२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष सुशासनमा काम गर्न चाहेको भन्दै अवसर दिन मतदातालाई आग्रह गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ को मैतीदेवी मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा उनले अवसर दिएमा पाँच वर्ष सुशासनमा काम गर्ने बताएका हुन् ।
सभापति थापाले आफू सर्लाही–४ को उम्मेदवार हुँदै गर्दा मधेशमा गएर राजनीतिक पूर्णता पाएकोसमेत बताए । पहाड र काठमाडौंका बारेमा जानेको भए पनि मधेशका बारेमा सिक्ने अवसर सर्लाही–४ ले नै दिएको उनको भनाइ थियो ।
‘मलाई आफूलाई फराकिलो बनाउनका निम्ति मधेश जानुपर्ने थियो । अहिले गइसके पछाडि १०–१२ दिनमा मैले के कुरा महसुस गरेँ भने मलाई काठमाडौंबाट यत्रो वर्ष राजनीति गर्दै गर्दा मधेशका बारेमा जुन ज्ञान छ भन्ने थियो, मलाई त केही प्रतिशतमात्र रहेछ,’ उनले भने, ‘त्यो भित्रको समाजको विविधता, त्यहाँभित्रको समस्या, संरचना, त्यहाँभित्रको यतिधेरै कुराहरू । अहिले मैले ती सबै कुरा बुझेर त्यसको प्रतिनिधित्व गर्न पाउने अवसर गर्दै गर्दाखेरी मैलै राष्ट्रका लागि निर्वाह गर्ने भूमिका अझ बढी छ ।’
थापाले मधेशको अवस्था निकै गम्भीर भएको बताउँदै सुधार गर्ने कामहरू पहिलो वर्षदेखि नै थाल्ने वचनसमेत दिए । उनले सर्लाही गएरै आफूले सीमानामा मल ल्याउँदा भित्रबाट बल प्रयोग गर्नुपर्छ भन्ने कुरा थाहा पाएको जनाए । थापाले उखु किसानको पहिलाको जस्तो अनुदान काट्ने कल्पना पनि गर्न ससकेको पाठ त्यहीँ गएरमात्र सिकेको बताए ।
उनले सरकारमा बस्दै गर्दा अरुको बजेट काटेर भए पनि मधेशका दलितको घर फेर्ने कुरा पहिलो वर्षमै गर्ने बताए । ‘अर्बौं पैसा लागोस् । बरु मन्त्रालय काटौं,’ उनले भने, ‘मैले त्यहाँ गएर के देखेर आएँ भने मान्छे अहिले पनि यस्तो अवस्थामा पनि बसिरहेको रहेछ भन्ने कुरा थाहा थिएन भन्ने पनि एकदमै लज्जाको विषय हो ।’
प्रतिक्रिया 4