+
+
Shares

रौतहटमा निर्वाचन सुरक्षाको तयारी पूरा

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०८२ फागुन १९ गते १३:२९
तयार हुँदै गरेको मतदानस्थल ।

१९ फागुन, रौतहट । प्रतिनिधि सभा निर्वाचन निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाको सम्पूर्ण तयारी पुरा भइसकेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

शान्तिपूर्ण निर्वाचनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी सहितको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । नेपाली सेनाले चारवटै निर्वाचन क्षेत्रमा बम डिस्पोजल टोलीसमेत परिचालन गरेको छ ।

निर्वाचन स्थलको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहने छन् । त्यसभन्दा बाहिरी घेरामा सशस्त्र प्रहरी तथा नेपाली सेनाले सुरक्षा दिनेछन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सम्मिलित संयुक्त सुरक्षा टोलीले गस्ती समेत गरिरहेको छ ।

रौतहटका चार निर्वाचन क्षेत्रमा २७७ मतदानस्थलमा ५४१ मतदान केन्द्र तोकिएको छ । कुल मतदाता संख्या ४ लाख ३६ हजार ६ सय ११ जना छन् । सबै मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारीहरु पुगिसकेका छन् ।

भारतसँगको सिमानालाई हिजो रातिदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ । भारतबाट नेपालतर्फ आउने नेपाली नागरिकको हकमा नागरिकता हेरेर प्रवेश दिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।

बन्द गरिएको भारतसँगको सिमाना

समानुपातिक मत खसाल्न जिल्लाका तीन ठाउँमा व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

रौतहटको गौरमा रहेको जिल्ला अदालतको चौर, इलाका प्रहरी कार्यालय गौरको मैदान र कारागार मतदान स्थलमा मत समानुपाकित मत खसाल्ने व्यवस्था मिलाइएको निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले बताए ।

प्रमुख जिल्ला अधिकारी भुसालले सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएकाले निर्धक्क भई आ–आफ्नो मतदान स्थलमा गएर मताधिकार प्रयोग अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?