+
+
Shares

आरेनको उदय

२९ वर्षीय राईले आफू जन्मिनुअघि नै राजनीतिमा स्थापित उम्मेदवारलाई पछारेनन् मात्र, पुरानो दलको अस्तित्वलाई चुनौती दिए ।

दमन राई दमन राई
२०८२ फागुन २८ गते १५:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङमा २९ वर्षीय आरेन राईले एमालेका देवविक्रम राईलाई ३ हजार ८९८ मतले पछि पार्दै सांसद निर्वाचित भएका छन्।
  • आरेन राईले पुराना दल र उम्मेदवारलाई चुनौती दिएर नयाँ राजनीतिक शक्ति श्रम संस्कृति पार्टीको महासचिव बनेका छन्।
  • श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा आगामी तीनै तहको निर्वाचनमा बलियो पकड जमाउने सम्भावना देखाएको छ।

खोटाङ, २५ फागुन । खोटाङमा पुराना दलहरुको संगठन थियो, पटक-पटक चुनावमा लडेको अनुभव थियो ।

परिपक्व र राष्ट्रिय ‘फेस’ बनाएका नेताहरू थिए । तर वर्षौँदेखि पकड जमाएर बसेका दल र तिनका उम्मेदवारलाई भर्खरै उदाएको श्रम संस्कृति पार्टीका आरेन राईले पछि पारे ।

२९ वर्षीय राईले आफू जन्मिनुअघि नै राजनीतिमा स्थापित उम्मेदवारलाई पछारेनन् मात्र, पुरानो दलको अस्तित्वलाई चुनौती दिए । उनी राजनीतिका बा पुस्तालाई जनमतमार्फत पाखा लगाउन सफल भए ।

एमालेका उम्मेदवार देवविक्रम राईलाई ३ हजार ८९८ मतले पछि पार्दै आरेन विजयी भएका हुन् । आरेनले १६ हजार ६१२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी देवविक्रमले १२ हजार ७१४ मत पाएका छन् ।

केपिलासगढी गाउँपालिका–१ फेदीमा २०५३ साल असोज ८ गते जन्मिएका हुन् आरेन । तुलनात्मक रुपमा राजनीतिमा उनको अनुभव कम छ । तत्कालीन नेकपा माओवादीको साधारण सदस्य बनेर २०७० सालदेखि औपचारिक राजनीति सुरु गरेका आरेनले छोटो समयमै संसदमा फड्को मार्ने अवसर पाएका छन् ।

उनी राष्ट्रवादी केन्द्र, मंगोल नेशनल अर्गनाइजेसन हुँदै श्रम संस्कृति पार्टीमा पुगेका हुन् । हाल उनी पार्टीका महासचिव छन् ।

आरेन २०७१ सालमा राष्ट्रवादी केन्द्र नेपालको केन्द्रीय सदस्य र २०७२ सालमा राष्ट्रवादी युवा संघको केन्द्रीय उपाध्यक्ष बनेका थिए । २०७४ मा मंगोल नेशनल अर्गनाइजेसनमा आवद्ध भए । मंगोल नेशनल अर्गनाइजेसनमा सात वर्ष काम गरेका आरेन अन्तमाः श्रम संस्कति पार्टीमा जोडिए ।

उनले प्रमाण–पत्र तहको अध्ययन पूरा गरेका छन् । उनले मेचीदेखि महाकालीसम्मका ६५ जिल्लाको यात्रा गरेका छन् । आरेनको जितले जिल्लाको राजनीतिमा युवाको उपस्थिति देखाएको छ । सँगै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी स्थापित भएको छ ।

‘हाम्रो संगठन छ, हामी बलिया छौँ, हामी सर्वेसर्वा हौं’ भन्दैआएका दलहरुलाई ‘झट्का’ दिएको छ । नेता र जनताबीचमा बनेको ‘खाडल’ उदांगो भएको छ । पुरानो पार्टीप्रतिको वितृष्णा ब्यालेटमार्फत पोखिएको छ ।

निर्वाचनले जनता सँधै कसैको पकडमा बस्दैनन् भन्ने सन्देश पनि दिएको छ । श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा आगामी दिनमा हुने तीनै तहको निर्वाचनमा समेत बलियो पकड जमाउने आँकलन सुरु भएको छ ।

भोट माग्नेक्रममा श्रम संस्कृति पार्टीले ‘बोखा’ शब्द व्यापक प्रयोग गरेको थियो। चाम्लिङ राई भाषामा बोखाको अर्थ हुन्छ-माटो । उनीहरूले राईको बाहुल्यता भएको जिल्लामा माटोमा भोट माग्दा ‘बोखा’को अधिक प्रयोग गरे । उनीहरुले गैर–राईले समेत बुझ्ने तहमा ‘बोखा’लाई प्रयोगमा ल्याएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?