News Summary
Generated by OK AI. Editorially reviewed.- परेवाले हजारौँ वर्षदेखि सन्देशवाहकको रूपमा मानव सभ्यतामा महत्वपूर्ण भूमिका खेलेका छन्।
- विश्वयुद्धमा परेवाले गोप्य सूचना बोकेर सैनिकहरूको जीवन जोगाएको इतिहास छ।
- नेपालमा परेवालाई धार्मिक र सांस्कृतिक रूपमा शान्ति र पुण्यको प्रतीक मानिन्छ।
जा जा जा जा… कबूतर जा जा जा…
जा जा जा जा… कबूतर जा जा जा…
पहले प्यार की पहली चिट्ठी.. साजन को दे आ…
कबूतर जा जा जा………
यो गीत कतिलाई याद छ ?

सम्भवतः ९० दशकको बहुचर्चित यो गीत जब बज्छ, अधिकांशको दिमागमा एउटा पुरानो फिल्मको दृश्य आउँछ, सलमान खान र भाग्यश्रीको प्रेम कथा ।
‘मैने प्यार किया’ फिल्मको सो गीतमा दुई प्रेम–प्रेमिकाको भावना साट्न परेवालाई सन्देश आदान–प्रदान गर्ने पत्रबाहक बनाइएको छ । गीतमा प्रेमिकाले परेवाको मुखमा चिठ्ठी च्याप्न लगाएर उडाउँछिन्, र त्यो प्रियजनको हातमा पुग्छ ।
फिल्ममा मात्र होइन, वास्तविक जीवनमा पनि परेवाले यस्तै काम गरेको इतिहास छ ।
चट्टानको भीरमा बस्ने परेवा, मल र मासुका लागि घरसम्म ल्याइए
पहिले पेरवा मेसोपोटामिया हालको इराक, इजिप्ट र एशियाली देश इरान, अफगानिस्तान, भारतको उत्तर-पश्चिमी भागका विभिन्न भू-भागको चट्टानको भीर, जंगल र पहाडी क्षेत्रमा बस्थे । यही प्राकृतिक बासस्थान नै उनीहरुको घर थियो ।
त्यसैले, पहिले ‘रक डोब’ भनिन्थ्यो । वैज्ञानिकले परेवालाई ‘कोलम्बीया लिभिया’ नाम दिए ।
विस्तारै मान्छेले परेवाको मल र मासु उपभोग गर्न आफूसँग ल्याएर पाल्न थाले । यसको मलमा नाइट्रोजन, फोस्फोरस र पोटासियम पर्याप्त हुन्छ, जसले निर्जन माटोलाई उर्वर बनाउँथ्यो ।

इजिप्टका पुरातात्विक शिलालेख अनुसार कम्तीमा ४ हजार वर्षअघि नै इजिप्टियनहरूले परेवालाई देवताहरूको लागि बलि, धार्मिक अनुष्ठान र मासुका लागि पाल्न थालेका थिए ।
मेसोपोटामियाका माटोका फल्याकहरूमा ५ हजार वर्ष पुराना स्पष्ट उल्लेख छन्, जसले परेवा पालनको प्रमाण दिन्छन् ।
जंगलमा बस्ने परेवालाई पाल्तु बनाउने प्रक्रिया अत्यन्त क्रमिक र भावनात्मक थियो ।
मानिसहरूले जंगली परेवालाई चट्टानको पहाडबाट बिस्तारै ल्याएर घर नजिकैका चट्टान जस्ता संरचनाहरू बनाइदिएर राख्न थाले ।
उनीहरूको प्रजनन क्षमता आश्चर्यजनक थियो । एक जोडीले वर्षमा ६ देखि ८ पटक अण्डा पार्न सक्छन् ।
यो उच्च प्रजनन दरले उनीहरूलाई छिट्टै बढाउन सजिलो बनायो । समयक्रममा प्रजनन सेलेक्टिभ ब्रीडीङमार्फत मानिसले विभिन्न प्रजाति विकास गरे । समयक्रमसँगै परेवा मान्छेसँग घुलमिल भए र जंगललाई बिर्सिए ।
त्यहीँबाट हाम्रो इतिहासको अटुट हिस्सा बने ।
प्राचीन ‘म्यासेन्जर’ परेवा
मानिसले आकाशलाई हेरेर स्वतन्त्रताको कल्पना गर्यो, तर त्यो स्वतन्त्र आकाशमै उड्ने परेवा कहिल्यै कुनै बेला सन्देशको भरपर्दो माध्यम बन्ला भन्ने कसैले सोचेको थिएन ।
प्राचीन इजिप्ट, रोम साम्राज्यले परेवाको अद्भुत क्षमता पहिल्याएर प्रयोगमा ल्याए ।

त्यो हो, सयौं किलोमिटर टाढाबाट पनि आफ्नो बासस्थान फर्किन सक्ने क्षमता ।
परेवाहरुले पृथ्वीको चुम्बकीय क्षेत्र, सूर्यको स्थिति, गन्ध, दृश्य संकेत र इन्फ्रासाउन्ड प्रयोग गर्छन् । उनीहरुको आँखामा क्रिप्टोक्रोम प्रोटिनले चुम्बकीय क्षेत्र देख्न सक्छ, जसले मानसिक नक्सा बनाएर गन्तब्यमा पुग्न सक्छन् ।
यही स्वभावका कारण साना कागजका चिठी खुट्टामा बाँधेर पठाइन्थ्यो । यो क्रम प्राचीन मिश्रमा करिब १३५० ई.र्पू अघि सुरु भएको मानिन्छ ।
एउटा चरालाई सन्देश ओसारपोसार गराउने माध्यम बनाउन कसरी सम्भव भयो, त ?
यो खुबी पहिल्याउन सानोतिनो कागजमा लेखिएको सन्देश परेवाको खुट्टामा हल्का डोरीले बाँधिन्थ्यो । परेवालाई पहिले नै आफ्नै ‘घर’ मा पालेर तालिम दिइन्थ्यो ।
जब उसलाई टाढा लगेर छोडिन्थ्यो, ऊ स्वाभाविक रूपमा आफ्नै बासस्थान फर्किन्थ्यो । र, त्यहीँ सन्देश सुरक्षित पुग्थ्यो ।
टेलिग्राफ, टेलिफोन र इन्टरनेट नहुँदाको युगमा परेवा भरोसाको जीवित पुल थियो । उसले युद्धको गोप्य सूचना बोकेको इतिहास छ ।
इतिहासकारहरुका अनुसार परेवामार्फत सन्देश पठाउने चलन करिब तीन हजार वर्षअघि प्राचीन इजिप्टबाट सुरु भएको मानिन्छ । त्यतिबेला नील नदी आसपासका बस्तीहरूबीच छिटो खबर पुर्याउन परेवा प्रयोग गरिन्थ्यो । व्यापार, राज्यका सूचना र विशेष घोषणाहरू यिनै पखेटामार्फत पुग्थे ।
पछि यो अभ्यास रोम साम्राज्यमा व्यवस्थित बन्यो । युद्धको समयमा सेनाले टाढाका मोर्चाबाट राजधानीसम्म खबर पठाउन ‘होमिङ पिजन’ प्रयोग गर्थे ।
रोमनहरूले युद्धमाजस्तै जुलियस सिजरको गल विजयमा परेवामार्फत नै सन्देश आदानप्रदान गरेको मानिन्छ ।
मध्ययुगमा अरबीहरूले बगदादमा विशेष टावर बनाएर ‘प्राचीन इन्टरनेट’ जस्तै गरी प्रयोग गरे ।
विस्तारै यो परम्परा एसियातिर फैलियो र मुगल साम्राज्यकालमा त दरबारदेखि दुर्गम किल्लासम्म सूचना आदान–प्रदानको सशक्त माध्यम बन्यो । पुराना फल्याकहरूमा पनि परेवाको चित्र पाइन्छ, जसले देवताहरूको सन्देशवाहकको रूपमा देखाउँछ ।
समय बदलियो, प्रविधि आयो । तर परेवाले लेखेको त्यो मौन अध्याय मानव सभ्यताको स्मृतिमा अझै उस्तै सजीव छ ।
विश्व युद्धमा सैनिक बचाउने परेवा

विश्वयुद्धको कठिन परिस्थितिमा परेवा सामान्य चराचुरुङ्गी थिएन, ऊ जीवन बचाउने साहसी दूत थियो ।
प्रथम विश्वयुद्धका क्रममा सन्देश आदान–प्रदानका लागि हजारौँ होमिङ परेवा प्रयोग गरिन्थे ।
तार र टेलिफोन लाइन काटिँदा, धुवाँ र बारुदले आकाश ढाकिँदा, सैनिकहरूको अन्तिम आशा यिनै पखेटामा टेकेको हुन्थ्यो । सन् १९१८ को अक्टोबर ४ मा ‘लस्ट बटालियन’ भनेर चिनिने अमेरिकी सैनिकहरूको एक समूह जर्मन सेनाबाट घेरिएको थियो ।
आफ्नै तोपबाट पनि गल्तीले हमला भइरहेको थियो । यस्तो संकटमा ‘चेर अमी’ नामको परेवालाई सन्देश बाँधेर आकाशमा छोडियो । सन्देशमा उनीहरू रहेको सही स्थान उल्लेख थियो, ताकि आफ्नै आक्रमण रोकियोस् ।
उड्ने क्रममा चेर अमीमाथि गोली प्रहार भयो । उसको छातीमा गहिरो चोट लाग्यो, एउटा खुट्टा झण्डै चुँडियो, एउटा आँखा पनि गुमायो ।
तर घाइते अवस्थामै उसले हार मानेन । करिब ४० किलोमिटर दूरी २५ मिनेटमै पार गर्दै ऊ आफ्नो गन्तव्यमा पुग्यो । सन्देश समयमै पुगेपछि तोपको आक्रमण रोकियो र १९४ सैनिकको ज्यान जोगियो ।
युद्धभर परेवाहरूले गोप्य सूचना, सहायता माग्ने खबर, र आक्रमण रोक्ने सन्देश बोके । उनीहरूलाई विशेष तालिम दिइन्थ्यो र सुरक्षित रूपमा ‘लोफ्ट’ मा फर्किन सिकाइन्थ्यो । चेर अमीको साहसका लागि उसलाई फ्रान्स सरकारले ‘क्रोइक्स डे गुएर’ पदक प्रदान गर्यो ।
दोस्रो विश्वयुद्धमा पनि लाखौं जीवन बचाएको किस्सा छ ।
प्रविधिको विकास (रेडियो, टेलिफोन) सँगै यो उपयोगिता घट्यो, तर परेवाको यो क्षमता इतिहासको सबैभन्दा मीठो कथा हो, जसको स्मरण आजको दिनमा पनि गरिन्छ ।
परेवाको जोडीको उदाहरण
‘जोडी होस् त परेवाको जस्तो’, यो भनाइ केवल शब्द होइन, अनुभूति हो । परेवा प्रायः एउटै साथी रोज्छ र लामो समयसम्म समर्पित हुन्छन् । परेवाको यौन जीवन शान्त हुन्छ । भालेले पोथीलाई आकर्षित गर्छ, दुवैले छोटो मिलन गर्छन् । भालेले पोथीलाई माया भरिएको कूइँ–कूइँ स्वरले बोलाउँछ, वरिपरि फन्को मार्दै फकाउँछ ।

जोडी बनेपछि दुवैले मिलेर गुँड बनाउँछन्, पालैपालो अण्डा सेक्छन् र बच्चालाई हुर्काउँछन् । एकअर्काको प्वाँख स्याहार्दै, काँधमा काँध मिलाएर बस्दै उनीहरू स्नेह देखाउँछन् । त्यसैले फिल्म र कथाहरूमा सेता परेवाको जोडी प्रेम, निष्ठा र शान्तिको शक्तिशाली बिम्ब बन्छ ।
धर्म, संस्कृतिमा परेवा
परिवर्तनशील संस्कृतिमा परेवा सदैव शान्ति र पुण्यको प्रतीक बनेको छ । हिन्दू धर्ममा परेवा रति देवी (कामदेवकी पत्नी) को वाहन मानिन्छ, जसले प्रेम, कामना र सौन्दर्यको संकेत गर्छ । कतिपय लोककथामा परेवालाई यमराजसँग पनि जोडिएको पाइन्छ ।
नेपालका मन्दिरहरूमा परेवालाई चामल खुवाउने प्रचलन छ, जसले पूर्वजहरूलाई शान्ति र पुण्य मिलोस् भन्ने विश्वास जगाउँछ । बौद्ध परम्परामा पनि परेवा शान्ति र सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ ।
उदाहरणका लागि, बौद्धनाथ स्तुपामा चामल छर्दा पखेटाबाट फैलिने हावाले सकारात्मकता फैलाउँछ भन्ने कथा प्रचलित छ । इस्लाम र क्रिश्चियन धर्ममा पनि परेवा पवित्र मानिन्छ ।
शुभ कार्यमा परेवा

परेवालाई कुनै पनि काम गर्दा उडाउने गरेमा शुभ हुने विश्वास रहेको पाइन्छ । त्यसैले, महोत्सव, विवाह वा पूजा जस्ता शुभ अवसरमा परेवालाई उडाउनु प्रचलन छ ।
विशेषतः थारू र नेवारी समुदायमा यो चलन देखिन्छ । राजनीतिज्ञहरूले पनि कार्यक्रमको सुरुवातमा शुभता र भाग्य ल्याउने विश्वासमा परेवालाई उडाउँछन् ।
यसरी परवा केवल पंक्षी मात्र नभई धर्म, संस्कृति र समाजलाई जोड्ने आध्यात्मिक दूतको रूपमा सम्मानित छ ।
हेलाको पात्र बन्दै
विश्वभर परेवा र ढुकुरलाई पहिले सम्मानको नजरले हेरिन्थ्यो । युद्धमा जीवन बचाउने, सन्देश बोकेर आशा पुर्याउने, घरपालुवा साथी बन्ने । यी सबै योगदानका कारण तिनीहरू मानव समाजका नायक मानिन्थे।
तर, १९औं–२०औं शताब्दीमा टेलिग्राफ, टेलिफोन र रेडियोको आगमनसँगै उनीहरूको उपयोगिता घट्न थाल्यो । धेरै परेवा शहरमा छरिए ।
फोहोरमा खाना खोज्ने, भवन नोक्सान गर्ने भन्दै तिनीहरूलाई ‘फोहोर चरा’ भनेर मानिसहरुबाटै हेपिए ।

नेपालमा पनि स्थिति यस्तै भयो । काठमाडौंका प्राचीन मन्दिरहरू—बसन्तपुर दरबार स्क्वायर, पशुपतिनाथ, बौद्धनाथ स्तूप, स्वयम्भूनाथ स्तूपमा परेवालाई बिहान–बेलुका चारो खुवाइन्छ, पर्यटक तस्वीर खिच्छन् । यो दैनिक देखिने परेवाको उपस्थितिले मन्दिर परिसरलाई जीवन्त बनाउँछ ।
यो दृश्य सबैलाई मनपर्छ, पनि । तर, यही परेवा घरमा आयो भने उनीहरूलाई ‘फोहोर चरा’ भन्दै ढुङ्गा हानिन्छ, गुँड बनाएर बस्यो भने भत्काइन्छ्, बरन्डाबाट धपाइन्छ ।
यो विरोधाभासले देखाउँछ, एकातिर मन्दिर परिसरमा हरेक बिहान चारो छरिन्छ, पर्यटकहरू फोटो खिच्छन् र परेवालाई शहरको जीवन्तता दिने ठानिन्छ । अर्कोतिर स्थानीयहरूले नै यिनलाई दुःख दिन्छन् । यो आधुनिक जीवनशैलीको प्रभाव हो, व्यस्तता, प्रदूषण र अज्ञानताले प्रकृतिसँगको हाम्रो आत्मीय सम्बन्ध धमिल्याएको छ ।
प्रतिक्रिया 4