News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेले २५ हजार ३५४ मत प्राप्त गरी कांग्रेसका भागवतप्रकाश मल्ललाई ४ हजार ५२४ मतान्तरले पछि पार्दै जित हासिल गरे।
- डुम्रेको अनुसार यस क्षेत्रमा यसपटक मतदाताले शान्तिपूर्ण र निष्पक्ष रूपमा मतदान गरेका थिए र यसले स्वच्छ निर्वाचन सुनिश्चित गरेको छ।
- डुम्रेले सिद्धार्थ राजमार्ग स्तरोन्नति, कृषिको बजार समस्या समाधान र आईटी क्षेत्रको विकासमा नीति निर्माणमा प्राथमिकता दिने बताएका छन्।
स्याङ्जा-२ लामो समयदेखि कांग्रेस र एमालेले प्रभाव जमाएको क्षेत्र हो । कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ, धनराज गुरुङदेखि एमाले सचिव पद्मा अर्यालसम्मले यहाँबाट जित हासिल गरेका थिए । तर यसपटक सबै प्रमुख दलबाट नयाँ उम्मेदवार प्रतिस्पर्धामा थिए ।
मत खस्ने परम्परागत ट्रेन्ड पनि यसपटक पूर्ण रूपमा तोडियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झविलाल डुम्रे २५ हजार ३५४ मत प्राप्त गर्दै नेपाली कांग्रेसका भागवतप्रकाश मल्ललाई ४ हजार ५२४ मतान्तरले पछि पार्दै विजयी भए । एमालेका खिमबहादुर थापाले १४ हजार १०८ मत मात्रै ल्याए ।
यो जित रास्वपाको लागि मात्र होइन, स्याङ्जाली मतदाताको परिवर्तनको चाहना र नयाँ पुस्ताप्रतिको विश्वासको स्पष्ट प्रमाण रहेको रास्वपा सांसद डुम्रेको दाबी छ । उनका अनुसार, यस क्षेत्रमा पहिले बुथ क्याप्चर र दबाबको चर्चा हुने गरेको ठाउँमा यसपटक मतदाताले शान्तिपूर्ण र निष्पक्ष रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाए ।
यसअघि अनधिकृत र मृत्यु भइसकेका व्यक्तिले समेत मत हालेको भन्दै बदनाम बनेको स्याङ्जामा यसपटक स्वच्छ निर्वाचन हुनु नै आफ्नो जितको कारण रहेको डुम्रेको भनाइ छ ।

३३ वर्षअघि वालिङ नगरपालिका-१४, छोरेखर्कमा जन्मिएका उनले प्रारम्भिक शिक्षादीक्षा स्थानीय विद्यालयबाट प्राप्त गरे । स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उनले ग्रामीण विकास विषयमा मास्टर्स डिग्री गरेका छन् । यो शैक्षिक पृष्ठभूमिले नेपालको ९० प्रतिशतभन्दा बढी ग्रामीण क्षेत्रको वास्तविकता बुझ्ने आधार दिएको डुम्रको अनुभव छ ।
पेसागत रूपमा उनी आईटी क्षेत्रका उद्यमी हुन् । पोखरालाई कर्मथलो बनाएर इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनी सञ्चालन गर्दै आएका डुम्रे अन्य सामाजिक काममा पनि सक्रिय छन् ।
राजनीतिमा प्रवेश गर्नुअघि उनी आफ्नै प्रोफेसनमा रमाइरहेका थिए । तर यसअघिका नेताहरूले सही ट्र्याक समात्न नसकेको र जनअपेक्षाअनुसार काम गर्न नसकेको देखेर राजनीतिमा होमिन बाध्य भएको डुम्रेले सुनाए ।
‘अग्रजहरूले सही तरिकाले राजनीतिको ट्र्याक सम्हालिदिएको भए हामी जस्ता युवाहरू राजनीतिमा आउनु पर्दैनथ्यो,’ उनले भने ।
रास्वपामा आबद्ध भएपछि डुम्रेले पार्टीको केन्द्रीय संगठन विभाग सदस्यको जिम्मेवारी सम्हालेका छन् । सोही क्रममा चुनावी अभियानअघि नै उनी गाउँ-गाउँ पुगेर जनतासँग जोडिएका थिए । पार्टीको संगठन वडा तहसम्म पूर्ण रूपमा पुगिसकेको थिएन । पालिकास्तरमा पनि सामान्य खालको मात्र थियो।
तर, मनोनयन हुनुभन्दा झन्डै दुई-अढाई महिना पहिलेदेखि नै गाउँगाउँ डुलेर संगठन विस्तार गरेको डुम्रेको दाबी छ । उनका अनुसार, पार्टी कार्यकर्ता, स्वयंसेवक र सुभेच्छुकहरूले नि:स्वार्थ भावनाले खटेर अभियान सफल बनाए ।

कांग्रेस र एमाले जस्ता पुराना पार्टीहरूको संगठनात्मक संरचना निकै बलियो थियो, तर डुम्रेले नयाँ पार्टी भए पनि आफूसँग राम्रो टिम रहेको र जनताको साथ रहेको महसुस गरे । त्यसैले प्रतिस्पर्धा कडा भए पनि सुरुदेखि नै आत्मविश्वास रहेको दाबी उनको छ ।
‘स्याङ्जा शिक्षित जिल्ला हो, यहाँका जनताले युवा र पढे-लेखेको उम्मेदवारलाई न्याय गर्नुहुन्छ भन्ने विश्वास मलाई सुरुदेखि नै थियो,’ उनले भने । चुनावी अनुभव उनको लागि अत्यन्त रमाइलो र स्मरणीय रह्यो।
क्षेत्रमा पहिले बुथ क्याप्चर र मतदातालाई दबाब दिने जस्ता घटनाहरू सामान्य मानिन्थ्यो । तर यसपटक सरकारको निष्पक्ष भूमिका, कर्मचारी, सुरक्षा निकाय र मतदान केन्द्रको व्यवस्थापनले गर्दा निर्वाचन पूर्ण रूपमा स्वच्छ भएको दाबी उनको छ ।
अहिले संसद्मा प्रवेश गरेका डुम्रे ठूला-ठूला सपना बाँड्ने पक्षमा छैनन् । उनी स्पष्ट छन्- सांसदको मुख्य काम नीति निर्माण हो । विकास निर्माण स्थानीय तह र संघीय निकायको दायित्व हो, त्यसैले आफूले नीति निर्माण गर्न झक्झक्याउने र प्राथमिकता दिने उनी बताउँछन् ।

स्याङ्जा-२ को प्रमुख मुद्दाहरूमा डुम्रेको ध्यान केन्द्रित छ । सिद्धार्थ राजमार्ग २०२८-२९ सालमा बनेको हो, तर अझै स्तरोन्नति हुन सकेको छैन । सिद्धार्थ राजमार्ग स्तरोन्नति हुँदा पोखरा र लुम्बिनी दुवैले पर्यटन क्षेत्रबाट लाभ लिन सक्ने अवस्था छ ।
यी दुई पर्यटकीय क्षेत्रलाई जोड्ने राजमार्गको दूरवस्था हुँदा व्यावसायिक अप्ठ्यारो निम्त्याइरहेको छ । यो सडक खण्डलाई ४-६ लेनको सपना नदेखाई आवश्यकताअनुसार डेडिकेटेड टु लेनसम्म स्तरोन्नति गर्ने यथार्थवादी योजना हुने सांसद डुम्रेको बुझाइ छ ।
स्याङ्जा-२ नागरिक सामान्य बाहेकका उपचारका लागि पाल्पा वा पोखरा जानुपर्ने बाध्यता छ । कृषिमा बाँदरको समस्या, बजार अभाव र बिचौलियाको मार छ । स्याङ्जामा एक वर्षमा एक अर्ब ३२ करोडको सुन्तला उत्पादन हुन्छ, तर किसानले बजार मूल्यको एक तिहाइ मात्र पाउँछन् ।
यी सबै समस्या समाधानका लागि नीति बनाउने थलोमा बसेर हरसम्भव प्रयत्न गर्ने डुम्रेले अनलाइनखबरसँग बताए । स्याङ्जामा उत्पादित सुन्तलाको बजारीकरण गर्ने योजनाबारे उनी भन्छन्, ‘कृषि एम्बुलेन्स सञ्चालन, बजार सहजीकरण र कृषिलाई साना घरेलु उद्योगसँग जोड्ने ।’

त्यस्तै, साना-मझौला उद्योग, घरेलु उद्योग र आईटी क्षेत्रलाई प्रोत्साहन दिएर वैदेशिक रोजगारीबाट फर्केका युवालाई गाउँमै बस्ने वातावरण बनाउने उनको योजना छ ।
आईटी क्षेत्रमा नेपालबाटै विदेशी कम्पनीका लागि काम गर्दा ५०० मिलियन डलरभन्दा बढी कमाइ भइरहेको छ, तर कानुनी झन्झटले गर्दा युवाहरू अप्ठ्यारोमा छन् । नीतिगत सहजीकरण गरेर यसलाई दोब्बर बनाउन सकिने उनको विश्वास छ।
शिक्षा क्षेत्रमा २०२८ सालको पुरानो ऐनलाई समयानुकूल बनाउने र विद्यालयका ‘सफ्टवेयर’ सुधार गर्ने योजना डुम्रेसँग छ । ‘यी भनेका सबै काम गर्न सकेको लाग्नेछु । काम गर्न नसके जनताले मलाई फिर्ता बोलाउनुहोला पनि भनेको छु,’ उनले भने, ‘त्यति मात्र होइन, शक्तिशाली सरकार बन्दैछ, पार्टी नेतृत्वले कतै गलत गरेको थाहा पाए म आफैँ खबरदारी गर्छु । प्रतिपक्षीको भूमिका खेल्न सधैँ खुला छु ।’
तस्वीर/भिडियोः शंकर गिरी
प्रतिक्रिया 4