१२ फागुन, काठमाडौं । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले मस्कोको तर्फबाट आधिकारिक विज्ञप्ति जारी गर्दै अफगानिस्तान र पाकिस्तानलाई खतरनाक सैन्य मुठभेड त्यागेर तत्काल वार्ताको टेबलमा फर्कन आग्रह गरेकी छिन् ।
दुई देशका नियमित सेना, वायुसेना र भारी हतियारहरू परिचालन भई भइरहेको सशस्त्र संघर्षप्रति रुसले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
प्रवक्ता जाखारोभाले यस लडाइँमा सर्वसाधारणसहित दुवै पक्षका सैनिकहरू हताहत भएको उल्लेख गर्दै सबै मतभेदहरू राजनीतिक र कूटनीतिक माध्यमबाट समाधान गर्न अपील गरेकी छिन् ।
फेब्रुअरी २६ को साँझदेखि सीमा क्षेत्रमा पुन: सुरु भएको भीषण लडाइँमा दुवै देशले एकअर्काको भारी क्षति भएको दाबी गरेका छन् ।
इस्लामावादले आफ्नो सैन्य कारबाहीका क्रममा १३० भन्दा बढी अफगान सैनिक मारिएको र ८० वटा सैन्य सवारी साधन ध्वस्त पारेको रिपोर्ट सार्वजनिक गरेको छ ।
अर्कोतर्फ, फेब्रुअरी २७ को बिहान अफगान रक्षा मन्त्रालयले आफ्नो सैन्य अपरेसन समाप्त भएको घोषणा गर्दै ५५ जना पाकिस्तानी सैनिक मारिएको र दुईवटा आधार शिविरका साथै १९ वटा सीमा पोस्टहरू आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ ।
प्रतिक्रिया 4