२० फागुन, काठमाडौं । निर्वाचनका क्रममा कतिपय दलका नेता एवं उम्मेद्वारहरूले मतपेटिका साटिने गरेको आरोप लगाउँछन् ।
विगतका निर्वाचनमा बारम्बार प्रकट हुने यस्ता अभिव्यक्ति यसपटक पनि रोकिएन । यसपाली त नेपाली सेनाले नै मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटिका ओसार्ने हल्ला चलेपछि कतिपय उम्मेद्वारहरूले ‘आफ्ना कार्यकर्ताहरूले आँखा झिम्म नगरी चनाखोपन अपनाउने र खबरदारी गर्ने’ प्रतिक्रिया दिए ।
निर्वाचनको निष्पक्षता र स्वच्छतामा नै प्रश्न उठ्ने गरी हुने यसखालका टिका टिप्पणीबारे हामीले निर्वाचन आयोगका अधिकारीहरूलाई सोधेका छौं । मतदान हुनु अघिदेखि मतगणनासम्म विभिन्न सुरक्षा र विश्वसनियताका उपाय अपनाइने भन्दै उनीहरूले मतपेटिका साटिन सम्भव नै नभएको बताए ।
निर्वाचन आयोगका अधिकारीहरू मतपेटिका साटिन्छ कि भनेर शंका गर्नुपूर्व मतपेटिका, त्यसको सुरक्षा र मतदान शुरू गर्नुअघिको कार्यविधी जान्नुपर्ने बताउँछन् । उनीहरूका अनुसार, विभिन्न चरणमा अपनाइने सुरक्षा प्रोटोकलका कारण मतपेटिका साटिनु त टाढाको कुरा, उस्तै मतपत्र बनाउन समेत सम्भव हुँदैन ।
मतपत्रमा सुरक्षा फिचर
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी मतदान केन्द्रमा तोकिएको संख्यामा मात्रै मतपेटिका र मतपत्र पुग्ने भएकाले नक्कली काम गर्ने मौकै नहुने बताउँछन् । उनका अनुसार, मतदान केन्द्रहरूमा तोकिएको संख्यामा मात्रै मतपत्र जान्छ ।
अर्कोतर्फ मतपत्रमा सुरक्षा संयन्त्र र कोड समावेश गरिएको हुन्छ ।
‘वास्तविक मतपत्र सुरक्षा घेराभित्र छपाई हुन्छ । आयोगमा रहेका कर्मचारी र निर्वाचन अधिकृतहरूले समेत मतपत्र कस्तो छ भन्ने हेर्न पाएका हुँदैनन्’ उनी भन्छन्, ‘मतदान अधिकृतकोमा पुगेपछि मतदान गर्ने बेलामा मात्रै मत रहेको पोको खुल्छ । चलखेलको मौकै रहँदैन ।’
निर्वाचन आयोगले निर्वाचन अधिकृतहरूलाई मात्रै मतपत्रको सुरक्षा कोड पठाउँछ, त्यसका आधारमा निर्वाचन अधिकृतहरूले मतपत्र सक्कली हो कि नक्कली सहजै थाहा पाउँछन् । तर मतपत्र छाप्नेदेखि मतगणना गर्ने ठाउँसम्म सिलसिलेवार रुपमा मिलेमतो गर्दा समेत बाहिरी ब्यक्तिले उस्तै खालको नक्कली मतपत्र छाप्न सक्दैन ।
मतपेटिकामा हुन्छ, सिल
निर्वाचन आयोगका अधिकारीहरूका अनुसार, मतपेटिकामा दुईथरी बिर्को हुन्छ । एउटा ठूलो विर्को पुरै खोल्न मिल्छ । बिर्कोमा नै अर्को सानो प्वाल हुन्छ, जहाँबाट मतदाताले छाप लगाएको मत खसाउन मिल्छ, तर त्यहाँबाट मत निकाल्न नमिल्ने गरी बनाइएको हुन्छ ।
मुख्य बिर्कोमा चारवटा सिल लगाउन मिल्छ । मतपत्र घुसार्ने सानो प्वालको बिर्कोमा पनि अर्को सिल लगाउन मिल्छ ।
शुरूको मतदान गर्नुअघि सम्भव भएसम्म सबै दलका प्रतिनिधिहरूलाई साथमा राखेर मतदान अधिकृतले रित्तो मतपेटिका घोप्टो पार्छन, ताकी मतपेटिकामा पहिले केही राखेको भए खसोस् र रित्तो भएको सुनिश्चित होस । त्यसपछि बिर्को लगाइन्छ र बिर्कोमा चारवटा सिल लगाइन्छ ।

निर्वाचन आयोगले मतपेटिकामा लगाउने सिल प्लाष्टिकको हुन्छ । सिल लगाएर तानेपछि त्यो कसिन्छ, तर फुस्काउन मिल्दैन । सिल तोड्नका लागि कैचीले सिलको बाहिरको भाग काट्नुपर्छ ।
हरेक सिलमा नदोहोरिने सिरियल नम्बर हुन्छ । कुनैपनि सिलको सिरियल नम्बर दोहोरिदैन । दलका प्रतिनिधिले सिल लगाएपछि मुचुल्कामा हस्ताक्षर गर्नुपर्छ । त्यसक्रममा सिलको सिरियल नम्बर पनि मुचुल्कामा लेखिन्छ । उनीहरूले चाहेमा मुचुल्काको फोटो खिचेर लैजान पाउँछन् ।
बिहान ७ बजेदेखि मतदान हुदा मतपेटिकाको मुख्य बिर्को सिलबन्दी गरिएको हुन्छ र माथिबाट पट्याएको मतपत्र खसाल्ने प्वाल मात्रै खुला हुन्छ, त्यहाँबाट मतपत्र निकाल्न मिल्दैन ।
साथमै रहन्छन्, उम्मेदवारका प्रतिनिधिहरू
बेलुकी ५ बजे मतदान सकिएपछि मतदान अधिकृतले सबै दलका प्रतिनिधीहरूलाई बोलाउँछन् । उनीहरूको प्रत्यक्ष उपस्थितीमा मतपेटिकाको बिर्कोमा रहेको मत खसाल्ने प्वालमा पनि अर्को सानो बिर्को लगाएर सिलबन्दी गर्छन । पुरै सिलबन्दी भएको मतपेटिका सुरक्षाकर्मीको घेराभित्र रहने मतदान अधिकृतको जिम्मामा रहन्छ ।
दलका नेताहरूले मतदान हुने ठाउँदेखि निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका लैजाँदा धाँधली हुने, मतपेटिका साटिने आशंका गर्दै अभिव्यक्ति दिएका हुन्छन् ।
मतदान अधिकृतले निर्वाचन अधिकृतको कार्यालयमा लगेर सिलबन्दी भएको मतपेटिका र मुचुल्का बुझाउँछन् । निर्वाचन आयोगले सम्भव भएसम्म दलका प्रतिनिधीहरूलाई पनि मतपेटिकाका साथमा लैजाने व्यवस्था मिलाउनु भनेको हुन्छ ।
व्यहारिक रुपमा सम्भव नहुने र धेरै उम्मेद्वार भएका ठाउँमा दलका प्रतिनिधीहरू मतपेटिका बोलेका सवारीसाधनसँगै अर्को सवारीसाधनमा बसेर आउने व्यवस्था हुन्छ ।

दुर्गममा हेलिकप्टरबाट मतपेटिका ओसार्दा समेत आयोगले दलका प्रतिनिधीहरूलाई सम्भव भएसम्म साथमा लैजान निर्देशन दिएको हुन्छ । मतदान अधिकृतले बुझाएका मतपेटिकाहरूलाई निर्वाचन अधिकृतले एकैठाउँमा संकलन र भण्डारण गरेर राखेका हुन्छन् ।
ती मतपेटिका रातभर राख्नुपरेमा कोठाका सबै झ्याल र प्वालहरू बन्द गरिन्छ अनि ढोका लगाएर सिलबन्दी गर्ने चलन हुन्छ । त्यसमा पनि विश्वास नगर्ने पक्षको प्रतिनिधीलाई ढोकाबाहिर सुरक्षाकर्मीको छेवैमा बस्ने वा सुत्ने व्यवस्था गरिदिने अभ्यास छ ।
सबैतिरबाट मतपेटिका संकलन भएपछिमात्रै मतगणनाको काम शुरु हुन्छ । मतपेटिकाको बिर्कोको सिल तोडनुअघि शुरूको मुचुल्कामा लेखेको नम्बर र सिलमा रहेको सिरियल नम्बर रुजु गरिन्छ । त्यसपछि दलका प्रतिनिधीहरूको रोहवरमा मतपेटिकाबाट मतपत्र निकालेर गणनाको शुरु हुन्छ ।
सैनिकहरूले सुरक्षा मात्रै दिन्छन्, मतपेटिका बोक्दैनन्
यसपाली कतिपयले मतदान स्थलबाट मतगणनास्थलसम्म मतपेटिका ओसार्ने काममा नेपाली सेना परिचालन हुने भनी सन्देश प्रवाह गरे ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्तदेखि गृहमन्त्रीसम्मले अनलाइनखबरसँगको प्रतिक्रियामा मतपेटिका ढुवानीका बेला सुरक्षाको बाहिरी घेरामा नेपाली सेना रहने भएपछि मतपेटिका ओसार्ने काममा नै संलग्न नहुने स्पष्ट पारेका छन् ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार, मतपेटिका सुरक्षित गर्ने प्रयोजनका लागि नेपाल प्रहरीका सुरक्षाकर्मीहरू रहन्छन् ।
‘मतपेटिका बन्द गर्ने क्रममा नेपाली प्रहरीका सुरक्षाकर्मीहरू उपस्थित हुन्छन् । सशस्त्र प्रहरी बल र नेपाल प्रहरी त्यहाँ रहदैनन्’ उनी भन्छन्, ‘मतपेटिकालाई निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउने क्रममा तीन तहमा सुरक्षाकर्मीहरूले घेरेर सुरक्षा दिनुपर्नेहुन्छ । मतपेटिका र नेपाली सेनाको कुनै सम्बन्ध नै हुदैन ।’
गृहमन्त्री ओमप्रकाश अर्याल पनि मतपेटिका राखिएको गाडीमा मतदान अधिकृत, नेपाल प्रहरी र उम्मेद्वारका प्रतिनिधिहरू मात्रै रहने बताउँछन् । उनका अनुसार, त्यो गाडीमा एकभन्दा बढी उम्मेदवारका प्रतिनिधिहरू रहने भएकाले धाँधली वा चलखेलको शंका गर्नुपर्ने अवस्था नै रहँदैन । उनले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘मतपेटिका बोकेको यो गाडीलाई सशस्त्र प्रहरी बलको गाडीले स्कटिङ गर्ला । त्यतिले नपुगेर नेपाली सेनाले पनि स्कटिङ गर्ला । सुरक्षा त दिनुपर्यो, हैन र ?’
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी मतपत्र छपाईदेखि मतपेटिकामा हुने सिलबन्दी अनि उम्मेदवारहरूका प्रतिनिधिहरूको उपस्थितीले गर्दा चलखेल र धाँधलीको सम्भावना नै नहुने बताउँछन् ।
‘मतपत्र बाहिर छापिन सम्भव नै छैन । कसरी नक्कली मतपत्रबाट मतदान हुने ? दलका प्रतिनिधिहरूको उपस्थितीमा कहाँबाट सिलबन्दी भएको मतपेटिका सार्ने ?’ कार्यबाहक प्रमुख आयुक्त भण्डारी भन्छन्, ‘जुन प्रश्न गर्नुभयो, नेपालका निर्वाचनहरूमा पहिले पनि बारम्बार चल्ने हल्लाहरू हुन् । यिनमा शुन्य प्रतिशत पनि सत्यतता छैन ।’
प्रतिक्रिया 4