१ चैत, स्याङ्जा । स्याङ्जा-२ का कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्लले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जामार्फत मल्लका प्रतिनिधि अर्जुनप्रसाद खनालले खर्च विवरण पेस गरेका हुन् । निर्वाचन सम्पन्न भई मतगणना सकिएको मितिदेखि ३५ दिनभित्र उम्मेदवारले चुनावी खर्च सार्वजनिक गरी आयोगमा बुझाउनुपर्ने कानुनी व्यवस्था अनुसार मल्लले बिहीबार कार्यालयमा विवरण बुझाएका हुन् ।
प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को व्यवस्था अनुसार निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ का उम्मेदवारलाई अधिकतम २९ लाख रुपैयाँसम्म खर्च गर्न अनुमति दिएको थियो । सोही सीमाभित्र रहेर मल्लले कुल १० लाख ४० हजार १५ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।
उनले मनोनयन दर्तादेखि प्रचारप्रसार, इन्धन, सम्पर्क कार्यालय सञ्चालन, सञ्चार तथा अन्य व्यवस्थापनमा खर्च भएको उल्लेख गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार स्याङ्जा जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका २४ जनामध्ये खर्च विवरण सार्वजनिक गरी आयोगमा बुझाउने मल्ल पहिलो उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया 4