हाम्रो भान्सादेखि बजारका प्याकेटसम्म चिल्लो पदार्थले भरिएका परिकारहरू दिन प्रतिदिन बढ्दै गएका छन्। बिस्कुट, कुकिज, समोसा, चिप्स, केक, पिज्जा, मोमो यी सबै अहिलेको दैनिक रूपमा उपभोग हुन्छन्।
तर यिनै परिकारभित्र एउटा खतरनाक तत्व ट्रान्सफ्याट लुकेको हुन्छ। यसभित्र लुकेको चिल्लोले विस्तारै मुटु र रक्तनलीलाई क्षति पुर्याउँदै जान्छ। जसले ‘मौन विष’ सरह नै काम गर्छ।
ट्रान्सफ्याट के हो ?
ट्रान्सफ्याट मुख्यतः ‘पार्सियली हाइड्रोजेनेटेड फ्याट’ हो। साधारण भाषामा भन्नुपर्दा, वनस्पति तेललाई बारम्बार तताएर, प्रशोधन गरेर वा लामो समय टिकाउनका लागि रासायनिक प्रक्रिया अपनाउँदा यसमा ट्रान्सफ्याटको मात्रा बढ्छ। पहिले ‘डाल्डा’ वा वनस्पति घिउका रूपमा प्रयोग हुने पदार्थहरूमा यसको मात्रा उच्च हुन्थ्यो।
तेललाई पटक–पटक तताउनु, तारेका परिकार लामो समयसम्म राख्नु, फ्रोजन खाना बनाउनु, कुकिज वा बिस्कुट जस्ता परिकार लामो समय सुरक्षित राख्ने प्रक्रियाले ट्रान्सफ्याट बढाउँछन्। बजारमा पाइने धेरै प्याकेट खाद्य पदार्थ, स्न्याक्स, फास्टफुड तथा भोजभतेरका तारेका परिकारहरूमा ट्रान्सफ्याट पाइन्छ।
ट्रान्सफ्याटले शरीरमा ‘लो डेन्सिटी लाइपोप्रोटिन’ (एलडीएल) अर्थात् खराब कोलेस्ट्रोल बढाउँछ। ‘हाई डेन्सिटी लाइपोप्रोटिन’ (एचडीएल) अर्थात् राम्रो कोलेस्ट्रोल घटाउँछ।
एलडीएल बढेपछि त्यो सजिलै रक्तनलीको भित्तामा टाँसिन थाल्छ। विस्तारै चिल्लो तह जम्दै जान्छ र रक्तनली साँघुरो बन्छ। यस प्रक्रियालाई एथेरोस्क्लेरोसिस भनिन्छ। जब मुटुतर्फ जाने नली साँघुरो हुन्छ हार्ट अट्याकको जोखिम बढ्छ। मस्तिष्कतर्फ जाने नली प्रभावित भए स्ट्रोक हुन सक्छ। यी दुवै अवस्था ज्यानै जोखिममा पार्ने खालका हुन्।
ट्रान्सफ्याटले कोलेस्ट्रोल मात्रै बिगार्दैन, यसले उच्च रक्तचाप, मधुमेह र मोटोपनासँग पनि सम्बन्ध गाँस्छ। यी सबै कारक मिलेर ‘कार्डियोभास्कुलर डिजिज’ अर्थात् मुटु तथा रक्तनली सम्बन्धी रोगको जोखिम अत्यधिक बढाउँछन्।
अहिले अस्पतालमा आउने धेरै बिरामीमा खराब कोलेस्ट्रोल (एलडीएल) बढेको र राम्रो कोलेस्ट्रोल (एचडीएल) घटेको पाइन्छ। नेपाली जनमानसमा एचडीएल कम हुनु सामान्य समस्या जस्तै बनेको छ।
पहिले बिरामीहरू हार्ट अट्याक वा स्ट्रोक भइसकेपछि मात्र अस्पताल आइपुग्थे। तर अहिले केही सकारात्मक परिवर्तन देखिएको छ। नियमित स्वास्थ्य परीक्षणका क्रममा नै कोलेस्ट्रोल असन्तुलन पत्ता लाग्न थालेको छ। यसले जोखिम पहिल्यै थाहा पाउन मद्दत गर्छ।
क्लिनिक अनुभवका आधारमा हेर्दा, मुटुका गम्भीर बिरामीमध्ये ठूलो संख्यामा खराब चिल्लोको समस्या देखिन्छ। ओपीडीमा आउने बिरामीमध्ये आधाभन्दा बढीमा खानपान र जीवनशैलीसँग सम्बन्धित जोखिम तत्व पाइन्छ। धेरैलाई शुरुमा थाहा नै हुँदैन, दैनिक रूपमा खाइरहेका बिस्कुट, चिप्स वा तारेका परिकारले शरीरभित्र विस्तारै क्षति पुर्याइरहेका छन्।
बदलिंदो खानपान
पहिलेको जस्तो सादा खाना (चिउरा, मकै, भात, गेडागुडी) को सट्टा अहिले प्रोसेस्ड र प्याकेट खाना बढेको छ। बच्चादेखि वयस्कसम्म सबैको रोजाइ फास्टफुडतर्फ नै हुन्छ।
बजारमा उपलब्ध धेरै खानेकुरामा चिल्लो पदार्थको मात्रा उच्च हुन्छ। अझ लामो समय टिकाउन प्रिजर्भेटिभ प्रयोग गरिन्छ। तेलमा तारेका र फ्रोजन परिकारहरू दैनिक उपभोगमा आउँदा ट्रान्सफ्याटको मात्रा शरीरमा बढ्दै जान्छ। यो एकै दिनको असर होइन; वर्षौंसम्मको बानीले समस्या गम्भीर बनाउँछ।
अमेरिका र युरोपका धेरै देशहरूले ट्रान्सफ्याटको प्रयोग घटाउने नीति अपनाएका छन्। प्रशोधित मासु, ससेज, फ्रोजन फुड आदिमा कडाइ गरिएको छ। हरियो सागसब्जी र फाइबरयुक्त खानेकुराको माग बढ्दो छ। स्वास्थ्यप्रति सचेतना बढेसँगै ट्रान्सफ्याटलाई सार्वजनिक स्वास्थ्यको ठूलो चुनौतीका रूपमा लिइएको छ।

मुटुलाई स्वस्थ राख्ने उपाय
फाइबरयुक्त खानाले मुटु स्वस्थ राख्छ। गहुँको बोक्रा सहितको आटा, चामल, मकै, कोदो, गेडागुडी, भटमास, सागसब्जी र फलफूल नियमित खानुपर्छ।
चिया–बिस्कुटको सट्टा मकै–भटमास वा सादा चिउरा प्रयोग गर्न सकिन्छ। पिज्जा वा फ्राइड स्न्याक्सको सट्टा घरमै पकाएको सादा परिकार रोज्नु राम्रो हुन्छ। मासु खानै नहुने होइन, तर सन्तुलित मात्रामा र कम चिल्लो प्रयोग गरी खानुपर्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको प्याकेट, फ्रोजन र लामो समय टिकाइने प्रशोधित खानेकुरा सकेसम्म कम गर्नु हो। भोजभतेरमा अत्यधिक तारेका स्न्याक्स खाने बानी घटाउनुपर्छ।
व्यायामको अपरिहार्यता
खानपान सुधारसँगै नियमित व्यायाम पनि अनिवार्य छ। दैनिक कम्तीमा ३० मिनेट छिटो हिंड्ने, साइकल चलाउने, हल्का दौड वा योग गर्ने जस्ता अभ्यासले खराब कोलेस्ट्रोल घटाउन र राम्रो कोलेस्ट्रोल बढाउन मद्दत गर्छ। व्यायामले तौल नियन्त्रण, रक्तचाप सन्तुलन र मानसिक स्वास्थ्य सुधारमा समेत योगदान दिन्छ।
स्वास्थ्य हाम्रो आफ्नै हातमा छ। सादा, ताजा र प्राकृतिक खाना रोज्ने बानी, प्रशोधित तथा तारेका परिकार कम गर्ने निर्णय र नियमित व्यायाम गर्नुपर्छ। यी तीन कुरा अपनाउन सके मुटु रोगको जोखिम उल्लेख्य रूपमा घटाउन सकिन्छ।
आजैबाट सचेत बनौं, ताकि भोलि अस्पतालको शय्यामा पछुताउन नपरोस्।
(वरिष्ठ मुटुरोग डा. कोजुसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरिएको कुराकानीमा आधारित)
प्रतिक्रिया 4