+
+
Shares

फर्केर हेर्दा २०५६ : हिंसाको छायामा भएको चुनाव

२०५६ को निर्वाचनका क्रममा माओवादी बहिष्कारबाहेक पनि मुख्य राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका कार्यकर्ताबीच पनि कडा प्रतिस्पर्धाका कारण हिंसात्मक झडपहरू भएका थिए ।

केशव सावद केशव सावद
२०८२ फागुन १९ गते ९:१३

१९ फागुन, काठमाडौं । नेपालको संसदीय इतिहासमा आठवटा निर्वाचनहरू सम्पन्न भइसकेका छन् । पहिलो आमनिर्वाचन (२०१५) देखि दोस्रो संघीय प्रतिनिधि सभा निर्वाचन (२०७९) सम्म आइपुग्दा नेपालमा आठ पटक संसदीय निर्वाचन सम्पन्न भइसकेको छ ।

पहिलो पटक २०५६ मा मतदाता परिचय पत्र लागू गरिएको थियो । नेपालको संसदीय निर्वाचन इतिहासमा यो वैज्ञानिक व्यवस्थाको विशेष महत्व छ । यही निर्वाचनलाई संसदीय इतिहासको ‘हिंसाको छायामा भएको निर्वाचन’ का रूपमा पनि चिनिन्छ ।

तत्कालीन विद्रोही नेकपा (माओवादी) को सशक्त बहिष्कारकाबीच सम्पन्न यो निर्वाचनमा आमनागरिकहरू सशस्त्र युद्धमा होमिएको माओवादी र सरकारबीच जारी द्वन्द्वको डर र त्रासमा मतदान गरेका थिए ।

२०५१ को मध्यावधि निर्वाचनमा कुनै पनि दलको बहुमत नआउँदा देशमा बलियो राजनीतिक शक्तिको खडेरी देखा पर्‍यो । संसद्मा बहुमत नहुँदा गठन भएका मिलिजुली सरकारहरू स्थिर हुन सकेनन् ।

मध्यावधिपछिको संसद्को त्यो पाँच वर्षे कालखण्डलाई नेपाली राजनीतिमा सबैभन्दा बदनाम मानिन्छ । यो कालखण्डमा नेताहरूले सत्ता हत्याउन अनेक हतकण्डा अपनाएका थिए ।

मध्यावधि निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्दा सरकार बन्ने र भत्किने क्रमले निरन्तरता पाइरह्यो । मध्यावधिपछि पाँच वर्षमा ६ सरकार बनिसकेका थिए ।

छैटौं सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०५५ माघ १ गते आमनिर्वाचन घोषणा गर्‍यो । आमनिर्वाचन २०५६ वैशाख २० गते र जेठ ३ गते गरी दुई चरणमा सम्पन्न भयो । २०५६ कात्तिक २९ गतेसम्म तत्कालीन संसद्को अवधि रहँदै केही महिना पूर्व नै गरिएको थियो ।

राज्यसत्ताविरूद्ध २०५२ फागुन १ गतेदेखि सशस्त्र द्वन्द्व सुरु गरेको विद्रोही नेकपा (माओवादी) को सक्रिय बहिष्कारकाबीच सरकारले आमनिर्वाचन सम्पन्न गर्नुपरेको थियो ।

सशस्त्र द्वन्द्व (जनयुद्ध) सुरु भएको तीन वर्षपछि भएको २०५६ को निर्वाचनमा माओवादीले सक्रिय रूपमा अवरोध सिर्जना गरेका कारण देशका धेरै ठाउँमा हिंसात्मक घटनाहरू भए ।

विभिन्न मानव अधिकार संगठन र निर्वाचन पर्यवेक्षण प्रतिवेदनहरू अनुसार २०५६ को निर्वाचनमा भएका हिंसात्मक घटनाहरूको सूची लामै छ । निर्वाचन अवधिभर (उम्मेदवारी दर्तादेखि मतदानसम्म) विभिन्न झडप र आक्रमणमा परी २८ देखि ३५ जनाको मृत्यु भएको तथ्यांक पाइन्छ ।

रुकुम, कालिकोट र धादिङलगायतका जिल्लाहरूमा प्रहरी र माओवादी तथा दलका कार्यकर्ताहरूबीचको झडपमा सर्वसाधारण र दलका कार्यकर्ताहरूको मृत्यु भएको थियो ।

समाचार एजेन्सी ‘इन्टर प्रेस सर्भिस’ (आईपीएस) का अनुसार पहिलो चरणको मतदातका क्रममा झडपमा परी पाँच जनाको मृत्यु भएपछि झण्डै ७० निर्वाचन क्षेत्रमा मतदान रद्द गर्न आदेश दिइएको थियो ।

विद्रोही माओवादीले निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौंस्थित निर्वाचन आयोगको कार्यालयमा विष्फोट समेत गराएको थियो । सोही दिन माओवादीले गोरखापत्र दैनिकमा पनि बम विष्फोट गरेका थिए ।

‘मतदानको पहिलो दिन प्रतिद्वन्द्वी समूहहरू बीचको झडपका कारण पाँच जनाको मृत्यु भएपछि लगभग ७० निर्वाचन क्षेत्रहरूमा मतदान रद्द गर्न आदेश दिइएको थियो,’ ३ जेठमा प्रकाशित आईपीएसको समाचारमा भनिएको छ ।

आमनिर्वाचन २०५६ मा विद्रोही माओवादीबाट रुकुम, रोल्पा, र जाजरकोटजस्ता जिल्लाहरूमा उम्मेदवारहरूलाई लक्षित गरी आक्रमणहरू भएका थिए । निर्वाचनको केही समयअघि २१ फागुन २०५५ विद्रोही माओवादीले नेकपा एमालेका नेता यदु गौतमको हत्या गरे ।

एमाले रूकुमका सचिव गौतम पार्टीका तर्फबाट २०५६ को निर्वाचनमा उम्मेदवार थिए । निर्वाचनमा भाग नलिन माओवादीले दिएको धम्कीको बेवास्ता गरेपछि उनको हत्या भएको थियो ।

उनको हत्यापछि एमालेले यदु पत्नी तीर्था गौतमलाई उम्मेदवार बनायो । तीर्था विजयी पनि भइन् ।

विद्रोही माओवादीले निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौंस्थित निर्वाचन आयोगको कार्यालयमा विष्फोट समेत गराएको थियो । सोही दिन माओवादीले गोरखापत्र दैनिकमा पनि बम विष्फोट गरेका थिए ।

उक्त घटनाबारे ‘साउथ एसिया टेरोरिजम पोर्टल’ (एसएटीपी) मा लेखिएको छ, ‘माओवादी विद्रोहीहरूले काठमाडौंमा रहेको निर्वाचन आयोगको कार्यालय तथा सबैभन्दा धेरै प्रसारण हुने नेपाली दैनिक पत्रिका गोरखापत्रको कार्यालयमा बम विस्फोट गराए ।’

माओवादी प्रभावित जिल्लाहरूमा चुनाव बिथोल्नका लागि श्रृङ्खलाबद्ध विस्फोट र आक्रमणहरू भएका थिए । रोल्पा, रुकुम, सल्यान, जाजरकोट र कालिकोटका धेरै मतदान केन्द्रहरूबाट मतपेटिका लुट्ने र जलाउने काम भएको थियो ।

यस्तै मतदान केन्द्रहरूमा मतदातालाई तर्साउन विभिन्न स्थानमा बम राखिएको थियो । दाङ, सल्यान र गोरखाका केही मतदान केन्द्र नजिक विस्फोटहरू भएका थिए ।

२०५६ को निर्वाचनका क्रममा माओवादी बहिष्कारबाहेक पनि मुख्य राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका कार्यकर्ताबीच पनि कडा प्रतिस्पर्धाका कारण हिंसात्मक झडपहरू भएका थिए ।

रौतहटमा कांग्रेस र एमाले कार्यकर्ताबीच बुथ कब्जा गर्ने विषयमा हिंसात्मक झडप हुँदा गोली चलेको थियो । स्याङ्जा र धादिङमा पनि ‘बुथ क्याप्चर’को प्रयास हुँदा झडपहरू भएका थिए । जसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउनुपरेको थियो ।

सुरक्षा चुनौतीका कारण सरकारले निर्वाचनमा सेना र प्रहरी तैनाथ गरेको थियो । ८ जेठ २०५६ मा गोरखाको ताकुकोटमा रहेको प्रहरी चौकीमा माओवादीले आक्रमण गरेको थियो । आक्रमणमा परी पाँच प्रहरी र एक माओवादीको मृत्यु भएको थियो ।

त्यस्तै बागलुङमा प्रहरी र माओवादीबीच झडप हुँदा दुई प्रहरीको मृत्यु र चार प्रहरी घाइते भएका थिए ।

दुई चरणमा मतदान 

निर्वाचन आयोगका अनुसार आमनिर्वाचन प्रथम चरणअन्तर्गत तत्कालीन बागमती, नारायणी, गण्डकी अञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रका सबै जिल्ला तथा जनकपुर अञ्चलका दुई जिल्ला गरी ३६ जिल्लाहरूमा सम्पन्न भएको थियो ।

बाँकी ३९ जिल्लामा दोस्रो चरण अर्थात जेठ ३ गते निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा १८ वर्ष उमेर पुगेका कुल एक करोड ३५ लाख १८ हजार ८३९ मतदाताले मताधिकार पाएको आयोगको तथ्यांकले देखाउँछ । तीमध्ये ६६ लाख ५९ हजार महिला र ६८ लाख ५९ हजार आठ सय पुरूष मतदाता थिए ।

आमनिर्वाचनमा जिल्ला न्यायाधीशहरू मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका राजपत्रांकित अधिकृतहरू निर्वाचन अधिकृत तोकिएका थिए । आयोगका अनुसार आमनिर्वाचनमा एक सय पार्टीले सहभागी हुन चाहेका थिए । तर, ३९ वटा दलहरू मात्रै निर्वाचन लडेका थिए ।

कांग्रेसलाई बहुमत

विद्रोही माओवादीको ‘सशस्त्र बहिष्कार’का बीच सम्पन्न २०५६ को आमनिर्वाचनमा नेपाली कांग्रेसले सुविधाजनक बहुमत ल्याएको थियो । २०५ संसदीय निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी दिएको कांग्रेसले १११ सिट जितेको थियो ।

दोस्रो भएको नेकपा एमालेले ७१ सिटमा पाएको थियो । उसले १९५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । यस्तै १९५ स्थानमै उम्मेदवारी दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ११ सिटसहित तेस्रो दल बनेको थियो ।

नेपाल सद्भावना पार्टी र राष्ट्रिय जनमोर्चाले समान ५–५ स्थानमा जित निकाले । उनीहरूले क्रमश: ६८ र ५३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए । यस्तै संयुक्त जनमोर्चा, नेपाल र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले समान १–१ एक सिट जितेका थिए ।

एमालेबाट फुटेको नेकपा (माले) ले १९७ क्षेत्रमा उम्मेदवार उठाएको थियो । तर, उसले कुनै पनि स्थानमा निर्वाचन नतिजा आफ्नो पक्षमा पार्न भने सकेन ।

निर्वाचन आयोगका अनुसार आमनिर्वाचन–२०५६ मा कुल मतदाता संख्या एक करोड ३५ लाख १८ हजार ८३९ थियो । जसमध्ये ८८ लाख ९४ हजार ५६६ मत खसेको थियो । खसेको कुल मतमध्ये २ दशमलव ७५ प्रतिशत अर्थात दुई लाख ४४ हजार ९०२ मत बदर भएको थियो ।

निर्वाचनमा कांग्रेसले देशभरबाट ३२ लाख १४ हजार ७८६ मत पाएको थियो । दोस्रो भएको एमालेको पक्षमा २७ लाख ३४ हजार ५६८ मत खसेको थियो । यस्तै ११ सिटसहित तेस्रो भएको राप्रपाले नौ लाख दुई हजार ३२८ मत पाएको थियो ।

निर्वाचन आयोगको तथ्यांकअनुसार २०५६ को निर्वाचनमा सबैभन्दा कम नेपाली राष्ट्रिय एकता पार्टीले मात्र आठ मत पाएका थियो । तीन अंकको योगफल नजोड्ने १० दल थिए । यस्तै नौ दलले चार अंकको योगफल जोड्न सकेका थिएनन् ।

यो निर्वाचनमा साढे ३ लाख सुरक्षाकर्मी खटिँदै 

सरकारले आसन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि सरकारले चारै वटा सुरक्षा निकाय र निर्वाचन प्रहरीसमेत गरेर तीन लाख ३७ हजार ९२० सुरक्षाकर्मी खटाउने भएको छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतकाअनुसार निर्वाचनमा नेपाली सेनामात्रै ७९ हजार ७२७ जना परिचालन हुनेछन् । सरकारले निर्वाचनमा ७५ हजार ५९७ जना प्रहरी परिचालन गर्दैछ । प्रहरीमातहत नै रहने गरी एक लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन पनि निर्वाचनमा खटिने छन् ।

आसन्न निर्वाचनमा ३४ हजार ५७६ सशस्त्र प्रहरी परिचालन हुँदैछन् । सशस्त्र प्रहरी मातहत नै रहनेगरी १५ हजार ११० निर्वाचन प्रहरी परिचालन हुनेछन् । त्यस्तै एक हजार ९२१ गुप्तचरलाई पनि सरकारले निर्वाचनमा परिचालन गर्दैछ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?