+
+
Shares
रुपन्देही–२ :

चर्चामा उम्मेदवारै नभएको पार्टी

प्रत्यक्षतर्फ उम्मेदवारविहीन बनेको राप्रपा रुपन्देही–२ मा समानुपातिक मत माग्दै घरदैलोमा छ। गत चुनावमा झिनो मतान्तरले हारजित भएको यो क्षेत्रमा एमालेका विष्णु पौडेलसहित सबै दलका उम्मेदवारको आँखा अब राप्रपाको त्यही ‘निर्णायक मत’ तान्नेमा छ।

सन्त गाहा मगर सइन्द्र राई टोपराज शर्मा सन्त गाहा मगर, सइन्द्र राई, टोपराज शर्मा
२०८२ फागुन ८ गते २२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देही–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्ष उम्मेदवार नभएर समानुपातिक मतका लागि घरदैलो अभियान सुरु गरेको छ।
  • २०७९ को निर्वाचनमा एमालेका विष्णुप्रसाद पौडेल २७ हजार १६५ मत ल्याएर विजयी भएका थिए भने रास्वपाका गणेश पौडेलले २५ हजार ७९५ मत पाएका थिए।
  • रुपन्देही–२ मा २१ फागुनको निर्वाचनमा १ लाख ३५ हजार ५० मतदाता छन् र राप्रपाका प्रदेश अध्यक्ष प्रदीप उदयले झिनो मतान्तरले जितहार हुने दाबी गरेका छन्।

८ फागुन, बुटवल । रुपन्देही–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी अभियान अन्य दलको भन्दा फरक छ। शुक्रबारदेखि बुटवल उपमहानगरपालिकाको १२ नम्बर वडाबाट घरदैलो सुरु गरेको राप्रपाले अन्य दलले जस्तो आफ्नो उम्मेदवारको बखान गरिरहेको छैन।

गरोस् पनि कसरी? राप्रपा यो क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारविहीन छ। पार्टीले टिकट दिएकी कर्भिका थापाले पीआर (स्थायी बसोबास अनुमति) त्यागेको तीन महिना नपुगेपछि राप्रपाले अर्को उम्मेदवार उठाउने समय पाएन।

प्रत्यक्षमा उम्मेदवार नभएपछि समानुपातिकका लागि मत माग्न घरदैलो अभियान सुरु गरेको राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले जानकारी दिए। उनले भने, ‘नमुना मतपत्र वितरण गरेर भोट मागिरहेका छौँ।’

त्यसो त, राप्रपा समर्थकले प्रत्यक्षमा आफ्नै पार्टीका उम्मेदवारलाई भोट दिन नपाएको पहिलो पटक होइन। प्रत्यक्षमा राप्रपाले २०७९ मा एमाले र २०७४ मा कांग्रेसलाई समर्थन गरेको थियो।

२०७९ को समानुपातिक मत परिणामअनुसार राप्रपा यो क्षेत्रमा चौथो शक्ति हो। त्यतिबेला राप्रपाले ५ हजार ६०० मत प्राप्त गरेको थियो।

गत निर्वाचनमा यो क्षेत्रबाट नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल २७ हजार १६५ मत ल्याएर निर्वाचित भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेलले २५ हजार ७९५ र राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले २२ हजार २७ मत पाएका थिए।

त्यो चुनावमा नेपाली कांग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको थियो। त्यसपछि गठबन्धनले जनमुक्तिका मगरलाई समर्थन गरेको थियो। गठबन्धनमै भए पनि जनमोर्चाले भने मगरलाई साथ दिएको थिएन।

त्यतिबेला झिनो मतान्तरले विजयी भए पनि यसपटक आफूहरूलाई सहज हुने एमालेको दाबी छ। २०७९ सालमा निकटतम प्रतिद्वन्द्वी रहेका रास्वपाका पौडेलले गठबन्धनमा रहेका दलहरूको मत पाएको तर यसपटक रास्वपालाई त्यो मत नजाने एमालेका एक जिल्ला नेता बताउँछन्। कांग्रेस, माओवादी र जनमोर्चाको आ–आफ्नै उम्मेदवार भएकाले मत बाँडिने ती जिल्ला नेताको भनाइ छ।

गठबन्धनमा रहेका दलहरूका समानुपातिक मत र जनमुक्तिका उम्मेदवारले पाएको मत मिल्दोजुल्दो छ। समानुपातिकमा कांग्रेसको १३ हजार ४५०, माओवादीको ३ हजार ४२९ र एकीकृत समाजवादीको ८४२ मत थियो। जनमुक्तिले समानुपातिकमा ४ हजार १९७ भोट ल्याएको थियो।

प्रदीप उदय, राप्रपा नेता

मगरले प्रत्यक्षमा पाएको मतमा जनमुक्तिको मत घटाउँदा करिब १८ हजार हुन्छ। कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समानुपातिक मत जोड्दा त्यही हाराहारी हुन्छ।

यसपटक एमालेका पौडेल र जनमुक्तिका मगरले पुनः उम्मेदवारी दिएका छन्। उम्मेदवारी खारेज भएपछि असन्तुष्ट रहेका एकीकृत समाजवादीका राजु गुरुङ एमाले प्रवेश गरेर विष्णु पौडेललाई साथ दिएका छन्। राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताको छवि बनाएका पौडेलले बाहिर प्रचारप्रसारलाई भन्दा बढी महत्त्व भेटघाट र संवादलाई दिएको देखिन्छ।

गत बुधबार क्षेत्र नम्बर २ को सैनामैनामा भेटिएका पौडेलले यो निर्वाचन आफ्ना लागि सहज भएको दाबी गरे। २०६४ र २०७९ सालको निर्वाचन सबैभन्दा कठिन भएको बताउने उनी एमाले र माओवादीबीच गठबन्धन भएको २०७४ सालको निर्वाचनलाई सबैभन्दा सहज मान्छन्। उनी भन्छन्, ‘विगतमा धेरै सजिला र धेरै अप्ठ्यारा निर्वाचन लडिसकेको छु। त्यस हिसाबले हेर्दा अहिलेसम्म जो पाइरहेको छु सहज महसुस गरेको छु।’

प्रत्यक्षमा १ हजार ३७० मतान्तरले पराजित भएको रास्वपाको आफ्नै धारणा छ। २०७९ सालमा रास्वपाले समानुपातिक र प्रत्यक्षमा पाएको मत बराबरजस्तै थियो। प्रत्यक्षतर्फ गणेश पौडेलले २५ हजार ७९५ पाउँदा समानुपातिक मत २५ हजार ६७३ थियो।

रास्वपाले नयाँ उम्मेदवारलाई अवसर दियो। उसले कानुनमा स्नातकोत्तर गरेका सुलभ खरेललाई अघि सारेको छ।

देशव्यापी रूपमा देखिएको लहर मात्र होइन युवा उम्मेदवार भएकाले पनि आफ्नो पार्टीलाई जित्न असहज नहुने रास्वपा रुपन्देहीका अध्यक्ष डा. बुद्धिप्रसाद शर्मा बताउँछन्। कांग्रेस–एमाले, नेकपाजस्ता दलहरूबाट आफ्नो पार्टीमा प्रवेश गर्ने क्रम नरोकिएको उनको भनाइ छ।

रास्वपा जिल्ला अध्यक्ष शर्माले राप्रपासँग अनौपचारिक छलफलमा रहेको बताए। उनले भने, ‘हाम्रो अवस्था राम्रो छ। तर प्रतिस्पर्धीलाई कमजोर ठान्ने भूल गर्दैनौँ, आफ्नो उम्मेदवारलाई निर्वाचित गराउन विभिन्न प्रयास जारी राख्छौँ।’

२०७९ मा नेपाली कांग्रेसबाट रुपन्देही–२ मा चुन्नप्रसाद पौडेलको नाम सिफारिस भएको थियो। यो क्षेत्र गठबन्धनमै रहेको अर्को दल एकीकृत समाजवादीको भागमा पर्‍यो। जसले गर्दा पौडेलको चुनाव लड्ने धोको पूरा भएन।

तिनै पौडेल यसपटक चुनावी मैदानमा छन्। उद्यम–व्यवसायी पृष्ठभूमिका पौडेललाई बलियो दाबेदारको रूपमा हेरिएको छ।

पहिलो पटक उम्मेदवारी दिएकाले ‘तपाईंले जितेर के गर्नुभयो?’ भन्ने प्रश्नको सामना गर्नुपर्ने कुरै भएन। त्यति मात्र होइन पौडेलको उम्मेदवारीपछि यो क्षेत्रमा कांग्रेसभित्रको असन्तुष्टिको स्वर सुनिन छाडेको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विश्वदीप (सुभाष) पाण्डे समृद्ध रुपन्देहीको प्रतिबद्धतासहित मतदाताको घर–घर पुगिरहेका छन्। दिवङ्गत माओवादी नेता भक्तिप्रसाद पाण्डेका छोरा विश्वदीपलाई माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलहरूबीचको एकीकरणको लाभ छ।

गत निर्वाचनमा तेस्रो स्थानमा आएका जनमुक्ति पार्टीका केशव थापा मगर गठबन्धन नभए पनि यसपटक आफूलाई मतदाताको साथ रहने बताउँछन्। आफ्नो पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका मगरले भने, ‘अघिल्लो निर्वाचनमा मलाई भोट दिनुभएका अन्य दलका मतदाताहरूले यसपटक पनि मत तपाईंलाई नै हो भन्नुभएको छ।’

बुटवल उपमहानगरपालिका, सैनामैना र तिलोत्तमा नगरपालिकाका २३ वटा वडा रहेको यो क्षेत्रमा १ लाख ३५ हजार ५० मतदाता छन्। २१ फागुनको निर्वाचनमा उम्मेदवार नै नभएको राप्रपाको मत निर्णायक नहोला भन्न सकिँदैन। राप्रपाका प्रदेश अध्यक्ष प्रदीप उदय त दाबीका साथ भन्छन्, ‘यो क्षेत्रमा झिनो मतान्तरले जितहार हुने देख्छु, त्यसमा निर्णायक भोट हामीसँग छ।’

प्रत्यक्षतर्फ जित निकाल्ने अपेक्षामा रहेका सबै दल आफूहरूसँग संवाद गरिरहेको उनले जानकारी दिए। पार्टीको मत एकत्रित राख्न पनि पार्टी एउटा निर्णयमा पुग्नुपर्ने उदय बताउँछन्। उनी भन्छन्, ‘पार्टीको मत एकत्रित राख्न पनि एउटा उम्मेदवारलाई समर्थन गर्नैपर्ने हुँदो रहेछ, केही दिनमा निर्णयमा पुग्छौँ।’

तस्बिरहरू: चन्द्र आले/अनलाइनखबर

लेखक
सन्त गाहा मगर

गाहा मगर अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?