२१ माघ, सर्लाही । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आजदेखि सेना परिचालन गरिएको छ । यसैबीच सर्लाहीमा पनि बुधबार (आजदेखि) देखि नेपाली सेना परिचालन गरिएको छ ।
२१ फागुनमा हुने निर्वाचनलाई भयरहित, शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर सेना परिचालन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाका अनुसार निर्वाचन सुरक्षालाई मजबुत बनाउन नेपाली सेना फिल्डमा उतारिएको हो ।
‘जिल्लाको चारै निर्वाचन क्षेत्रमा नेपाली सेनाको कालिध्वज गण लालबन्दी – २ पाँचकुमारीबाट एक–एक टोली गस्तीमा खटिएको छ,’ उनले भने, ‘मतदान सम्पन्न नहुन्जेलसम्म सुरक्षाकर्मी फिल्डमै रहनेछन् । अहिले चार वटा निर्वाचन क्षेत्रको चार वटा स्थानमा बेस स्थापना गरी सेना परिचालन गरिएको छ र यसलाई विस्तारै जिल्लाका सबै मतदान स्थलसम्म नै पुर्याइने छ ।’
उनका अनुसार जिल्लाका संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रहरूमा विशेष निगरानी बढाइएको छ । साथै सीमावर्ती क्षेत्र, मुख्य राजमार्ग र भीडभाड हुने स्थानमा सुरक्षा गस्तीलाई प्राथमिकताका साथ सञ्चालन गरिएको छ ।
निर्वाचनका क्रममा कुनै पनि प्रकारका अवाञ्छित गतिविधि हुन नदिन, मतदातालाई सुरक्षित वातावरणमा निर्भीक रूपमा आफ्नो मताधिकार प्रयोग गर्न सहजता प्रदान गर्न उद्देश्यले नेपाली सेनालाई जिम्मेवारी दिइएको प्रजिअ कडरियाले बताए ।

प्रतिक्रिया 4