News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी बलले प्रतिनिधिसभा निर्वाचनमा उपत्यका बाहिरका जिल्लामा एक हजार ६०० जनशक्ति खटाएको छ।
- नेपाल प्रहरीले काठमाडौं उपत्यकाबाट १५ हजार जनशक्ति बाहिरी जिल्लामा खटाउने तयारी गरेको छ ।
- निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले प्रहरीलाई २८०० थान साना हतियार उपलब्ध गराएको छ ।
७ फागुन, काठमाडौं । निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकले एक हजार ६०० जनशक्ति उपत्यका बाहिरका जिल्लाहरूमा खटाएकाे छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि बिहीबार हल्चोकबाट उक्त जनशक्ति बाहिरी जिल्लामा खटाइएको हो । यी टोली कोशी प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका लागि खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापा बताउँछन् ।
यस बाहेक र काठमाडौं उपत्यकाबाट निर्वाचन लागि थप जनशक्ति खटाउने तयारी सशस्त्र प्रहरीले गरेको छ । कहाँ कति खटाउने भन्ने तयारी भइरहेको र एक/दुई दिनमै थप जनशक्ति खटाइने बताइएको छ ।
सशस्त्र प्रहरीले मात्रै होइन नेपाल प्रहरीले काठमाडौं उपत्यकाबाट १५ हजार जनशक्ति बाहिरी जिल्लामा खटाउने तयारी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले १५ हजार जनशक्ति उपत्यकाबाट बाहिरी जिल्लामा खटाइने बताए ।
‘उपत्यकाबाट १५ हजार जनशक्ति बाहिरी जिल्लामा खटाउँछौं । केही खटिइसकेका छन्,’ काफ्लेले अनलाइनखबरसँग भने ।

उनका अनुसार अहिले १४० जना सिनियर अफिसरहरूलाई चुनौतीपूर्ण मानिएका जिल्लामा खटाइसकिएको छ । यसरी खटिनेहरू धेरैजसो तराईका जिल्ला गएका छन् । मधेश प्रदेशलाई सुरक्षाका हिसाबले बढी चुनौतीपूर्ण मानिएकाले त्यहाँ थप टोली पठाइएको छ ।
अब उपत्यकाबाट ९ फागुनमा कर्णाली र सुदूरपश्चिमका लागि थप टोली खटिन्छन् । १० फागुनमा कोशीका लागि थप टोली पठाउने हेडक्वार्टरको तयारी छ ।
११ गते लुम्बिनी र १२ गते गण्डकी र बागमतीमा थप टोली पठाउने प्रहरी हेडक्वार्टरको तयारी छ ।
यसैबीच गृह मन्त्रालयमा आजै मात्र केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बैठकमा निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वय र निर्वाचन तयारी सम्बन्धमा छलफल भएको छ ।
जहाँ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सहभागी छन् । भर्चुअल रूपमा सीडीओहरूलाई उपस्थित गराइएको थियो ।
१० प्रतिशत जनशक्ति बाहेक सबै ट्राफिक चुनावी सुरक्षामा
ट्राफिक प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो, साइबर ब्युरो, मानव बेचबिखन अनुसन्धान ब्युरो जस्ता युनिटहरूबाट पनि ठूलो संख्यामा प्रहरीहरू निर्वाचन सुरक्षाका लागि बाहिरी जिल्लामा खटाइँदै छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले भोलिदेखि नै ट्राफिकहरूसमेत निर्वाचन सुरक्षाका लागि विभिन्न जिल्ला जाने बताए । उनका अनुसार उपत्यकामा कार्यरतमध्ये १० प्रतिशत ट्राफिक जनशक्ति बाहेक अरू सबै निर्वाचन सुरक्षाका लागि खटिन्छन् ।
झापामा कार्यदलको टोली
झापालाई अहिले सबैभन्दा बढी सुरक्षा संवेदनशील जिल्लाको रूपमा लिइएको छ । मनोनयन दर्ता लगत्तै झापामा थप जनशक्ति पठाइसकिएको छ ।
झापामा नयाँ र पुराना दलबीच मुठभेड हुनसक्ने चिन्ता रहेको प्रहरीको रिपोर्ट छ । मनोनयन दर्ताकै क्रममा पनि यहाँ धक्कामुक्की भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव र यही सन्दर्भमा काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दिएपछि सुरक्षा चुनौती बढेको हो । झापा–५ बाट एमालेका अध्यक्ष केपी शर्मा ओली र बालेन शाह आमनेसामने भएका छन् ।
हेभिवेट भिडन्तका कारण चुनौतीपूर्ण मानिएको झापामा उपत्यकाबाट विशेष तालिम प्राप्त र हातहतियारले सुसज्जित कार्यदलको टोली पठाउने तयारी गरिएको छ । कार्यदलको टोली अन्य प्रहरीको तुलनामा निकै बलियो मानिन्छ । कमान्डोलगायत विशेष तालिम प्राप्त कार्यदलको टोली हतियारले अन्य प्रहरीभन्दा बलियो मानिन्छ ।
मधेशमा होलीको चिन्ता
मधेश प्रदेशमा पनि सुरक्षा चुनौतीको विश्लेषण गरिएको छ । मौन अवधिको समयमा तराईमा होली मनाइने र होलीमा खाने, पिउने कार्यक्रम हुँदा आर्थिक चलखेल हुनसक्ने, झडप हुनसक्ने जोखिम रहेको सुरक्षाकर्मीहरूको आकलन छ ।
होलीकै कारण मधेश प्रदेशका ८ जिल्ला पनि सुरक्षाका दृष्टिले संवेदनशील मानिएको छ । खुला सीमालाई पनि अर्को सुरक्षा चुनौती मानिएको छ ।
अहिले नेपाल-भारतका सुरक्षाकर्मीहरूको बैठक बस्नेदेखि सीमामा कडाइ गर्ने तयारी पनि भइरहेको छ । सुरक्षाका दृष्टिले चुनौतीपूर्ण मानिएको मधेशमा करिब ६ हजार थप जनशक्ति पठाउने तयारी छ ।

अति आवश्यक बाहेकका बिदा बन्द
निर्वाचन नजिकिएसँगै सुरक्षा निकायहरूले अति आवश्यक बाहेकका बिदाहरू बन्द गरेका छन् । किरिया बिदा, विवाह, सुत्केरी जस्ता अति आवश्यक बाहेक अन्य बिदा बन्द गरिएको सुरक्षा निकायले बताएका छन् ।
निर्वाचनमा थप जनशक्ति चाहिने हुँदा यही अवधिमा बिदा बस्दा सुरक्षामा आँच आउन सक्ने भन्दै सुरक्षा निकायहरूले सर्कुलर नै गरेका छन् ।
यसका साथै यो अवधिमा बिदा स्वीकृतसमेत बन्द गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापा बताउँछन् ।
निमित्तको भरमा कार्यालय एक दिन पनि नछाडिने
प्रहरी हेडक्वार्टरले निमित्तको भरमा कार्यालय एक दिन नछाड्ने नीति लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एसपी सुदीप पाठकका बुवाको निधन भएपछि उनी किरिया बिदामा बसेका थिए ।
उनको ठाउँमा डीएसपी निमित्त हुने भएपछि हेडक्वार्टरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत अर्का एसपी नरेशराज सुवेदीलाई खटाइसकेको छ । करिब १५ दिनका लागि सुवेदी पर्सा गएका हुन् । उनले यहाँ गएर निर्देशनसमेत दिइसकेका छन् ।

निर्वाचनको संवेदनशिलतालाई मध्यनजर गर्दै सुरक्षालाई प्रभावकारी, निष्पक्ष र भरपर्दो बनाउन सुवेदीले निर्देशन दिएका छन् ।
निर्वाचन अवधिभर प्रहरी कर्मचारीहरूले उच्च सतर्कता अपनाउनुपर्ने, मतदाताको सुरक्षामा विशेष ध्यान दिनुपर्ने तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सक्रिय भएर खटिनुपर्ने बताएका छन् ।
सेनाले दियो हतियार
नेपाल प्रहरीले नेपाली सेनासँग २ हजार ८०० थान साना हतियार (पेस्तोल) माग गरेको थियो । प्रहरी प्रधान कार्यालयबाट गृह मन्त्रालय, रक्षा मन्त्रालय हुँदै उक्त प्रस्ताव सेनाको पुगेको थियो ।
सेनाले माग गरेकोमध्ये आधा हतियार प्रहरीलाई उपलब्ध गराइसकेको उच्च स्रोतले बतायो । सेनाबाट रक्षा मन्त्रालय हुँदै क्याबिनेट पुगेको उक्त हतियार सापटीको प्रस्ताव क्याबिनेटले पास गरेपछि प्रहरीले सेनाको पेस्तोल प्राप्त गरेको छ ।
अब बाँकी हतियार १० फागुन भित्र सेना उपलब्ध गराउने तयारी गरेको छ । प्रहरीले यसअघिका निर्वाचनमा पनि सेनासँग हतियार सापटी मागेर चलाउँदै आएको छ ।
प्रतिक्रिया 4