१५ फागुन, सिरहा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सिरहामा सुरक्षा सतर्कता उच्च पारिएको छ ।
जिल्लाभर सडक चेकजाँचमा कडाइ गर्नुका साथै संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र निर्वाचन सुरक्षाकर्मी संयुक्त रूपमा सडक निगरानी तथा चेकजाँचमा खटिएका छन् ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार जिल्लामा कुल ३ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जसअनुसार नेपाली सेनाका ८ सय, सशस्त्र प्रहरीका ८ सय र नेपाल प्रहरीका १४ सय सुरक्षाकर्मी निर्वाचन सुरक्षामा तैनाथ छन् ।
सिरहा जिल्लामा चार वटा निर्वाचन क्षेत्र रहेका छन्। यहाँ २२३ मतदान स्थल र ५३१ मतदान केन्द्र निर्धारण गरिएको छ ।
यस निर्वाचनमा जिल्लाभर ४ लाख ५३ हजार ६ सय ४५ मतदाता सहभागी हुने निर्वाचन कार्यालयले जनाएको छ । साथै, जिल्लामा कुल १३८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
निर्वाचन नजिकिँदै जाँदा सुरक्षा निकायले शंकास्पद गतिविधिमाथि निगरानी बढाएको र मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ ।

प्रतिक्रिया 4