News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको छ।
- अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा घुस लिएको आरोप अख्तियारले लगाएको हो।
- आरोपपत्र विशेष अदालतमा दर्ता भइसकेको छ।
१ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।
अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका बेला ७० लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ । त्यो रकम जग्गा खरिद र ऋण तिर्न प्रयोग भएको अख्तियारको दावी हो ।
एच.के. इन्टरप्राइजेज भन्ने कम्पनीविरुद्ध राजस्व चुहावट गरेको आरोपमा विभागमा उजुरी परेको थियो । त्यसपछि मुद्दाबाट जोगिन उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले ७० लाख रुपैयाँ दिएको भेटिएको अख्तियारको दावी हो ।
उक्त रकम विकास चापागाईं, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतको सल्लाहमा उनीहरूको खातामा राखिएको अख्तियारको दावी छ ।
त्यसपछि उनीहरूले भक्तपुरको दिव्यश्वरी आयोजना भित्रको ५ आना जग्गा खरिद गरेको अख्तियारको दाबी छ । त्यसपछि देवेन्द्र केसी सञ्चालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानीमा समेत त्यो रकम प्रयोग भएको अख्तियारको दावी हो ।
अख्तियारले विशेष अदालतमा पेश गरेको विवरण अनुसार, घटना साउन, २०७९ सालको हो । साढे पाँच महिना मात्रै महानिर्देशक बनेका उनी १ असार, २०७९ देखि १६ कार्तिक, २०७९ सम्म राजस्व अनुसन्धान विभागमा थिए ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला उनी देउवा परिवारसँगको विशेष सम्पर्क सूत्रमार्फत विभागको महानिर्देशक भएर गएका थिए । अख्तियारको दावी अनुसार, महानिर्देशक भएको एक महिनामै उनले घुस लिएका थिए ।
अख्तियारले उनीमाथि घुस लिएको आरोपमा भ्रष्टाचारका साथै गैरकानुनी रुपमा सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया 4