News Summary
Generated by OK AI. Editorially reviewed.- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं र ललितपुरका उद्योग र रेस्टुरेन्टहरूमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ नपालना गरेको पत्ता लगाएको छ।
- चन्द्रागिरि नगरपालिका-१५ स्थित एलजी ग्लुकोज प्याकेजिङ उद्योगले अनुमति नलिई ग्लुकोज उत्पादन गरी बजारमा पठाएको भेटिएको छ।
- खाद्य विभागले फोहोर व्यवस्थापन र अखाद्य वस्तु प्रयोग गरेको रेस्टुरेन्टहरूलाई सुधार नगरे कारबाही गर्ने चेतावनी दिएको छ।
६ फागुन, काठमाडौं । खाद्य बजारमा व्यवसायीहरूले नाफा कमाउने बहानामा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै गरेको बजार अनुगमन क्रममा धेरैजसो उद्योगी र व्यवसायीले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ पालना नगरेको र न्यून गुणस्तरका खाद्य वस्तु बिक्री वितरण गरिरहेको फेला पारेको हो ।
विभागका अनुसार बजारमा खाद्य मापदण्ड विपरीत वस्तुहरूको प्याकेजिङ गर्ने र स्वच्छतामा ध्यान नदिने समस्या बढ्दो देखिएको छ ।
यसैबीच काठमाडौं चन्द्रागिरि नगरपालिका-१५ मा सञ्चालित एलजी ग्लुकोज प्याकेजिङ उद्योगमा अनुगमन क्रममा उद्योगले सरकारबाट कुनै पनि अनुमति नलिई लामो समयदेखि ग्लुकोज प्याकेजिङ गरेर बजार पठाइरहेको भेटिएको विभागले जनाएको छ ।
विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार २५ माघमा परेको उजुरीका आधारमा ४ फागुनमा गरिएको अनुगमनमा उद्योगमा रहेको ४ सय किलो ग्लुकोज रोक्का गरिएको छ ।
विभागले उक्त ग्लुकोजको नमुना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाएको छ भने उद्योगमाथि कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
खाद्य ऐन अनुसार अनुमति नलिई खाद्य पदार्थ बिक्री गर्नेलाई ५ हजारदेखि ५ लाख रुपैयाँसम्म जरिबाना र पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ ।
विभाग टोलीले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा गरेको संयुक्त अनुगमनले होटल तथा रेस्टुरेन्टहरूको अवस्था पनि निकै सन्तोषजनक नरहेको देखाएको छ ।
ललितपुरको दरबार क्याफे एन्ड रेस्टुरेन्टमा गरिएको अनुगमन क्रममा भान्सा सरसफाइ निकै कमजोर रहेको, फोहोर फाल्ने डस्टबिन खुला छाडिएको र खानेकुरामा उपभोग्य मितिसमेत उल्लेख नगरिएको पाइएको थियो ।
मानिसको स्वास्थ्यका लागि हानिकारक मानिने पत्रिकाको कागजमा चाउमिन बेरेर राख्ने गरिएको र बिर्यानी पकाउँदा अखाद्य कृत्रिम रङ प्रयोग गरिएको भेटिएको छ ।
विभागले त्यस्ता २ किलो चाउमिन नष्ट गर्नुका साथै सात दिनभित्र सुधार नगरे थप कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
यसैगरी विभागले काठमाडौंकै शिव शंकर स्विट एन्ड चाटमा पनि अनुगमन गरेको थियो, जहाँ भान्साको अवस्था दयनीय पाइएको थियो ।
साथै, खानेकुरा प्याक गर्न मसीयुक्त कागज प्रयोग भइरहेको भेटिएपछि विभागले त्यस्ता हानिकारक कागज नष्ट गरिदिएको छ ।
विभागले व्यवसायीलाई मिठाईजन्य पदार्थमा अखाद्य वस्तु नमिसाउन र तोकिएको मापदण्ड मात्र पालना गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया 4