१४ फागुन, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सात प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई सातै प्रदेशमा खटाइएको छ ।
निर्वाचन सुरक्षा चुस्त पार्नका लागि प्रहरी प्रधान कार्यालय तथा विभिन्न विभागहरूमा रहेका सात एआईजीलाई प्रदेश कमाण्डमा खटाइएको हो । उनीहरूले निर्वाचन अवधिभर प्रदेशमा रहेर त्यस मातहतका जिल्लाहरूको सुरक्षा कमाण्ड गर्ने बताइएको छ ।
जसअनुसार कोशी प्रदेशमा मानव स्रोत विभागका एआईजी राजन अधिकारीलाई खटाइएको छ । उनले कोशी प्रदेशका जिल्लाहरूमा गएर अनुगमन तथा निर्देशन दिइरहेका छ । कोशी प्रदेशका प्रहरी प्रमखु भने डीआईजी विनोद घिमिरे छन् ।
कोशी प्रदेशकै सबैभन्दा चुनौतीपूर्ण मानिएको झापामा एसएसपी पनि खटाइएको छ । एसएसपी गोविन्द अधिकारीलाई झापामा खटाइएको हो । उनले झापा र इलामको कमाण्ड गर्नेछन् । झापाको जिल्ला प्रहरी प्रमुख भने एसपी बसुन्धरा खड्का छिन् ।
त्यस्तै मधेश प्रदेशमा एआईजी डम्बर विकलाई पठाइएको छ । उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए । मधेश प्रदेशका आठ जिल्लाको उनले अनुगमन, निर्देशन गर्ने छन् । मधेश प्रदेश प्रहरी कार्यालयको प्रमुख भने डीआईजी गोविन्द थपलिया छन् ।
मधेश प्रदेशका सर्लाही, रौतहट जिल्लाको कमाण्ड गर्ने गरी एसएसपी सुरेश काफ्लेलाई पठाइएको छ ।
बागमती प्रदेशको कमाण्ड गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी सिद्धिविक्रम शाहलाई पठाइएको छ । बागमती प्रदेश प्रहरी कार्यालयको प्रमुख भने डीआईजी दीपक रेग्मी छन् ।
हरेक पटकको चुनावमा झडप हुने दोलखामा एसपी नान्तिराज गुरुङलाई पठाइएको छ । दोलखाको प्रहरी प्रमुख भने डीएसपी हुन्छन् । काभ्रे र सिन्धुपाल्चोकका कमाण्ड गर्ने गरी विनोद सिलवाललाई पठाइएको छ ।
गण्डकी प्रदेशमा भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत एआईजी डा. मनोज केसीलाई पठाइएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख भने डीआईजी दीपेन्द्र जिसी छन् ।
यो प्रदेशको कास्की र स्याङ्जा हेर्न गरी जनार्दन जिसीलाई खटाइएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा कार्य विभागका प्रमुख उमा प्रसाद चतुर्वेदीलाई खटाइएको छ । यो प्रदेशको प्रहरी प्रमुख भने भुपेन्द्र बहादुर खत्री छन् । रुपन्देही र कपिलवस्तु कमाण्ड गर्ने गरी ऋषिराम कँडेललाई खटाइएको छ ।
कर्णाली प्रदेशमा अपराध अनुसन्धान विभागका एआईजी सुशील सिंह राठौरलाई खटाइएको छ । यो प्रदेशका प्रहरी प्रमुख भने जयराज सापकोटा हुन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेशको कमाण्ड गर्न प्रशासन विभागका प्रमुख हिमालय कुमार श्रेष्ठलाई पठाइएको छ । यो प्रदेशको प्रहरी प्रमुख भने ओम बहादुर राना हुन् ।
त्यस्तै उपत्यकाका तीन जिल्लाको कमाण्ड गर्ने एआईजी ईश्वर कार्कीले गर्नेछन् । यी ती जिल्लाको निर्वाचन हेर्न भने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले एसएसपी रमेश बस्नेतको कमाण्डलमा सेल खडा गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेका अनुसार निर्वाचन सुरक्षाको कमाण्ड हरेक जिल्लामा कम्तीमा पनि एसपीले गर्नेगरी व्यवस्था मिलाइएको छ । जसअनुसार डीएसपीले कमाण्ड गरेका पहाडी जिल्लाहरूमा एसपी खटाइएको उनले बताए ।
त्यस्तै एसपीले कमाण्ड गर्दै आएका जिल्लाहरूमा चुनौतीको अवस्था हेरेर एसएसपी खटाइएको छ । यसरी खटिने एसपी र एसएसपीहरूलाई २ वटा जिल्लासम्मको कमाण्ड दिइएको छ ।
‘बस्न एउटा जिल्लामा बसे पनि त्यहाँ कमाण्ड भने दुई जिल्लामा हुन्छ’ प्रवक्ता काफ्लेले भने ।
उपत्यकाबाट पनि थप टोली आ–आफ्नो कार्यक्षेत्रमा पुगिसेकेको बताइएको छ । उपत्यकाबाट १२ हजार ७०० सय थप टोली खटिएका छन् । ब्यूरोहरू, ट्राफिक, अपराध अनुसन्धान कार्यालय जस्ता युनिटहरू पनि थप टोली खटिएका छन् । ट्राफिक प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिँदा उपत्यकाको ट्राफिक अवस्था पनि अस्तव्यस्त बनेको छ ।
निर्वाचन सुरक्षाका लागि बुधबार मात्रै प्रहरी प्रधान कार्यालय पूर्वआईजीपी, निर्वाचन आयुक्तहरूलाई बोलाएर प्रहरी प्रधान कार्यालयमा छलफल गरेको थियो । त्यहाँबाट प्राप्त सल्लाह सुझाव अनुसार पनि सुरक्षा रणनीति बनाएर काम हुने बताइएको छ ।
शंकास्पद ठाउँहरूमा तालिमप्राप्त कुकुरहरूको गस्ती तथा ठग स्निफिङ हुने बताइएको छ । निर्वाचनको समयमा साइबर चुनौती व्यापक रहेको औंल्याउँदै त्यसका लागि तयारी पनि तिव्र पारिएको प्रवक्ता काफ्ले बताउँछन् ।
त्यसको निगरानीमा प्रहरी प्रधान कार्यालयमा मनिटरिङ डेस्क नै बनाएर काम सुरु गरिएको बताइएको छ । सामाजिक सञ्जाल मनिटरिङ डेस्क, निर्वाचन आयोगलमा साइबर डेस्क, साइबर ब्यूरोहरूले यस्ता काम गरिरहेको बताइएको छ ।
सीमा नाकामा कडा निगरानी गर्नेदेखि काउन्टर पार्टस्हरूसँग मिटिङ गरेर सीमा नाका बन्द गर्ने काम हुने बताइएको छ ।
अहिले दैनिक जिल्ला सुरक्षा समितिको बैठक बसेर सुरक्षा विश्लेषण हुने गरेको छ । गृहमन्त्रालयमा पनि दैनिक केन्द्रीय सुरक्षा समितिको बैठक बसेर सुरक्षाको विश्लेषण गर्ने र सो अनुसार व्यवस्था मिलाउने काम भएको छ ।
प्रतिक्रिया 4