+
+
Shares
सरकारी जागिरको लोभले निम्त्याएको अपराध :

लोक सेवाको वैकल्पिक उम्मेदवारले गरे उत्तीर्ण सब-इन्जिनियरको हत्या

लोकसेवा परीक्षा दिएर वैकल्पिक उम्मेदवार सूचीमा परेका अर्का उम्मेदवारले उनको हत्यापछि रिक्त हुने पदमा जागिर खाने आशाका साथ हत्या गरेको प्रहरीले जनाएको छ ।

अमलेश शर्मा अमलेश शर्मा
२०८२ फागुन १५ गते १९:४२

१५ फागुन, सर्लाही । पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब-इन्जिनियर प्रमोदकुमार यादवको हत्या लोकसेवा परीक्षाका प्रतिस्पर्धीले योजनाबद्ध रूपमा गरेको खुलेको छ । उनीसँगै लोकसेवा परीक्षा दिएर वैकल्पिक उम्मेदवार सूचीमा परेका अर्का उम्मेदवारले उनको हत्यापछि रिक्त हुने पदमा जागिर खाने आशाका साथ हत्या गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन नै गरेर अभियुक्त तीन जनालाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार यादवको हत्याका मुख्य अभियुक्त महोत्तरीको रामगोपालपुर नगरपालिका-५ भई पछिल्लो समय सर्लाहीको बरहथवा नगरपालिका–९ शान्ति टोलमा बस्ने ३४ वर्षीय गणेशकुमार महतो हुन् । उनी रामनगर गाउँपालिकामा करारमा प्राविधिक सहायकका रूपमा कार्यरत थिए ।

यादव र महतोले गत वर्ष मधेश प्रदेश लोक सेवा आयोगको सहायक पाँचौँ तह (सब-इन्जिनियर) पदमा उम्मेदवारी दिएका थिए । सो परीक्षामा यादव उत्तीर्ण भएर २०८१ फागुन ४ गते जागिरका लागि सिफारिस भएका थिए । महतो भने एक्लै वैकल्पिक सूचीमा परेका थिए ।

उत्तीर्ण उम्मेदवार नियुक्त भएको एकवर्ष भित्रै कुनै कारणले पद रिक्त भए वैकल्पिक उम्मेदवारले मौका पाउने कानुनी प्रावधान छ । सोही प्रावधानबाट आफू मौका पाउने नियतका साथ महतोले हत्या योजना बनाएको पाइएको प्रहरीको दाबी छ ।

मलंगवा नगरपालिका-१० मा डेरा गरी बस्दै आएका यादवको फागुन ३ गते हत्या भएको थियो । फोनमार्फत डेराबाट बोलाएर उनीमाथि गोली प्रहार भएको थियो । गम्भीर घाइते भएका यादवको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको थियो ।

यसरी भयो हत्या

प्रहरीका अनुसार घटनाकै दिन अभियुक्त महतो आफ्ना साला चन्द्र किशोर सिंह कुशवाहासँग भारतीय नम्बर प्लेटको मोटरसाइकलमा मलंगवा पुगेका थिए । महतोले ह्वाट्सएप कलमार्फत यादवलाई कोठाबाहिर बोलाए । त्यही उनीमाथि गोली प्रहार गरियो ।

हत्यामा संलग्न महतो र उनका साला कुशवाहालाई प्रहरीले पक्राउ गरिसकेको छ । यस्तै हतियार उपलब्ध गराएको आरोपमा महतोका भाइ २२ वर्षीय विजयकुमार महतो पक्राउ परेका छन् ।

प्रहरी अनुसन्धानमा महतो र यादवबिच लोक सेवा आयोगको अन्तर्वार्ताका दिन चिनजान भएको खुलेको छ । महतोले आफूलाई ‘राकेश यादव’ भनेर परिचय दिएका थिए । त्यसपछि उनले यादवसँग निरन्तर सम्पर्क राख्दै आएका थिए ।

हत्या योजनाअनुसार नै महतोले दसैँअघि भाइ विजयलाई पेस्तोल किन्न ८० हजार रुपैयाँ दिएको खुलेको छ । प्रहरीले घटनामा प्रयोग भएको एक थान पेस्तोल, गोलीको खोका, भारतीय नम्बर प्लेटको मोटरसाइकल र तीन थान मोबाइल फोन बरामद गरेको छ ।

हत्यामा प्रयोग भएको मोटरसाइकल रौतहटको गढीमाई नगरपालिका-५ को बागमती नदी किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो ।

यस्तै हत्यामा प्रयोग भएको पेस्तोल चार दिनपछि मलंगवा नगरपालिका–७ स्थित निर्माणाधीन मन्दिरमा एक बालकले फेला पारेको थिए । सो पेस्तोल खेलाउने क्रममा पड्किए ती बालक घाइते नै भएका थिए ।

घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले गरेको हो । पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?