+
+
Shares

‘दुई प्रतिशतभन्दा बढी हुनै नहुने ट्रान्सफ्याट १५ प्रतिशतसम्म’  

ट्रान्सफ्याटले रगतमा हुने खराब कोलेस्ट्रोलको मात्रालाई झन् बढाइदिन्छ र रक्तनलीभित्र रगत जमाउने काम गर्छ। जसका कारण दीर्घकालीन रोग लाग्ने जोखिम बढाउँछ।  

मनिता जोशी वैद्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, महानिर्देशक  मनिता जोशी वैद्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, महानिर्देशक 
२०८२ फागुन १५ गते १३:३५

ट्रान्सफ्याट अति खराब र स्वास्थ्यका लागि धेरै हानिकारक चिल्लो पदार्थ हो। ट्रान्सफ्याट प्राकृतिक रूपमा पनि पाइन्छ। अर्कोतर्फ,  औद्योगिक प्रक्रियाबाट उत्पन्न हुन्छ। औद्योगिक ट्रान्सफ्याट मुख्यतः वनस्पति तेललाई हाइड्रोजेनेसन विधिबाट घ्यूमा परिणत गर्दा उत्पन्न हुन्छ।

यस प्रक्रियामा उच्च तापक्रममा तताएर वनस्पति तेलमा हाइड्रोजन अणु मिसाएर उत्पादन गरिन्छ। यस्तो प्रक्रियामा तरल तेललाई ठोस पदार्थको अवस्था अर्थात् वनस्पति घ्यूमा रूपान्तरित हुन्छ। यस प्रक्रियाबाट उत्पादित वनस्पति घिउ बेकरी उत्पादन, बिस्कुट, विभिन्न प्रशोधित खाद्य पदार्थ बनाउनका लागि प्रयोग हुन्छ।

पछिल्लो तीन दशक यता वनस्पति घ्यू धेरै प्रयोग हुँदै र घ्यूको सस्तो विकल्पको रूपमा आएको छ। वनस्पति तेललाई धेरै पटक तताउँदा त्यसमा ट्रान्सफ्याटको मात्रा बढ्दै जान्छ। यसमा पकाएको खानेकुरा स्वास्थ्यका लागि हानिकारक हुन्छन्।

बिस्कुटजन्य उत्पादन, पफ, बेकरी, भुजिया, केक, डोनट, समोसा लगायत खानेकुरामा ट्रान्सफ्याटको मात्रा बढी हुन सक्छ। मापदण्डले खानेकुरामा प्रयोग गरिएको तेलको तौलको आधारमा दुई प्रतिशतभन्दा बढी नाघेको हुनुहुँदैन।

पशुपक्षीबाट प्राप्त हुने घ्यू महँगो हुन्छ। यसको विकल्पमा वनस्पति घ्यू धेरै सस्तो हुन्छ। यसबाट बनाएको खानेकुरा लामो समयसम्म नबिग्रिने भएकाले भण्डारण गर्न सजिलो हुन्छ। त्यसैगरी यस्ता खाद्यपदार्थमा विभिन्न बास्ना बाहिरबाट राख्न पनि मिल्ने हुन्छ। व्यवसायमा फाइदा हुने भएकाले खाद्य उद्योगमा वनस्पति घ्यूको प्रयोग धेरै हुन्छ।

ट्रान्सफ्याटको सेवनले एक–दुई दिनमै असर गर्दैन। तर लामो अवधिसम्म अधिक मात्रामा सेवन गर्दा मुटुजन्य रोगहरूको जोखिम उल्लेखनीय रूपमा बढ्छ। अहिलेका युवा पुस्ताले दैनिक रूपमा बेकरी उत्पादन र तलेको खाना उपभोग गर्दा ट्रान्सफ्याटको मात्राबारे सचेत हुन जरूरी छ।

वनस्पति तेलको हाइड्रोजेनेसनबाट बन्ने वनस्पति घ्यू, मार्जरिन र बेकरीमा उच्च मात्रामा ट्रान्सफ्याट उत्पन्न हुनजान्छ। जुन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ।  वनस्पति तेललाई पटक–पटक तताएर फ्राई गर्दा पनि ट्रान्सफ्याट उत्पन्न हुन्छ।

अत्यधिक ट्रान्सफ्याट भएका खानेकुरा लामो समयसम्म खाँदा मुटुरोग, मस्तिष्कघात, मधुमेह र क्यान्सर समेत हुन्छ।

ट्रान्सफ्याटले रगतमा हुने खराब कोलेस्ट्रोलको मात्रालाई झन् बढाइदिन्छ र रक्तनलीभित्र रगत जमाउने काम गर्छ। जसका कारण दीर्घकालीन रोग लाग्ने जोखिम बढाउँछ।  

नेपालको नीतिगत कदम

विश्व स्वास्थ्य संगठनले सन् २०२३ भित्र विश्वका सबै मुलुकबाट औद्योगिक ट्रान्सफ्याट हटाउने लक्ष्य राखी अभियान सञ्चालन गरेको छ।

२४ माघ २०७८ मा सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना (२०२१–२०२५) पारित गर्‍यो। यस योजना अन्तर्गत ट्रान्सफ्याटलाई खाद्य पदार्थको कुल चिल्लो पदार्थको तौलको दुई प्रतिशतभन्दा कम राख्ने नीति अपनाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्तर निर्धारण समितिबाट मापदण्ड पारित गरेका छौं। जुन मापदण्ड २५ साउन २०८१ देखि लागू भएको छ।

लागू हुने क्षेत्रः  हाइड्रोजेनेसन विधिद्वारा उत्पादित वनस्पति घ्यू, आंशिक रूपमा हाइड्रोजेनेसन गरिएका वनस्पति तेल र यस्ता पदार्थ प्रयोग गरी बनाइएका सबै खाद्य पदार्थ।

अधिकतम सीमाः कुनै पनि खाद्य पदार्थमा ट्रान्सफ्याटको मात्रा त्यस खाद्य पदार्थमा उपस्थित कुल चिल्लो पदार्थको तौलको २ प्रतिशतभन्दा बढी हुन पाइँदैन।

लेबलिङ आवश्यकता: यदि कुनै उत्पादकले आफ्नो उत्पादनलाई ‘ट्रान्सफ्याट रहित’ भनी दाबी गर्छ भने त्यसमा ट्रान्सफ्याटको मात्रा प्रति १०० ग्राम चिल्लोमा ०.२ ग्रामभन्दा बढी हुनुहुँदैन।

यो मापदण्ड सम्पूर्ण खाद्य पदार्थको तौलमा नभई त्यसमा उपस्थित चिल्लो पदार्थको तौलका आधारमा लागू हुन्छ।  

तेल पुनःप्रयोगको समस्या 

होटल तथा रेस्टुरेन्टहरूमा तेललाई पटक–पटक प्रयोग गर्ने चलन ट्रान्सफ्याट उत्पन्न हुने अर्को प्रमुख कारण हो।

यसको निगरानीका लागि विभागले टोटल पोलार मिटर नामक डिजिटल उपकरण प्रयोग गर्दै आएको छ। यो उपकरणले ट्राफिक बत्तीको सिद्धान्तमा काम गर्छः

–टिपिएम मान २२ प्रतिशत भन्दा कम तेल सुरक्षित मानिन्छ। जसले हरियो संकेत दिन्छ।

–टिपिएम मान २२ देखि २५ प्रतिशतसम्म तेलले सावधानी आवश्यक भएको देखाउँछ। जुन पहेंलो संकेत दिन्छ।

–टिपिएम मान २५ प्रतिशतभन्दा बढी भएको तेल हानिकारक हुन्छ। जसले रातो संकेत गर्छ।

जुनसुकै चिल्लो पदार्थको प्रयोग गरी टिपिएम मान २५ प्रतिशतभन्दा बढी भएका खानेकुरामा धेरै ट्रान्सफ्याट बनेको हुन्छ।

साढे १५ प्रतिशतसम्म ट्रान्सफ्याटको मात्रा 

२५ साउन २०८१ मा १८० दिनको समयसीमा दिएर लागू गरिएको थियो। विभागले अहिले आफैंले परीक्षण गर्दै आएको छ। एक वर्ष अवधिमा ६७ वटा खाद्य उत्पादनको परीक्षण गर्दा केही बेकरीजन्य उत्पादनहरूमा मापदण्डभन्दा बढी ट्रान्सफ्याट फेला परेको थियो।

जसमध्ये ११ वटा खाद्य पदार्थमा ट्रान्सफ्याटको मात्रा मापदण्डभन्दा बढी भएको पाइएको थियो। साढे १५ प्रतिशतसम्म ट्रान्सफ्याटको मात्रा पाइएको छ। जुन प्रतिशत स्वास्थ्यका लागि धेरै हानिकारक हो।

यसक्रममा ८ वटा पफको परीक्षण गरिएको थियो। चार वटा पफमा मापदण्डभन्दा बढी ट्रान्सफ्याटको मात्रा थियो। ६ वटा वनस्पति घ्यूको परीक्षण गर्दा ४ वटामा ट्रान्सफ्याटको मात्रा अत्यधिक थियो। यस्ता खाद्य पदार्थलाई तत्काल बजारबाट फिर्ता गर्न लगाइयो।

नेपालमा ट्रान्सफ्याट मापदण्डको कार्यान्वयन नै महत्त्वपूर्ण कदम हो।  स्रोत बिन्दुमा नियन्त्रण, बजार अनुगमन, उद्योगी सचेतना र उपभोक्ता शिक्षाको संयुक्त प्रयासले मात्र यस अभियानलाई सफल बनाउन सकिन्छ। विभाग, उद्योग क्षेत्र र नागरिक समाजको प्रयासले नेपालको खाद्य बजारलाई ट्रान्सफ्याटमुक्त बनाउन सम्भव छ।

यस क्षेत्रमा भारत, बंगलादेश, श्रीलंका र अन्य छिमेकी मुलुकहरूले पहिले नै २ प्रतिशतको सीमा लागू गरिसकेका कारण नेपालले पनि एकैपटक यही मानकमा झार्ने निर्णय गरेको हो। सरकारले खाद्य पदार्थको औद्योगिक ट्रान्सफ्याटको मात्रा दुई प्रतिशत भन्दा तल कायम गर्ने लक्ष्य लिएको छ।

नसर्ने रोगहरूको नियन्त्रणको बहुपक्षीय कार्ययोजना (२०२१–२५) मा ट्रान्सफ्याटको मात्रा दुई प्रतिशत व्यवस्था गरेको छ। नयाँ मापदण्ड लागू भएपछि धेरैजसो उद्योगहरूले आफ्नो उत्पादन प्रक्रिया र कच्चा पदार्थ परिवर्तन गरेका छन्। केही उद्योगहरूले प्रत्येक ब्याच उत्पादन गर्नुअघि परीक्षण गरेर मात्र बजारमा पठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

ट्रान्सफ्याटको सेवनले एक–दुई दिनमै असर गर्दैन। तर लामो अवधिसम्म अधिक मात्रामा सेवन गर्दा मुटुजन्य रोगहरूको जोखिम उल्लेखनीय रूपमा बढ्छ। अहिलेका युवा पुस्ताले दैनिक रूपमा बेकरी उत्पादन र तलेको खाना उपभोग गर्दा ट्रान्सफ्याटको मात्राबारे सचेत हुन जरूरी छ।

नेपालमा ट्रान्सफ्याट मापदण्डको कार्यान्वयन नै महत्त्वपूर्ण कदम हो।  स्रोत बिन्दुमा नियन्त्रण (आयात र स्थानीय उत्पादन), बजार अनुगमन, उद्योगी सचेतना र उपभोक्ता शिक्षाको संयुक्त प्रयासले मात्र यस अभियानलाई सफल बनाउन सकिन्छ। विभाग, उद्योग क्षेत्र र नागरिक समाजको प्रयासले नेपालको खाद्य बजारलाई ट्रान्सफ्याटमुक्त बनाउन सम्भव छ।

(खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमहानिर्देशक वैद्यसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?