+
+
Shares

रूसले गर्‍यो अर्को परमाणु ‘पोसाइडन’ टोरपीडोको सफल परीक्षण, पुटिनले भने-अमेरिकालाई जवाफ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते ८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रूसले नयाँ परमाणु क्षमतायुक्त टोरपीडो 'पोसाइडन' को सफल परीक्षण गरेको छ, जसले रेडियोधर्मी लहरहरू पैदा गर्न सक्छ।
  • राष्ट्रपति पुटिनले पोसाइडनको शक्ति रूसको सबैभन्दा शक्तिशाली मिसाइल 'सरमत' भन्दा बढी रहेको उल्लेख गर्नुभयो।
  • पोसाइडन टोरपीडोले असीमित दूरीसम्म यात्रा गर्न सक्छ र एक किलोमिटरभन्दा बढी गहिराइमा ७० किलोमिटर प्रतिघण्टाको गतिमा चल्न सक्छ।

१३ कात्तिक, काठमाडौं । रूसले अर्को नयाँ परमाणु क्षमतायुक्त टोरपीडो ‘पोसाइडन’ को सफल परीक्षण गरेको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो हतियारले समुद्रमा रेडियोएक्टिभ (रेडियोधर्मी) लहरहरू पैदा गर्न सक्ने र त्यसबाट तटीय क्षेत्रमा बसेका ठूला शहरहरू पलभरमै बसोबास गर्न लायक नरहने गरी ध्वस्त पार्न सक्ने दाबी गरेका छन्।

यो टोरपीडो पनडुब्बीबाट छोडिन्छ, जुन पूर्ण रूपमा स्वचालित हुन्छ र आणविक हतियार बोक्न सक्छ।

राष्ट्रपति पुटिनले पोसाइडनको शक्ति रूसको सबैभन्दा शक्तिशाली मिसाइल ‘सरमत’ भन्दा पनि बढी रहेको जिकिर गरेका छन्।

उनले युक्रेन युद्धमा घाइते सैनिकहरूसँगको भेटमा यसको जानकारी दिँदै विश्वमा यस्तो अर्को कुनै हतियार नभएको दाबी गरे।

के हो पोसाइडन ? के गर्न सक्छ यसले ? 

पोसाइडनको सबैभन्दा ठूलो विशेषता भनेको यसको भित्र आफ्नै न्यूक्लियर इन्धन इकाइ जडान गरिएको हुन्छ ।

यसको अर्थ यसलाई बाहिरबाट इन्धन भर्न आवश्यक पर्दैन, जसले गर्दा यसले लगभग असीमित दूरीसम्म यात्रा गर्न सक्छ।

पोसाइडनलाई ‘प्रलयपछिको हतियार’ पनि भनिन्छ। रूसले यसमा काम गरिरहेको जानकारी सन् २०१६ मा पहिलो पटक बाहिर आएको थियो, जसलाई दुई वर्षपछि (२०१८ मा) स्वयं पुटिनले पुष्टि गरेका थिए।

यस टोरपीडोको नाम ग्रीक देवता पोसाइडनको नाममा राखिएको हो। यूनानी पौराणिक कथाहरूमा पोसाइडनलाई समुद्र, भूकम्प र आँधीबेहरीको देवता मानिन्छ।

पुटिनले रूसले एकैसाथ दुई फरक काम गर्न सफल भएको बताएका छन् । उनका अनुसार, पनडुब्बीबाट टोरपीडो प्रक्षेपण गर्नु र त्यस टोरपीडोभित्र जडित साना परमाणु-ऊर्जा मेसिन (रिएक्टर) लाई सफलतापूर्वक सक्रिय गरेर सञ्चालनमा ल्याउनु यो परियोजनाका सफलता हुन् ।

उनका अनुसार उक्त रिएक्टर टोरपीडोभित्र केही समयसम्म चलेको थियो। यो प्राविधिक रूपमा एक नयाँ र ठूलो सफलता हो, जुन पहिले कहिल्यै गरिएको थिएन।

टोरपीडो के हो?

टोरपीडो एक प्रकारको पानीभित्र चल्ने हतियार हो।

यो विशेष गरी कुनै जहाज वा पनडुब्बीलाई लक्षित गरेर प्रहार गरिन्छ र त्यसको नजिक पुगेर आक्रमण गर्छ।

यसमा नेभिगेसन र होमिङ सिस्टम जडित हुन्छन् । जसले आवाज, राडार समातेर आफ्नो लक्ष्य तय गर्छन्। पोसाइडन पनि टोरपीडोको उन्नत र आणविक क्षमतायुक्त रूप हो।

पुटिनले भने, ‘टोरपिडो ड्रोन रोक्ने कुनै उपाय छैन । यो परम्परागत पनडुब्बीहरूभन्दा उच्च गतिमा यात्रा गर्न सक्छ र विश्वको कुनै पनि महाद्वीपमा पुग्न सक्छ।’

पुटिनका अनुसार, गति र गहिराइमा डुब्ने कार्य पोसाइडनको बराबरी कुनै पनि देशले गर्न सक्दैन र निकट भविष्यमा त्यस्तो हुने सम्भावना पनि छैन।’

रूसी सैन्य औद्योगिक क्षेत्रको एक स्रोतका अनुसार यो उपकरण एक किलोमिटर भन्दा बढीको गहिराइमा काम गर्न सक्दछ र समुद्रमा ७० सम्मको गतिमा यात्रा गर्न सक्दछ र यसलाई त्यहाँ पत्ता लगाउन सकिँदैन।

सन् २०१८ मा पहिलो पटक परीक्षण गरिएको यो उपकरणले दुई मेगाटनसम्मको परमाणु हतियार बोक्न सक्ने क्षमता रहेको स्रोतले बतायो ।

अमेरिका र नेटोलाई चुनौती

राष्ट्रपति पुटिनले यो हतियार अमेरिका र नेटोको जवाफमा बनाइएको बताएका छन्। अमेरिकाले पुराना सम्झौताहरू तोडेर नेटोको पूर्वी युरोपमा विस्तार गरेको हुनाले रूसले यो कदम चालेको उनको भनाइ छ।

नर्वेजियन नेभल एकेडेमीकी अनुसन्धानकर्ता इना होल्स्ट पेडरसन क्वाम पोसाइडनलाई ‘मनोवैज्ञानिक हतियार’ का रूपमा व्याख्या गर्छिन्।

उनी भन्छिन्, ‘यसको काम केवल ठूलो विनाश गर्नु मात्र नभई अरू देशलाई डराउनु र उनीहरूको साहस तोड्नु पनि हो।’

क्वामका अनुसार, पोसाइडन बोक्ने पनडुब्बीहरू सायद त्यतिबेला मात्र सक्रिय हुनेछन्, जतिबेला कुनै ठूलो परम्परागत वा आणविक युद्ध पहिले नै सुरु भइसकेको हुनेछ र युद्धको परिणाम लगभग निश्चित हुन लाग्नेछ।

आइतबारको क्रुज मिसाइल परीक्षणपछि ट्रम्पले पुटिनलाई युक्रेनमा युद्ध अन्त्य गर्नमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् ।

एक हप्तामा दोस्रो आणविक सफलता

रूसका लागि यो पछिल्लो हतियार परीक्षण एक हप्ताभित्रको दोस्रो ठूलो आणविक सफलता हो।

यसअघि, रूसले अक्टोबर २१ मा विश्वकै पहिलो परमाणु ऊर्जाबाट चल्ने क्रुज मिसाइल ‘बुरेभेस्टनिक -९एम७३९’ को सफल परीक्षण गरेको थियो।

त्यस परीक्षणमा पनि रूसले यो मिसाइलको रेन्ज असीमित रहेको दाबी गरेको थियो।

बुरेभेस्टनिक एक क्रुज मिसाइल हो, जुन सामान्य इन्धन इन्जिनको सट्टा न्यूक्लियर रिएक्टरबाट चल्ने भएकाले असीमित दूरीसम्म उडान भर्न सक्छ र दुश्मनको एन्टि-मिसाइल डिफेन्स सिस्टमलाई चकमा दिन सक्षम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?