकै मराक्षीदेवी तेली छोरीसँगै बिजुलीको उज्यालोमा बसिरहेकी थिइन् । अनलाइनखबरले उनीहरूसँग चुनावबारे जिज्ञासा राख्दै गर्दा ३० वर्षीय भीम केवट झुल्किए ।
उनले पनि आफूले राज्यबाट नागरिकता नपाएको गुनासो गरे । भीमका दाइको भने नागरिकता रहेछ । ‘त्रिवेणीमा नागरिकता बनाउने टोली आएको थियो । दाइको नागरिकता त्यहीँ बनेको हो,’ उनले भने, ‘मेरो नागरिकता छैन । बुवाको पनि छैन ।’
उनका अनुसार भीमका बुवा भारतबाट सुस्ता आएका हुन् । उनी नेपालमै जन्मिएका हुन् । भीमले कुराकानीकै क्रममा औंला भाँच्दै आफू बसोबास गर्दै आएको टोलका ८ घर-परिवारमा कसैको पनि नागरिकता नभएको बताए ।
नजिकैको घरबाट नाबालक काखीमा च्यापेर बाहिर निस्किएकी ४५ वर्षीया मञ्जुदेवीको पनि गुनासो भीमकै जस्तो थियो । ‘हामी बुढा हुन लाग्यौं । नाति भइसके । नागरिकता छैन,’ उनले भनिन् । मञ्जुदेवीले आफ्ना बुवाले सुस्तामा बसोबास गर्न लागेको ६० वर्ष पुगिसकेको बताइन् ।

सुस्ता नगरपालिका–४ का वडाध्यक्ष प्रभुनाथ अहिरले सुस्तामा ३०० बढी घर-परिवारको बसोबास रहेको जानकारी दिए । उनले सुस्तामा नागरिकता समस्या रहेको पनि बताए ।
‘सवा तीन सय जति घर-परिवार बस्छन् । यहाँ नागरिकताको समस्या ठूलो छ,’ वडाध्यक्ष अहिरले अनलाइनखबरसँग भने, ‘टाठाबाठाहरूले नागरिकता बनाइसकेका छन् । सोझा र गरिब सुस्तावासी धेरैले नागरिकता पाउन सकेका छैनन् ।’
वडाध्यक्ष अहिरका अनुसार सुस्तावासी कसैको पनि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) छैन । ‘यहाँ कसैको पनि नम्बरी जमिन छैन । सबै ऐलानी हो । कसैको पनि लालपुर्जा छैन,’ उनले भने ।
नारायणी नदीपारि पूर्वी भू-भागमा रहेको सुस्ता गाउँमा सशस्त्र प्रहरीको बीओपी, नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय र जनता दलित आधारभूत विद्यालय छ । यही विद्यालयमा निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्र तोकेको छ ।

आयोगको वेबसाइटमा राखिएको तथ्यांकअनुसार जनता दलित आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्ने मतदाताको संख्या ४०४ छ । तर यहाँ मतदाता शिक्षाका लागि भने अहिलेसम्म कोही पनि पुगेका छैनन् ।
झोलुङ्गे पुल नजिकै रहेको दिव्या एन्ड प्रिन्सेस रेस्टुरेन्टको बोर्ड राखिएको घरमा भेटिएकी शनिश्चरी गुप्ता आसन्न निर्वाचनका लागि पहिलो मतदाता हुन् । तर उनलाई मत कसरी हाल्ने भन्नेबारे केही थाहा छैन । ‘कैसन भोट देवै, थाहा नै खे,’ उनले आनलाइनखबरसँग भनिन् ।
अर्का मतदाता प्रतिमा तेली भने पुरानै मतदाता हुन् । उनले यसअघिका निर्वाचनहरूमा मतदान गरिसकेकी छन् । उनले पनि यसपालि मतदाता शिक्षाका लागि गाउँमा कोही नआएको प्रतिक्रिया दिइन् ।
खाजा पसल सञ्चालन गर्दै आएका प्रतिमाका श्रीमान् ४६ वर्षीय हरिचन्द्र तेलीले पनि मतदाता शिक्षा दिन कोही नआएको बताए । चुनावबारे कुराकानी गर्दा उत्साहित देखिएका उनले यसपल्ट मत परिवर्तन गर्ने मन बनाएर बसेको पनि सुनाए ।

‘पुरानालाई छाड्ने, नयाँ रोज्ने हो,’ हरिचन्द्रले पसलको काउन्टरमा राखेको रास्वपा उम्मेदवार विक्रम खनालको पर्चा देखाउँदै भने, ‘म त यसपालि भोट चेन्ज गर्छु ।’
उनले पनि नागरिकता र जग्गाधनी प्रमाण पुर्जासँगै नदी कटानको समस्या सुस्ता क्षेत्रका मुख्य समस्याहरू भएको बताए ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4